• १२ मंसिर २०८१, बुधबार

प्रचण्डको आत्मसमीक्षा

blog

हालै एक जना भारतीय यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलेको विषयले निकै चर्चा पायो। उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उहाँसँग जोडिएको विगतको भावनात्मक सम्बन्धलाई पुनः स्मरण गर्नुभयो । पुरानो पारिवारिक सन्दर्भ पोख्नुभयो । झन्डै दस वर्षअघि सिंहले उहाँकै घर दिल्लीमा विचार, एजेन्डा, राजनीतिक आन्दोलन र उपलब्धिको आधारमा तपाईं नै प्रधानमन्त्री बन्दा स्वाभाविक हुन्छ भनेर कोठे चिया गफका क्रममा भनेको प्रसङ्ग सहज ढङ्गले सुनाउनुभयो ।

प्रधानमन्त्रीले यस्तो विवाद हुन्छ भनेर कल्पनै गर्नु भएन तर यही विषयलाई लिएर सदनमा प्रतिपक्षी पार्टीहरूले तीन दिनसम्म सदन अवरुद्ध गरे। उनीहरूले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखे । उनीहरूले सदनमा प्रस्टीकरण दिनुपर्ने विकल्पलाई पन्छाएर निरपेक्ष राजीनामा माग गर्दै सदनलाई अनिर्णयको बन्दी बनाए। हल्लाखल्ला र प्रचारबाजीले नेतृत्व गरिरहेको हाम्रो उपभोगवादी समाजमा सत्यतथ्य र सही–गलतभन्दा पनि बहकिने, बरालिने र भड्किने संस्कृति विकराल रूपमा मौलाएको छ। 

प्रचण्डले कुन सन्दर्भमा के बोल्नुभएको थियो, त्यसको अन्तर्य र आशय के थियो भनेर तथ्य अनुसन्धान गरेर विश्लेषणसहित धारणा बनाउनुको सट्टा सिधै राष्ट्रघात वा राष्ट्रियतामा आँच आउने अभिव्यक्ति भनेर स्टन्टबाजी गरियो। मौसमी राष्ट्रवाद हाबी भइरहेको बेला अतिराष्ट्रवादी भावना छचल्किनु र बहकिनु स्वाभाविक हुन्छ। यद्यपि शीर्ष तीन नेताबिचको छलफलसँगै प्रधानमन्त्री प्रचण्डको प्रस्टीकरणपछि सदन सुचारु भएको छ, जुन सुखद हो।

प्रस्टीकरण

सम्माननीय प्रधानमन्त्री प्रचण्डले सदनमा खुलेरै आफ्नो कुरा राख्नुभएको छ। यो सकारात्मक राजनीतिक संस्कार हो। आफैँभित्र आलोचनात्मक हुनु राम्रो पक्ष हो। संस्कारी राजनीतिमा मात्र अनुशासन, मूल्य–मान्यता र पद्धति हाबी हुन्छ। उहाँले दस–बाह्र वर्षअघि छोरी ज्ञानु क्यान्सरपीडित भएर उपचारार्थ दिल्ली पु¥याएको बेला भारतीय यातायात व्यवसायी सिंह र उहाँको परिवारबाट उल्लेख्य मानवीय सहयोग पाएको प्रसङ्ग निकाल्नुभयो। त्यसपछि सिंहसँग भावनात्मक पारिवारिक सम्बन्ध बसेको प्रस्ट पार्नुभयो।

यही भावनात्मक सन्निकटताकै कारण सिंहले पुस्तक विमोचन कार्यक्रममा मलाई प्रमुख अतिथि बनाउनुभयो। उक्त पुस्तक विमोचन कार्यक्रममा बोल्दै जाँदा मैले अलि बढी भावुक भएर पुराना प्रसङ्गहरू निकाल्नुभयो। यही सिलसिलामा सिंहले दिल्लीस्थित उहाँकै घरको अनौपचारिक गफगाफमा राजनीतिक एजेन्डा र उपलब्धिका आधारमा तपाईं नै प्रधानमन्त्री भएको स्वाभाविक हुन्छ भनेर शुभेच्छा राखेको प्रसङ्ग जोड्नुभयो। त्यति बेला प्रितम सिंहले मात्र नभएर यस्तो विश्लेषण प्रायः सबै नेपालीले पनि गरिरहेको वस्तुगत अवस्था थियो। 

