• १५ चैत २०८०, बिहिबार

सरकारले तोकेको दुधको मूल्य कायम रहने

blog

इलामको सूर्याेदय नगरपालिकामा जनप्रतिनिधि र दुग्ध व्यवसायीबीचको छलफल । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असार ३१ गते । इलामको सूर्योदय नगरपालिकामा किसानले पाउने दूधको मूल्य नेपाल सरकारले तोकेकै दरलाई कार्यान्वयन गर्ने सहमति भएको छ । दुग्ध उत्पादन नबिकेको भन्दै डेरीहरूले किसानलाई दिइरहेको मूल्य घटाउने प्रयास गरेका थिए ।

सूर्याेदय नगरपालिकामा आज व्यवसायी र नगरका जनप्रतिनिधिबीच भएको छलफलमा नेपाल सरकारले तोकेकै मूल्य कायम राख्न व्यवसायी सहमत भएका हुन् । नगरले विज्ञप्ति जारी गरी साबिकमा सरकारले तोकेको मूल्य नघटाई कार्यान्वयन गर्न गराउन अनुरोध गरेको थियो ।

‘केही डेरी व्यवसायीबाट यसअघि भएको निर्णय प्रचलित कानुनबमोजिम नरहेकाले सोको कानुनी आधार र वैधानिकता नहुने, साबिक नेपाल सरकारले तोकेको मूल्यअनुसार नै खरिद तथा विक्री गर्नसमेत सबै सरोकारवालामा जानकारी गराइन्छ’ नगर प्रवक्ता ख्याम भुजेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । 

असार २४ गते नगरपालिकास्थित दुग्ध व्यवसायी संघले दूूधको मूल्य केही घटाउनेगरी किसानलाई जानकारी गराएको थियो । संघले दूधको एसएनएफ (सोलिड नट फ्याट) ४ रुपियाँ ५५ पैसाबाट ४ रुपियाँमा झार्ने प्रयास गरेको थियो । त्यसपछि नगरपालिकाले व्यवसायीलाई बोलाएर छलफल गरेको हो ।

संघ अध्यक्ष जगत महतले करिब ३ महिना यता घिउ र चिज बिक्री नहुँदा व्यवसायीलाई आर्थिक समस्या भइरहेको बताउनुभयो । उहाँले दूधको मूल्य केही समय घटाउन आफूहरूले प्रयास गरे पनि सम्भव नभएको जानकारी दिनुभयो ।