• ३० वैशाख २०८२, मङ्गलबार

समृद्ध नगर र खुसी नगरवासी बनाउने लक्ष्यमा छौँ

blog

रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो। यो नगरपालिका पटक/पटक देशकै उत्कृष्ट नगरपालिका छनोट भएको छ। यस नगरपालिकाको धेरैजसो भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्धनका कार्यक्रमले छ लेन सडक थप आकर्षक बनेको छ । दोस्रो स्थानीय तहको निर्वाचन भएको एक वर्षको अवधिमा यहाँ के कति विकासका काम भए भन्नेबारे नगर प्रमुख रामकृष्ण खाणसँग गोरखापत्रकर्मी भुवन कार्कीले गरेको कुराकानीको सारसङ्क्षेप।


दोस्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको एक वर्ष बितेको छ, यो अवधिमा के कस्ता काम सम्पन्न भए ?

तिलोत्तमा नगरपालिकामा विभिन्न नयाँ, पुराना कार्यक्रमहरू सञ्चालित छन्। स्थानीय जनताको चाहना अनुसार नै सबै काम भइरहेका छन्। ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमाको नारासहित नगरमा सरसफाइ र हरियाली प्रवर्धनका कार्यक्रम गरेका छौँ। हरियाली प्रवर्धनको १०० औँ शृङ्खलाका पार गरेका छौँ। नगरमा सामुदायिक विद्यालयका विद्यार्थीको दिवा खाजामा रु. १० वृद्धि गरी रु. २५ पु-याएका छौँ। फलस्वरूप सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ। नगर प्रमुख छात्रवृत्ति वितरण कार्यक्रम (नगर प्रमुखले पाउने सेवासुविधा) बाट बाल दिवसको अवसरमा सामुदायिक विद्यालयका १४७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो। भूमि आयोग रुपन्देहीको समन्वयमा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँचको कार्य सञ्चालन भएको छ। जनचाहना अनुसारका धेरै कामको थालनी गरेका छौँ। दीर्घकालीन परिणाम देखिने गरी कामको सुरुवात भएको छ। 

नयाँ कार्यक्रम चाहिँ के के भए ?

समुदायमा आधारित हरियाली प्रवर्धन एवं नियमित सरसफाइ अभियानको १०० औँ शृङ्खला पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गरेका छौँ। वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको छ। नगरमा सवारीसाधनको जथाभावी हर्न निषेध गरिएको छ। पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको छ। फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खा खैनीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।

यी घोषणाहरू कत्तिको व्यावहारिक छन् ? कार्यान्वयन पक्ष फितलो छ भन्ने गुनासा पनि सुनिन्छन् नि ?

तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा गरेका पाँच घोषणामध्ये वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रमुख रहेको छ। वातावरण र विपत् व्यवस्थापनको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गराउँदै नेपाल सरकारले जारी गरेको वातावरणमैत्री स्थानीय शासन प्रारूप–२०७८ मा उल्लेखित वातावरणमैत्री स्थानीय शासनका बाँकी सूचकहरू पूरा गराउने कार्यक्रम आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ। यो कार्यान्वयनको चरणमा छ। सवारीसाधनको हर्नबाट बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गरी वातावरणमैत्री समाजको निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई जथाभाबी हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ। यो घोषणासँगै अनावश्यक रूपमा हर्न बजाइ नगरको शान्ति भङ्ग गर्ने कार्यलाई निरुत्साहित गरिनुका साथै एम्बुलेन्स, सुरक्षाकर्मी, शव वाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्नेबाहेकका सवारीसाधनलाई हर्न प्रयोग गर्न निषेध गरिएको छ। फोहोरमैला सङ्कलन तथा व्यवस्थापन कार्यलाई दीगो र वैज्ञानिक बनाई वातावरणमैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न नगरपालिकामा फोहोरमैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा सङ्कलन गर्ने कार्य प्रारम्भ भएको छ। नगरपालिकाले गुट्खा, सुर्ती प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकाले नगरवासीको स्वास्थ्य, सहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर नगरपालिकामा सबै प्रकारका गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। घरगोठमा पालिएका पशुचौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सडकमा पु-याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएका छौँ। सबै कार्यक्रम कार्यान्वयन हुन्छन्।

नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने सेवामूलक कार्यहरू के के भएका छन् ?

नगरभित्र विभिन्न नयाँ अभियान सञ्चालन गरिएका छन्। सेवामूलक काम धेरै सुरु भएका छन्। कतिपय भर्खर कार्यान्वयनका चरणमा छन्। बाँकी कार्यकालमा यी सबै पूरा हुने छन्। नगरका विभिन्न ठाउँका स्वास्थ्य चौकीमा आधुनिक प्रकारका स्वास्थ्य सेवा सुरु गरिएको छ। थारू समुदायमा मुख्य समस्याको रूपमा रहेको सिकलसेल एनिमियासम्बन्धी अभिमुखीकरणसहित परीक्षण कार्यक्रम तिलोत्तमाका सबै वडामा सम्पन्न गरिएको छ। सार्वजनिक सुनुवाइ गरेर जनताको सुझाव लिने गरिएको छ। उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम सञ्चालन गरिएको छ। दुग्ध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्न यस वर्ष प्रतिलिटर एक रुपियाँका दरले रु. ३२ लाख ३५ हजार ६७० रुपियाँ वितरण गरिएको छ। हेलो तिलोत्तमा कार्यक्रम ल्याएर जनताको गुनासो सुन्ने व्यवस्था मिलाइएको छ। नगरवासीको गुनासो एवं अपेक्षालाई सम्बोधन गर्न यो कार्यक्रम ल्याइएको हो। विद्युतीय हाजिरी, विद्युतीय दर्ता/चलानी आदि कामको सुरुवात भएको छ। आगामी दिनमा थप नयाँ जनचाहना अनुरूपका कार्यक्रमहरू सञ्चालन गरिने छ।

अन्त्यमा हालै नगरले बजेट पनि ल्याएको छ, बजेटमा के कस्ता योजना समेट्नुभएको छ ? 

बजेटमा विभिन्न कार्यक्रमहरू समेटिएका छन्। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीमा सुनिश्चित गर्ने, शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको गुणस्तरमा वृद्धि गर्ने, गुणस्तरीय शिक्षाका लागि शैक्षिक पूर्वाधारमा जोड दिने, उपलब्ध साधन स्रोत, श्रम, शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनमार्फत रोजगारी सिर्जना गर्ने, आर्थिक गतिविधि एवं विकास निर्माणका कार्यक्रमलाई तीव्रता दिने, कृषि, पशुपन्छी क्षेत्रको विकासमार्फत उत्पादन र बजारीकरणका क्रियाकलाप सञ्चालन गर्ने, नगरको आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधारको विकास गरी ‘समृद्ध नगर : खुसी नगरवासी’ को लक्ष्यलाई प्राप्त गर्ने उद्देश्यका साथ बजेट निर्माण गरेका छौँ।