• १२ मंसिर २०८१, बुधबार

मुलुक निर्माणका पिल्लर

blog

समृद्ध मुलुक निर्माणको अभियान राज्यको पहिलो प्राथमिकता हो। विकास निर्माणको मेरुदण्डका रूपमा रहेको प्राविधिक जनशक्ति इन्जिनियरको सङ्ख्या, अवस्था, मनोबल, योगदान र भविष्य कस्तो छ भन्ने विषय पनि आफैँमा महत्वपूर्ण हो। छाता सङ्गठनको रूपमा रहेको पेसागत सङ्गठन इन्जिनियर्स एसोसियसन र नियमनकारी निकायका रूपमा रहेको नेपाल इन्जिनियरिङ परिषद्लाई आमइन्जिनियरले आफ्नो मातृसंस्था र अभिभावकको रूपमा लिएका छन्। विश्वको कुनै पनि कुनाबाट दीक्षित भएको भए पनि नेपालमा पेसागत रूपमा संलग्न परिषद्मा विधिवत् दर्ता हुनुपर्ने कानुनी प्रावधान छ। पेसागत रूपमा कार्यसम्पादन गर्ने क्रममा आईपर्ने विभिन्न समस्या र पेसागत हकहित संरक्षणक लागि भए पनि परिषद् र एसोसिएसनसँग आबद्ध हुनु नेपाली इन्जिनियरका लागि एउटा अनिवार्य सर्त जस्तै हो। इन्जिनियरिङ व्यवसायलाई मर्यादित, गतिशील, परिणाममुखी तथा दिगो र आत्मसम्मानयोग्य बनाउने पहिलो र प्रमुख योगदानकर्ता स्वयं इन्जिनियर नै हो। तथापि यो व्यवसायको अभ्यासबाट माथि परिकल्पना गरिएको परिस्थिति सुनिश्चित गर्न इन्जिनियर र इन्जिनियरिङ व्यवसायसँग कम्तीमा पाँच सरोकारबारे सम्बन्धित सबै जानकार हुनु जरुरी छ।

पहिलो–जनशक्ति योजना, क्षमता विकास र व्यवस्थापन। अहिले नेपालमा यस्तो ठुलो वर्ग छ, त्यो वर्गमा रहेका परिवारमा पाँच जना सदस्य रहेछन् भने औषतमा दुई जना इन्जिनियर रहेका छन्। यसलाई वर्तमान शैक्षिक संरचना र आर्थिक–सामाजिक स्तरले पनि सघाएको छ। दुःखका साथ भन्नु पर्छ कि नेपालका लागि अबको कति वर्षभित्र कति जना कुन स्तरका प्राविधिक जनशक्ति आवश्यक पर्ने हो, ती जनशक्ति उत्पादन गर्ने हाम्रो सामथ्र्य कस्तो छ र अहिले उपलब्ध जनशक्तिको अवस्था के छ भन्ने तथ्याङ्क र प्रक्षेपण कतै सार्वजनिक भएको छैन। ठुलो बौद्धिक र आर्थिक लगानी हुने अनि व्यक्तिगत र सामाजिक रूपमा ठुलो अपेक्षा हुने प्राविधिक जनशक्तिको उत्पादन अझै पनि हचुवाको भरमा भइरहेको छ। सबैले बुझ्ने गरी जनशक्ति योजना नभएसम्म ठुलो लगानी र अपेक्षासहित उत्पादित हाम्रा जनशक्ति विदेशी मुलुकले सस्तो मूल्यमा सजिलै प्राप्त गर्ने जोखिम बढेको छ। 

अर्कोतिर अझै पनि हामी परामर्शदाता र निर्माण व्यवसायीको रूपमा विदेशबाट महँगोमा यस्तै जनशक्ति खरिद गरेर दोहोरो आर्थिक दबाब मात्र होइन प्राविधिक परनिर्भरता बढाइरहेका छौँ। नेपालमा उत्पादित प्राविधिक जनशक्तिलाई हामी नेपालमै कसरी टिकाउने, उनीहरूको क्षमता विकास कसरी गर्ने र विकसित क्षमतालाई कुन क्षेत्रमा कसरी उपयोग गर्ने भन्ने वस्तुगत र विश्वसनीय विधिको विकास गर्नु आजको टड्कारो आवश्यकता हो। अन्यथा हामी सस्तो जनशक्ति उत्पादन गर्ने कारखानाका रूपमा मात्र परिणत हुने छौँ।

