• १२ मंसिर २०८१, बुधबार

हिउँ पन्छाएर सिमकोट लिमी लाप्चा सडक सुचारु

blog

नारा लेकमा सडकमा जमेको हिउँ सफा गर्दै मेशिन । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, साउन २ गते । नाम्खा गाउँपालिका– ६ को लिमी जोड्ने सिमकोट लिमी लाप्चा सडक सात महिनापछि सुचारु भएको छ । लिमी जाने पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको चारदेखि पाँच फिट हिउँ पन्छाउने र सडकमा गएको पहिलो फालेपछि लामो समयपछि सडक सुचारु भएको हो । 

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले हिमपातले गत पुस महिनाबाट अवरुद्ध हुँदै आएको सिमकोट लिमी लाप्चा सडक सुचारु भएको बताउनुभयो । पुस महिनामा हिमपातपछि सो सडकमा यातायात सेवा बन्द हुँदै आएको थियो । उहाँले पूर्वाधार विकास कार्यालयले एक महिना लगातार मेशिनबाट हिउँ फाल्ने र सडकमा भरिएको पहिरो पन्छाएपछि यातायात सुचारु भएको बताउनुभयो । 

सडकमा जमेको हिउँ र पहिरो पन्छाएपछि बोलेरा जिप, ट्याक्टर र मिनी ट्रक लिमी गाउँ र लाप्चासम्म गुड्न सुरु भएको छ । उक्त सडकमा जमेको हिउँ र सडकमा खसेको पहिरो पन्छाउने जिम्मा पाएको पूर्वाधार विकास कार्यालयले  एक महिना लगाएर मेशिनबाट काम गर्दा सडक सुचारु गर्न सफल भएको बताउनुभयो । कार्यालयले सडक सुचारु भयसँगै अब लिमीवासीका लागि खाद्यान्नलगायतका सामाग्री ढुवानी गर्न, नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न र लिमीका स्थानीयलाई जिल्लामा आउन सहज भएको कार्यालयले जनाएको छ । 

सडकमा हिउँ जमेको कारण यातायात सञ्चालन नभएपछि गत वैशाखपछि लिमीका स्थानीय जिल्लामा आउँदा र कर्मचारी तथा लिमीका स्थानीय लिमी जानुपर्ने भए पैदल मार्गबाट हिउँ छिचोलेर लिमी पुग्नुपरेको थियो । वैशाख अघि भने सो सडक पूर्णरूपमा बन्द थियो । उक्त सडक हरेक वर्ष हिमपातको कारण हिउँदे समय बन्द हुने गरेको कारण बर्सेनि रूपमा कार्यालयले हिउँ मेशिनबाट पन्छाउने कार्य गर्दै आएको छ ।