राममणि दाहाल
हेटौँडा, असार ३१ गते । बागमती प्रदेश सभाबाट पारित भएको दुई वटा विधेयक बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार प्रमाणीकरण गर्नुभएको छ ।
बागमती प्रदेश सरकारको अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र आगामी आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रमाणीकरण गरिएको हो ।
बागमती प्रदेश सभाको असार २१ गते बसेको बैठकबाट उक्त दुवै विधेयक पारित भएको थियो । नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।
दुबै विधेयक प्रमाणीकरण भएसँगै प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुल्ने छ । प्रदेश सरकारले असार १ गते आगामी आवका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट प्रदेश सभामा पेश गरेको थियो ।