दोस्रो–पूर्वनिर्धारित गुणस्तर र मापदण्ड निर्धारण। गत वर्ष नेपाल इन्जिनियरिङ परिषद् ऐन संशोधन गरी साधारण दर्तावाला इन्जिनियरको रूपमा दर्ता हुन तोकिएको शैक्षिक उपाधि प्राप्त गरेपछि लाइसेन्स परीक्षा लिने र सो परीक्षा उत्तीर्ण गरेपश्चात् मात्रै दर्ता भई व्यावसायिक इन्जिनियरको रूपमा काम गर्न पाउने व्यवस्था लागु भएको छ। यसअघि प्राप्त शैक्षिक योग्यताको आधारमा मात्र दर्ता गर्ने व्यवस्था थियो। शैक्षिक उपाधिपश्चात् व्यावसायिक क्षेत्रमा अभ्यासका लागि जाँदा उक्त उपाधिधारी व्यक्तिमा व्यावसायिक अभ्यास गर्न चाहिने तोकिएको क्षेत्रमा ज्ञान, सिप र दक्षता भए नभएको यकिन गर्नु जरुरी थियो। ढिलै भए पनि यो सुरुवात भयो यसमा कुनै विवाद छैन। जब लाइसेन्स परीक्षाको नतिजा आयो, त्यसपछि भने यसले सबैलाई झस्काएको छ। कतै परीक्षाका मापदण्ड व्यावहारिक भएनन् कि वा विद्यार्थीले प्राप्त गर्दै आएको शैक्षिक गुणस्तरमा शङ्का गर्नुपर्ने भयो वा परीक्षा सञ्चालनमा व्यापक तयारी र अभ्यास पुगेन भन्ने बहस विभिन्न कोणबाट आएको छ। यो नतिजाले केवल ती परीक्षार्थी मात्र अनुत्तीर्ण भएका होइनन् कि यो क्षेत्रको नियमन गर्दै आएको परिषद् र सरोकारवाला सबैलाई आफ्नो विगतको भूमिका पुनरवलोकन गर्नैपर्ने अवस्थामा पु-याएको छ। अबका दिनमा अनुभवले पनि सबै पक्षलाई नतिजा सुधार्न सघाउला नै तर एउटा तथ्यचाहिँ के हो भने आफूले पढ्ने विषयका पाठ्यक्रम, परीक्षा प्रणाली, प्राप्त हुने उपाधिको क्षेत्र र व्यावसायिक परीक्षा दिनुपर्ने हो भने त्यसको पूर्ण जानकारी र प्रारूप कुनै पनि विद्यार्थी इन्जिनियरिङको कक्षामा भर्ना हुने समयमै थाहा पाउनु पर्छ। त्यसैका आधारमा मात्र ऊ सो कक्षामा भर्ना भएर अध्ययन गर्ने हो। 

नेपाल बाहिरबाट अध्ययन गर्ने विद्यार्थीको लागि र नेपालभित्रैका इन्जिनियरिङ अध्ययन प्रतिष्ठानहरूले सञ्चालन गर्ने कोर्ष र यसको न्यूनतम मापदण्ड निर्धारण हुन सक्यो भने विद्यार्थी र अभिभावकको मेहनत र लगानीको अधिकतम उपभोग हुन्छ। विद्यार्थी प्रवेशकै क्रममा मापदण्ड निर्धारण गर्न सकिएमा उपाधिपश्चात्को परीक्षामा स्वतः गुणस्तर कायम हुन्छ। अन्यथा बिरालोलाई ठुलो प्वालबाट छिराएर सानो प्वालबाट निकाल्न खोज्दा असफलता मात्रै होइन दुर्घटना हुने सम्भावना बढी हुन्छ। 

तेस्रो–व्यवसायको सुरक्षा र गरिमा। व्यवसायको सुरक्षा तब मात्र सुनिश्चित हुन्छ, जब, यसले आफ्नो औचित्य, सान्दर्भिकता तथा गरिमा कायम गर्न सक्षम हुन्छ। अहिले इन्जिनियरिङ व्यवसायलाई अत्यन्तै सस्तो र कम महत्वका साथ प्राथमिकतामा पछि पारिएको अनुभव गर्न सकिन्छ। विकास व्यवस्थापनमा क्रस कटिङ मुद्दा समावेश हुनु अत्यावश्यक छ। विकास व्यवस्थापन आफैँमा बहुआयामिक क्षेत्र हो। तथापि, क्रस कटिङ मुद्दाका नाममा प्राविधिक मर्म र प्राथमिकतालाई नै पछि पार्ने गरी ती मुद्दालाई हाबी गराउने अनि आयोजना व्यवस्थापकलाई नै कमजोर बनाउने प्रयत्न भएको सहजै अनुमान गर्न सकिन्छ। परियोजनाको संरचना, सङ्गठन र विन्यास एवं प्राथमिकतामा इन्जिनियरिङ क्षेत्र पछाडि पारिँदा यसले दिने प्रतिफल, दिगोपना र यस क्षेत्रको गरिमा क्षय हुने कुरामा विशेषतः नीति निर्माताले विशेष ख्याल गर्न सकेमा मात्र समृद्ध मुलुक निर्माणमा इन्जिनियरको खास योगदान प्रतिविम्बित हुने छ।

