सबलाई पिरेको छ त्यो लामो दिनले
सबलाई अत्याएको छ आफ्नै उमेरले
बोकेका छौँ हामीले आफ्नै आफ्नै सडेका उमेरलाई
उमेर– घेराभित्र बाफिएको
रोग– यो उमेरले ल्याएको
हैन हामी आफैँसित चिप्लिएको
मान्छु, यो आफ्नै समर्थताले हुर्केको रोग
मान्छु, शताब्दीले थिचेर गएको
र पछि पनि सुम्पेर जानुपर्ने रोग
मान्छु, यो एक्लोपन आफैँले टुसाएका हौँ
आफूमा नै विश्वास नभएर
(विश्वास कसरी गरौँ जहाँ अविश्वासबाहेक केही छैन )
जानेर पनि बुझ पचाउनुपर्ने युग
जानेर पनि धोका दिनुपर्ने युग
यो युग आफैँमाथि थिचिएर बस्ता पनि सहनुपर्ने युग ।
रोएको छु मैले बेसरी सिरकभित्र आँखा राखेर
अझै पनि एक्लोपनका छायाहरू आँखै वरिपरि छन्
धसिएकै छन् मृत्युका रेखाहरू मेरै जीवनमा ।
हटाउन खोज्छु एकैछिन भए पनि
आफूमाथि थुप्रिएका बोझहरू
तान्छ मेरै कमजोरीले कणकणमा मलाई नै
त्यसैले म पिउँछु
र पिएको छु बेस्सरी मृत्युको गन्ध ममा नआओस् भनेर ।
जीवनदेखि भाग्न खोज्छु
तर भाग्न कहाँ सकिँदो रहेछ र
उठ्छु प्रत्येक बिहान लत्रङ्ग परेको शरीर बोकेर
अलि पछुताउछु र धिक्कार्छु आफँ
मलाई कसले बुझिदेओस्, के गरूँ ?
मलाई बुझ्ने कोही छैनन् ।
चाहन्छु, एउटा यस्तो मान्छे मेरो नजिक
जसले मलाई राम्ररी बुझ्न सकोस्
चाहन्छु अझ जसले मलाई राम्ररी बुझ्न सकोस्
जीवनका निराश, छटपटी र कुण्ठालाई ।
भन्छन् बार र क्लबमा मानिसलाई हुर्काउन सकिन्छ ।
पत्याउँ कसरी ?
भैगो नदाँज,
नदाँज, नदाँज मेरो जीवनलाई वेश्यालयका भित्ताहरूसित
पन्छिन्न विरक्त र एक्लोपन च्यापामा च्यापिएर
असङ्ख्य कीटाणुले चाङ लागेको त्यस भित्तामा ।
त्यसैले नदाँज मेरो अस्तित्वलाई
सीमित घेराभित्र राखेर ।
हो, मैले बाँच्न जानिनँ
हो, एक्लोपनलाई मैले हटाउन सकिनँ
लाग्छ गुनासो नै जीवनको सुरुवात हो
लाग्छ, अन्त्य कहीँ गुनासैबाट हुने हो ?
समस्या– बेकारीको
समस्या– तृप्तिको
समस्या– एक्लोपनको
खल्ल्लो लाग्छ जीवन यसरी नै भौँतारिँदै हिँडेकोमा ।
अब त बाँच्ने रहर धेरै धेरै बढेको छ
सिकाऊ, मलाई पनि बाँच्न सिकाऊ
सिकाऊ म बाँच्न चाहन्छु
सिकाऊ, म मृत्युसित भिड्छु
सिकाऊ, म एक्लोपनलाई लघार्छु ।
मलाई मृत्युको छायाबाट पर राख
पर राख
मलाई पनि बाँच्ने रहर छ ।
साझा कविता, सं. चूडामणि बन्धु, साप्र, तेस्रो, २०३४