प्रधानमन्त्री प्रचण्डले अलि अघि बढेर भन्नुभयो, “मैले उक्त विमोचन कार्यक्रममा प्रधानमन्त्री भएर बोलिनछु। म त्यहाँ ज्ञानुको बाबु भएर बोलेछु। बुद्धिले भन्दा मन र भावनाले बोलेछु। म अलि बढी भावुक छु, त्यही नै भएर त प्रचण्ड भएको छु।” प्रधानमन्त्री भनेको नेपालको सार्वभौम सदनले चयन गर्ने हो। मैले व्यक्तिगत तथा भावनात्मक पारिवारिक सम्बन्धका आधारमा बोलेको कुराले राष्ट्रियतामा आँच आउने कुरा मैले त कल्पनै गरेको थिइनँ।

फेरि परिवर्तन, समानता, न्याय र स्वाधीनताका लागि जीवन–मरणको सङ्घर्ष गरेर आएको व्यक्तिले त्यति बोल्नेबित्तिकै सबै राजनीतिक विश्वास, मूल्य, आस्था र विचार नै सकियो त ? वास्तवमा सकिएको छैन र म सकिन दिनेवाला छैन। खास गरेर मैले सफा र निष्कलङ्क मन र भावनाले ओतप्रोत भएर बोलेको हो। यो मेरो रणनीतिक स्वार्थगत भनाइ हुँदा पनि होइन। नितान्त भावनामा त्यहाँसम्म बगेछु। यसका लागि यो सम्मानित सदनसमक्ष गम्भीर आत्मसमीक्षा गर्न चाहन्छु साथै आगामी दिनहरूमा यस्तो हल्का–फुल्का अभिव्यक्ति नदिने वाचा पनि गर्दछु।

यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री प्रचण्डले सपाट ढङ्गले प्रस्टीकरण दिने काम गर्नुभएको छ। जे गरे पनि ठिक भन्ने आत्मकेन्द्रित व्यक्तिवादी अवसरवादी हठ हाबी भइरहेको बेला प्रचण्डले सदनमा खुलेरै आत्मसमीक्षा गर्ने कुरा निकै उदाहरणीय परिघटना हो; जुन अरूले पनि सिक्न लायक छ। हामी आशा गरौँ कि, भावी दिनमा अरू सार्वजनिक पदभार ग्रहण गरेकाहरूले पनि आफूप्रति यस्तै निर्मम बनून्। 

भारतीय रबैया र विरोधी भावना

नेपालको आन्तरिक राजनीतिमा भारतीय हस्तक्षेप नयाँ विषय होइन। यो परम्परागत समस्या हो। समय परिवेश अनुरूप उसले हस्तक्षेपको शृङ्खलालाई नवीकरण गर्दै आएको देखिन्छ। खुला सीमा र अन्य आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धका कारण भारतसँग नचाहँदा नचाहँदै पनि नजिकको उठबस गर्नैपर्ने हाम्रो वस्तुगत आवश्यकता र बाध्यता छ। यस्तो धरातलमा भूराजनीतिक जटिलता र सन्निकटताको रणनीतिक छाया नेपाली राजनीतिमा परिरहेकै हुन्छ।

वास्तवमा भारतले नेपाललाई समानान्तर सार्वभौम मुलुक भनेर स्वीकार गरिरहेको छैन। उसले सौतेलो छोटे भाइको व्यवहार गर्दै आएको हामी सबै भुक्तभोगीलाई थाहै छ। यही वस्तुगत धरातलीय यथार्थताका कारण नेपालमा वुझेर होस् वा नबुझेर भारतविरोधी भावना उत्कर्षमा छ। भारत, दिल्ली र भारतीय दूतावास भनेपछि अधिकांश नेपालीको आङ सिरिङ्ग हुन्छ। यसरी निरपेक्ष नकरात्मकता हाबी भएपछि कतिपय सकारात्मक सवाल, विषय र प्रसङ्गमा पनि गलत नै देख्ने दृष्टिदोष रहन्छ। 

यो सार्वभौम नियम हो। तब सामान्य भनाइ र प्रतिक्रियाहरू पनि एकाएक राष्ट्रिय राजनीतिक बहसको मुद्दा बन्न पुग्दछ। सिङ्गो राष्ट्रिय राजनीतिलाई तरङ्गित पारिदिन्छ। प्रचण्डको सानो भावना वगाइको अन्तर्यमा यति धेरै हल्लाखल्ला हुनु यसैको दुष्परिणाम हो। अर्थात् भारत वा दिल्लीप्रतिको बनिबनाउ नकारात्मक भावनाकै उपज साना विषयले पनि अनावश्यक रूपमा विशाल रूप लिने गर्दछ। भारतप्रति निरपेक्ष नकारात्मक भावना विकास हुनुमा स्वयं एकातिर भारतीय हस्तक्षेपकारी रबैया जिम्मेवार रहेको छ भने अर्कोतिर नेपालमा पार्टीगत र व्यक्तिगत स्वार्थमा राष्ट्रियता जस्तो समग्र र साझा आन्दोलनलाई अपव्याख्या गर्नु पनि जिम्मेवार देखिन्छ। 

