फडिन्द्र अधिकारी
लेखनाथ, साउन ६ गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालाको तुलना राष्ट्रियताको सवालमा कसैसँग हुन नसक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका लागि उत्पादनसँग कांग्रेस’ विषयक परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो। महामन्त्री थापाले कोइराला अघि सारेको समाजवादको अवधारण प्रत्यक्ष रुपमा उत्पादनसँग जोडिएको जिकिर गर्नुभयो। ४२ औं बीपी स्मृति दिवसको सन्दर्भमा कार्यक्रम भएको हो।
नेता थापाले भन्नुभयो, ‘‘उहाँले गरेका व्याख्या पढ्दा, सुन्दा, चिन्तन गर्दा थाहा हुन्छ, बीपीको समाजवाद प्रत्यक्ष रुपमा उत्पादनसँग जोडिएको छ।’’ अहिलेको परिवेशमा बीपीले कुनै बेला लिएका अडान र दूरदर्शी निर्णयलाई अंगीकार गर्दै अघि बढ्नु नै उहाँको योगदानको सच्चा सम्मान हुने महामन्त्री थापाले औंल्याउनुभयो।
कांग्रेस सहमहामन्त्री जीवन परियारले गरिब, धनी, जात, धर्मका बन्धन रहेसम्म समृद्धिको यात्रा कठिन हुने विचार राख्नुभयो। उहाँले कमजोर र सीमान्तकृत वर्गलाई राज्यले विशेष सुविधा र रोजगारी दिएर विकासको मूल प्रवाहमा समाहित गर्नुपर्ने तर्क गर्नुभयो।
कांग्रेस कास्की सभापति किशोरदत्त बरालले बीपीको समाजवाद भनेकै उत्पादन भएको तर्क गर्दै उत्पादनबिना समाजवादको कल्पना नहुने र समाजवादबिना समृद्धि सम्भवन नहुने विचार राख्नुभयो। कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाट, संविधानसभा सदस्य कर्ण शाही लगायतले धारणा राख्नुभएको थियो।