• १२ मंसिर २०८१, बुधबार

दश महिनापछि बन्यो जिते पुल

blog

प्रेमराज सिम्खडा

कालीकोट, साउन १ गते । कालीकोट जिल्लाको जितेगडा पुल दश महिनापछि सञ्चालनमा आएको छ । गत वर्षको असोजमा कर्णाली र तिला नदीको बाढीले आधा बगाएको कर्णालीमाथिको झुलङ्गे पुल दश महिनापछि मर्मत भएपछि सञ्चालनमा आएको हो । 

गोरखापत्रको पटक-पटकको खबरदारीपछि पुल मर्मत भएको हो । पूर्वाधार विकास कार्यालयले उपभोक्ता समिति मार्फत् पुल मर्मत गरेपछि आउजाउ गर्न सहज भएको छ । पूर्वाधार विकास कार्यालय कालीकोटका प्राविधिक लक्ष्मण पाण्डेले सुरुमा झुलङ्गे पुल बनाइरहेको निकायले आफैँ बनाउने भनेका कारणले ढिलो भएको बताउनुभयो । उहाँले सञ्चारमाध्यममा निकै आलोचना हुन थालेपछि प्रदेश सरकारले तत्काल मर्मत गर्न यही असारमा बजेट पठाएपछि कार्यालयले ठेक्का खोल्दा कसैले ठेक्का नहालेपछि उपभोक्ता समिति मार्फत् पुल मर्मत गरेको जानकारी दिनुभयो । 

पुल मर्मतका लागि १९ लाख ७० हजार बजेट लागत अनुमान गरिएको र अहिलेसम्म नौ लाख खर्च भएको बताउनुभयो । उहाँले केही मर्मत अझै बाँकी रहेको भएपनि नागरिकलाई आउजाउ गर्न भने सहज भएको जानकारी दिनुभयो । लठ्ठालाई कस्न बाँकी छ काम भइरहेको छ । आगामी वर्ष थप भुक्तानी हुनेछ । 

बाढीले आधा पुल बगाएपछि स्थानीयले भर्‍याङ बनाएर काम चलाऊ बनाएका थिए । पुल बगाएको लामो समयसम्म मर्मत नहुँदा नागरिकलाई निकै सास्ती थियो । एमाले निकट अनेरास्ववियुले पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सरकारको ध्यानाकर्षण गदै आएको थियो । पुल मर्मत छिटो हुनुपर्ने भन्दै नेकपा एमालेका भातृ सङ्गठन बढी सक्रिय रहेका थिए । 

नेकपा एमाले कर्णाली प्रदेश खेलकुद विभाग इन्चार्ज लक्ष्मणबहादुर बमले वर्षात् लागेकाले काठको भर्‍याङ बगाएको र नागरिकलाई पुल अभावले आउजाउ गर्न कठिन भएको भन्दै तत्काल पुल मर्मत गर्न दबाब दिन युवा र विद्यार्थीलाई परिचालित गर्नुभएको थियो । 

यसरी गोरखापत्रको खबरदारी, स्थानीय नागरिक अगुवाको दबाबले बल्ल पुल मर्मत भएपछि आउजाउ सहज भएको छ । 

यो पनि पढ्नुहोस

पुल मर्मत नहुँदा सास्ती