जयमान बुढामगर
रुकुमपूर्व, साउन २ गते । वर्षैपिच्छे बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन घट्दो क्रममा छ भने यसको मूल्य बढ्दो क्रममा छ। बुकी पाटनमा पाइने यार्सागुम्बा वर्षैपिच्छे कम हुँदै गएपछि मूल्य बढ्दै गएको हो।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१, २ र ३ का बुकी पाटनमा यार्सा पाइन्छ। यस वर्ष यार्सा खोज्न गएकाहरूले विगतमा भन्दा राम्रो मूल्य पाएको बताएका छन्। वैशाखको दोस्रो हप्ताबाट सुरु भएको यार्सा सङ्कलन कार्य असार २५ गते सकिएको छ।
यार्साले उपयुक्त मूल्य पाएपछि सङ्कलकहरू खुसी भएका छन्। यद्यपि विगतका वर्षभन्दा हरेक वर्ष यार्सा पातलो (कम) हुँदै गएको पुथाउत्तरगङ्गा–१ का वडा सदस्य विक्रम पुनमगरले बताउनुभयो। यस वर्ष अन्दाजी २६ देखि ३० किलो जति यार्सा पाइएको पुनमगरले जानकारी दिनुभयो।
वर्षैपिच्छे करिब १०/११ किलोका दरमा यार्सा कम हुँदै गएको छ। यार्सा पाइने क्षेत्रमा फोहोर बढ्दै गएकाले यार्सा कम हुँदै गएको अनुमान गर्न सकिने वडा सदस्य पुनमगरको भनाइ छ। यस वर्ष पाटनमै प्रतिकिलो २२ देखि २८ लाख रुपियाँसम्ममा यार्सा खरिदबिक्री भएको पुथाउत्तरङ्गा–१, मैकोटका वीरेन्द्र बुढामगरले बताउनुभयो। गुणस्तर हेरेर प्रति यार्सा सात सयदेखि एक हजार पाँच सय रुपियाँसम्ममा बिक्री भएको बुढामगरले जानकारी दिनुभयो।
विगतका वर्षमा यो यार्सा प्रतिवटा पाँच सयदेखि एक हजार दुई सय रुपियाँसम्ममा बिक्री हुने गरेको बुढामगरको भनाइ छ। सामान्य यार्सा पनि यस पटक राम्रो मूल्यमा बिक्री भएको बुढामगरले बताउनुभयो। उहाँले भन्नुभयो, “यार्सा खोज्नेहरूको हकमा यार्साको मूल्य राम्रो प-यो। यो मूल्य विगतका वर्षमा भन्दा राम्रो पाएको हो।” यार्सा सङ्कलनबाट यस पटक कम्तीमा ४० हजारदेखि पाँच लाख रुपियाँसम्म एक जना व्यक्तिले आम्दानी गरेको बुढामगरले सुनाउनुभयो।
विगतका वर्षमा स्थानीयसहित अन्य ठाउँका मान्छेलाई यार्सा सङ्कलन गर्न दिइराखिएको थियो। यस वर्ष अन्य जिल्लाको मात्र नभई सोही गाउँपालिकाको यार्सा पाइने वडावासीभन्दा बाहिरका मान्छेलाई यार्सा सङ्कलनमा रोक लगाइएको हो। बाहिरका मान्छेलाई यार्सा सङ्कलनमा समावेश गर्दा जथाभाबी फोहोर गर्नुका साथै जमिन खन्ने गरेकाले रोक लगाइएको वडावासीको भनाइ छ। स्थानीयले यार्सा सङ्कलन व्यवस्थापन समिति निर्माण गरेर हरेक वर्ष समितिले यार्सा सङ्कलनको नियम गर्ने गरेका छन्। समितिले यस वर्ष यार्सा सङ्कलनका लागि प्रतिव्यक्ति दुई हजार रुपियाँ र यार्सा खरिद गर्ने प्रतिव्यापारीलाई १० हजार रुपियाँ शुल्क तोकिएको थियो।
शुल्कबाट सङ्कलन भएको रकम यस वर्ष ८० प्रतिशत समितिले राख्यो भने २० प्रतिशत गाउँपालिकालाई राजस्वबापतको रकम आएको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो। व्यवस्थापन समितिको कोषमा राखिएको रकमले गाउँको सामाजिक तथा भौतिक विकास निर्माण एवं विद्यालय क्षेत्रमा सहयोगका साथै यार्सा सुरक्षा तथा अन्य व्यवस्थापनमा खर्च गर्ने गरेको अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो। यो वर्ष डिभिजन वन कार्यालयले यार्सा खरिद व्यापारीका लागि सङ्कलन पुर्जीको राजस्व प्रतिकिलो ३१ हजार रुपियाँ तोकिएको वन कार्यालयका रेन्जर विश्व केसीले बताउनुभयो।