• ३० वैशाख २०८२, मङ्गलबार

बर्खाको पीडा : सहरबाट विच्छेद हुँदै गाउँ

blog

लीलाधर वली 

घोराही, साउन २ गते । बर्सात सुरु भएसँगै पहाडी गाउँ जोड्ने अधिकांश सडक बिग्रन थालेका छन् । जिल्ला सदरमुकामबाट गाउँहरूको बाटोको सम्बन्ध विच्छेद हुने क्रम बढेको छ। 

गाउँलाई यातायातसँग जोड्न खनिएका सडक भत्किएपछि अधिकांश गाउँ यातायात सञ्जालसँग विच्छेद भएका छन् । सडक भत्किएपछि बजार आउन गाउँलेलाई यातायातको सेवा लिनकै लागि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता भएको छ । 

सङ्घीयता आएसँगै गाउँ र सहर जोड्ने गरी सडक खनिएपछि गाउँ र बजारको दुरी घटेको थियो। यसरी खनिएका सडकबाट गाउँसम्मै यातायातका साधन गुड्ने त भएका छन् तर वर्षभरि चल्न भने सकेका छैनन् । अधिकांश सडकमा नालाको व्यवस्था नभएकाले सानो झरीले पनि बाटो भत्कने समस्या देखा परेको छ । विशेष गरेर बङ्गलाचुली गाउँपालिकाका अधिकांश गाउँ जोड्ने सडक, घोराहीको पहाडी बस्ती सैघालगायतका क्षेत्रमा खनिएका सडकमा वर्षा सुरु भएसँगै सडक बिग्रिएपछि यातायात सेवा अवरुद्ध हुने गरेको छ। 

सडक बिग्रिएपछि बङ्गलाचुली गाउँपालिका–८, हाँसीपुरलगायतका ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको बङ्गलाचुली गाउँपालिका–८, हाँसीपुर निवासी कमल गाहामगरले जानकारी दिनुभयो। बिपी मार्ग अन्तर्गत मुलाबारीदेखि रानीबास सडकखण्डका विभिन्न ठाउँमा सडक बिग्रिएपछि असारको करिब १४/१५ गतेदेखि यातायात सेवा बन्द भएको उहाँ बताउनुहुन्छ। यातायात सेवा बन्द हुँदा स्थानीयलाई करिब डेढदेखि दुई घण्टासम्म हिँडेर बस चढ्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “पानी नपर्दासम्म बस हासीपुरसम्मै आउने गरेको थियो। घरका लागि दैनिक उपभोग्य खाद्य सामग्री र बिरामी हुँदा अस्पताल जान सजिलो हुने थियो तर गाडी नहुँदा हिँड्नुपर्ने अवस्था भएको छ।” बर्सातकै कारण बर्सेनि हासीपुरवासीले यातायातको समस्या भोग्नुपर्ने बाध्यता रहेको बङ्गलाचुली–८, रानीबास निवासी खिमा घर्तीमगर बताउनुहुन्छ। अन्य समयमा सवारीसाधन चल्ने गरी बर्सातको समयमा बाटो बिग्रिने भएका कारण असारदेखि असोज/कात्तिकसम्मै गाडीको समस्या हुने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “हामीलाई वर्षभरि बस चल्ने सडक आवश्यक छ तर अहिलेसम्म हाम्रो माग पूरा हुन सकेको छैन।” उहाँले निर्वाचनका क्रममा नेताहरूले सडककै मुद्दा उठाएर बर्सेनि यस क्षेत्रको मत माग्ने गरे पनि निर्वाचन सकिएपछि नेताहरू फर्केर नआउने गरेको स्थानीयवासीको गुनासो छ। 

सडक नबनाउँदा असारदेखि असोजसम्म रानीबास, हाँसीपुर, बिर्खे, जब्बरकोटलगायतका ठाउँका स्थानीयले समस्या भोग्दै आएको बङ्गलाचुली गाउँपालिका–८ का वडाध्यक्ष झविन्द्र गाहामगर बताउनुहुन्छ। उहाँले गाडी चल्नेसम्मको बाटो नहुँदा बर्सातको समयमा बिरामी र सुत्केरी महिलालाई स्टे«चरमा बोकेर अस्पताल लानुपर्ने बाध्यता रहेको बताउभयो। 

स्थानीय सडकको मर्मत र स्तरोन्नतिको काम भइरहे पनि काम असाध्यै सुस्त गतिमा भइरहेको भन्दै स्थानीयले गुनासोसमेत गर्दै आएका छन् । सडकको स्तरोन्नति चाँडै भइदिएको भए बर्सातको समयमा पहाडी क्षेत्रका बासिन्दालाई यातायातमा सहज हुने स्थानीय बताउँछन् । बिपी मार्ग अन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडक स्तरोन्नतिको काम भइरहेको छ । घोराही उपमहानगरपालिका–१ को सिमलतारादेखि बङ्गलाचुली गाउँपालिकाको हाँसीपुरसम्म सडक स्तरोन्नतिको काम अघि बढे पनि निर्माणमा ढिलाइ हुँदा स्थानीयले पीडा भोग्दै आएका छन्। 

सिमलतारा–मुलाबारी–हाँसीपुर हुँदै 

बाङ्गेसालसम्मको १७ किलोमिटर सडक निर्माण र त्यसको विस्तार, नाला निर्माण, वाल निर्माण, सडकखण्डमा पर्ने खोलाहरूमा कल्भर्ट तथा कजवे निर्माणसँगै ग्राभेल गर्ने काम भइरहेको प्रदेश सडक पूर्वाधार कार्यालय दाङले जनाएको छ । 

१७ किलोमिटर सडकको नालासहित स्तरोन्नति गर्ने भनेर २०७९ असार १४ गते वाइला एन्ड लामा तिरुपाते सिद्धान्त जेभीसँग सम्झौता भएको थियो । ३२ करोड ८९ लाख २९ हजार ६ सय २७ रुपियाँमा टेन्डर आह्वान गरिएकोमा निर्माण कम्पनीसँग २७ करोड ७० लाख ६५ हजार तीन सय ४३ रुपियाँमा सम्झौता भएको प्रदेश पूर्वाधार कार्यालय दाङले जनाएको छ ।