चुनावी/मौसमी राष्ट्रवाद

नेपालमा अहिलेसम्म राष्ट्रवादलाई आन्दोलनका रूपमा परिभाषित गरेको देखिँदैन। आन्तरिक राष्ट्रवादको सुदृढीकरण र सुनिश्चितता नै राष्ट्रियता हो भन्ने भाष्य स्थापित छैन। राष्ट्रियता पनि राजनीति जस्तै एउटा आन्दोलनको ऐतिहासिक प्रक्रियाबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने स्कुलिङ छैन। यहाँ त राष्ट्रियतालाई केवल अति–भावना र अति–राष्ट्रवादसँग मात्र जोड्ने गरिन्छ। राष्ट्रियता भनेको केवल सिमाना र तारबारको विम्बमा मात्र बुझ्ने गरिन्छ। भावनात्मक दृष्टिकोणबाट नियाल्दा यो सही छ तर राजनीतिक रूपमा हेर्दा राष्ट्रियता भनेको आन्तरिक राष्ट्रियता सुदृढ गर्ने सवाल पनि हो। मुलुकलाई आत्मनिर्भर बनाउने सिलसिला हो।

आन्तरिक रूपमा वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीयलगायतका सबै खाले अन्तरविरोधको हल गर्ने आन्दोलन हो। त्यसैले असली राष्ट्रवादसँग आन्तरिक जनजीविका र जनतन्त्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ। वस्तुतः जनता, समाज वा मुलुक आत्मनिर्भर हुँदै समृद्ध बन्नु भनेको राष्ट्रियता सुदृढ हुनु हो। पछिल्लो समय नेपाली राष्ट्रियतालाई अपव्याख्या गरिएको छ। यसलाई केवल चुनावी मिटमसला मात्र बनाउन थालिएको छ। यो विडम्बनाको सवाल हो। राष्ट्रियताको मुद्दामा जसले बढी भावना, सिमाना, जङ्गे पिल्लर, दिल्ली र दूतावासको कुरा गर्छ, ऊ व्यवहारतः इमानदार नभएको पुष्टि हुँदै आएको छ। 

अर्को अमूक पार्टी वा नेतालाई राष्ट्रघाती करार गर्दै आफ्नो चुनावी स्टन्टबाजी गर्नु नेपाली राष्ट्रियताको भद्दा चरित्र हो। यहाँ राष्ट्रवादलाई आफ्नो स्वार्थगत दृष्टिकोणमा कैद गर्ने गलत परम्परा छ; जसलाई मूलतः मौममी राष्ट्रवाद भनिन्छ। अर्थात् चुनावी वातावरण बनाउन दिल्लीको चर्को विरोध गर्ने प्रचलन छ। उसले राष्ट्रवादको मापदण्ड पूरा गर्नु पर्दैन। स्वार्थको आधारमा राष्ट्रियताको गलत अपव्याख्या गर्न थालिएको छ। परिणामतः स्वार्थ मिले हस्तक्षेपलाई पनि सहने अनि स्वार्थ नमिले त्यतिकै पनि हस्तक्षेप देख्ने दृष्टिदोष बढेको छ। यस्तो रबैयाले राष्ट्रियताको आन्दोलन निर्णायक उचाइमा पुग्दैन। उल्टै राष्ट्रियताप्रति दिग्भ्रम पैदा हुन्छ। तब यो अन्ततः नारामा मात्र सीमित हुन पुग्छ।

निष्कर्ष

त्यस कारण राष्ट्रियताको आन्दोलन भनेको समग्र र साझा आन्दोलन हो। यसमा कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी करार गर्न जरुरी छैन। यो आन्दोलन आन्तरिक राष्ट्रियताको सुनिश्चिततासँग अभिन्न रूपमा जोडिएको हुन्छ। यस्तो आममुद्दा कुनै एउटा अमूक पार्टीले ढोङ्ग गरेकै भरमा प्राप्त हुँदैन। यसले भोट ब्ल्याकमेलिङमार्फत चुनावसम्म जिताउला अनि सरकार गठन–विघटन गर्ला तर राष्ट्रियता सुनिश्चित हुँदैन। अझै पनि यस्तो साझा आन्दोलनलाई भोट ब्ल्याकमेलिङ गर्ने संवेगात्मक साधन मात्र बनाइरह्यौँ भने हामी चुनावी वा मौसमी राष्ट्रवाददेखि भावनात्मक राष्ट्रवादसम्मको दुष्चक्रमा फनफनी घुमिरहने छौँ। पुस्तौँसम्म पनि परिणाम हातलागि शून्य हुने छ।

लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ।


  

Author

राजेन्द्र किराँती