चौथो–एकता र समन्वय। कर्मकाण्डी रूपमा इन्जिनियरिङ दिवस मनाउनुभन्दा भावना, विचार व्यावसायिक चिन्तनको स्वच्छ सञ्चारबाट आपसी एकता र समन्वयको सारभूत अनुभूति दिलाउने हो। अझै पनि हामी इन्जिनियरबिच विभेद र सङ्कीर्णताका अग्ला अग्ला पर्खाल उभिएका छन्। कुनै पर्खाल राजनीतिक विचारले पोतिएका छन्, कुनै पर्खाल आफैँ कार्यरत निकाय वा समूहको नाममा उभिएका छन्। कुनै पर्खाल जुँगाले निर्धारण गरेका छन् भने कुनै पर्खाल कुर्चीको उचाइ र अवस्थाले निर्धारण गरेका छन्। जबसम्म सबै जना केवल इन्जिनियरको एउटै मैदानमा उभिने फराकिलो मन राख्दैनन्, तबसम्म यस क्षेत्रले दिन सक्ने योगदान, लिन सक्ने प्रतिष्ठा, दुनियाँसामु देखिन सक्ने उचाइ र उपलब्धिलाई आफ्नो भनेर गर्व गर्नसक्ने वातावरण निर्माण हुँदैन। हरेक इन्जिनियर जुनसुकै क्षेत्र र भूमिकामा रहेको भए पनि समग्र समुदायको हित रक्षा र व्यावसायिक उन्नतिका लागि निजी स्वार्थभन्दा माथि उठ्न सक्ने गरी फराकिलो छातीका साथ प्रस्तुत हुनु जरुरी छ।

पाँचौँ–अनुसन्धान, नवीनता र सृजनशीलता। बाबा विश्वकर्माबाट सुरु भएको मानिने यो पुरानो पेसामा संलग्न आधुनिक जनशक्ति त्यतिबेला मात्र अभियन्ता ठहरिन्छ जब उसले परम्परागत विधि, प्रविधि र स्रोत परिचालन मात्र नगरी त्यसमा अनुसन्धान, नवीनता र सृजनशीलताको खोजी गरिरहन्छ। यो व्यवसायमा अनुसन्धान, अभ्यासमा नवीनता र प्रयोगमा सृजनशीलता नभएको भए आज सूचना, प्रविधि र सञ्चारमा आज यो अवस्था प्राप्त हुने थिएन। तथापि, हामी नेपाली इन्जिनियरिङ समुदाय यो लयमा रमाउन पाएको छैन। जसको अभावमा हामी प्रविधिमा पछाडि प-यौँ, विदेशी विज्ञकै भर पर्नुपर्ने अवस्था आयो अनि प्रविधि परीक्षणमा जोखिम लिने क्षमता गुमाउँदै गयौँ। 

विश्वविद्यालयमा सिकेकै ज्ञान, स्थलगत रूपमा देखेको अनि गर्नैपर्ने बाध्यताकै भरमा मात्र इन्जिजनियरिङ व्यवसाय फस्टाउन र यस क्षेत्रमा संलग्न हुने प्राविधिकको क्षमता र सम्भावनाको उपभोग हुने सम्भावना कम रहन्छ। 

हाम्रो परिवेशका इन्जिनियरिङ क्षेत्रमा विद्यमान न्यूनतम यी पाँच सरोकारमाथि माथि थप विश्लेषण, छलफल र परिष्कृत गर्न व्यक्ति विशेषको रुचि, लगाव, क्षमताको खास अर्थ रहँदैन। नियमनकारी परिषद् तथा व्यावसायिक हकहितका लागि स्थापित एसोसियसनले सम्पूर्ण इन्जिनियरको अभिभावकको रूपमा मात्र नभई व्यावसायिक भूमिकाबाट यस क्षेत्रको औचित्य साबित गरी व्यावसायिक गरिमा कायम गर्नु गराउनुलाई आफ्नो प्राथमिकतामा राख्नु आजको मुख्य सरोकार हो। विदेशमा आर्जन गरेको ज्ञान, सिप, क्षमता र अनुभवलाई देशको खातिर उपभोग गर्न आकर्षित गराउन र स्वदेशमा रहेका प्राविधिक जनशक्तिलाई उच्च मनोबल, सुरक्षित भविष्य र प्रतिष्ठित जीवनयापनका लागि समर्पित गराउन सक्ने वातावरणको सिर्जना गराउन परिषद् र एसोसियसनको अलावा नीति निर्माता र विशेष गरी प्राविधिक क्षेत्रबाट निर्णायक र प्रभावकारी स्थानसम्मको यात्रा तय गरेका विशिष्ट व्यक्तिकै ठुलो गहन भूमिका हुन्छ। यस क्षेत्रभित्र रहेका विभेद, सङ्कीर्णता, शोषण र व्यावसायिक क्षयीकरण मात्र नभई विद्यमान विकृति, विसङ्गति, व्यावसायिक विचलन तथा बदनामीको पहिचान गरी त्यस्ता तत्वलाई ठाउँको ठाउँ निर्मूल गर्नसके मात्र हरेक इन्जिनियरको शिर गर्वले ठाडो हुन सक्छ। 

लेखक सिनियर डिभिजनल इन्जिनियर हुनुहुन्छ।   

Author

हरिबहादुर थापा