प्रनिश गिरी
कुस्मा, साउन २ गते । मानव निर्मित भौतिक संरचनाका कारण प्राणीको अस्तित्व सङ्कटको कारक बनेका छन्। मानव निर्मित विद्युत् वितरण लाइनका कारण चरा सङ्कटमा पर्ने गरेका छन्। यस्ता लाइन चराको अस्तित्वका लागि खतरापूर्ण धराप बनेका छन्। विद्युत् प्रसारण गर्न बनाइएका लाइनमा ठोकिने र विद्युत्का पोलमा बस्दा करेन्ट लागेर चरा मर्ने गरेका छन्।
बासस्थान विनाश र विषाक्त आहाराका कारणले सिकारी चराको अस्तित्व सङ्कटमै थियो। प्रायः सिकारी चराहरू अग्ला ठाउँमा बसेर आफ्नो सिकार प्रजाति र शत्रुमाथि निगरानी राख्ने गर्छन्।
अग्ला रुख नभएको ठाउँमा सिकारी चरा बिजुलीका पोल र तारमा बस्ने गर्छन्। सिकारी चराबारे अध्ययन र अनुसन्धान गर्दै आउनुभएका चराविद् डा. तुलसी सुवेदीका अनुसार अध्ययनबाट सय वटा पोल बराबर १० वटा चरा करेन्ट लागेर मरेको पाइएको थियो। चराविद् सुवेदीको टोलीले हिमालयन नेचर नामक संस्थासँग आबद्ध रही सन् २०१९ देखि २०२२ सम्म अन्नपूर्ण संरक्षण क्षेत्र आसपास विद्युतीय प्रसारणबाट सिकारी चरामा परेको प्रभाव अध्ययन गरेको थियो। अध्ययनका अनुसार सिकारी चरा कुहिरो लागेको र मौसम खराब भएका बेला उड्ने क्रममा बिजुलीका तारमा ठोकिएर मर्ने गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्रलगायत आसपासका पर्वत, कास्की, स्याङ्जा जिल्लालाई सिकारी चराको महत्वपूर्ण क्षेत्र मानिन्छ। विश्वमै भएका १० वटा महत्वपूर्ण सिकारी चरा अध्ययनको क्षेत्रमध्ये अन्नपूर्ण संरक्षण क्षेत्र पनि पर्छ। नेपालमा गिद्ध, चिल, बाजलगायत ६० प्रजातिका सिकारी चरा पाइन्छन्। प्राकृतिका अभिन्न प्रजाति मानिने सिकारी चराले मरेका पशुपन्छीको सिनो खाने, बालीनालीमा लाग्ने मुसा र किरा खाएर पर्यावरणलाई फाइदा पु-याइरहेका हुन्छन्।
सिकारी चराले बसाइसर्ने क्रममा नेपालको अन्नपूर्ण क्षेत्रमा प्रत्येक वर्ष करिब १५ हजारको सङ्ख्यामा देख्न सकिन्छ। सन् २०१२ देखि २०२१ सम्म गरिएको सिकारी चरा गणनाबाट यो कुरा थाहा भएको हो। मङ्गोलिया, चीन, रुसलगायतका देशबाट सिकारी चरा हिउँद लाग्नु अगाडि अक्टुबर, नोभेम्बर, डिसेम्बरसम्ममा बसाइसरेर आउने गर्छन्। विद्युत्का पोलमा टाँगिएका तारमा वा तार टाँग्न प्रयोग भएका धातुका फ्रेममा इन्सुलेसन गरिएमा करेन्ट नलाग्ने बनाउन सकिने चराविद् सुवेदीको भनाइ छ।