घरेलु हिंसा घरमा हुने हिंसा हो। घरपरिवारका सदस्यबाट हुने हिंसा हो। घरेलु हिंसा गर्ने अनि हिंसाविरुद्धमा चर्को भाषण गर्ने हाम्रो संस्कारको कहिले अन्त्य होला ? ‘जो चोर उसैको ठुलो स्वर’ भने झैँ जो गन्यमान्य र ठुला मानिन्छन्, उनीहरूको परिवारभित्र नै घरेलु हिंसा बढी हुने प्रचलनलाई कहिले रोक्ने हो हामीले ? हिंसा नगर्ने मानसिकताको विकास कहिले गर्ने, कसले गर्ने र कसरी गर्ने ? परिवारकै सदस्यले आफ्ना सन्तानलाई विभेद गर्छन् भने, हिंसा गर्छन् भने त्यसको न्याय खोज्न कता जाने हो ? हरेक वर्ष घरेलु हिंसाका उजुरी दिने क्रम बढेको छ।
प्रहरीको तथ्याङ्क अनुसार महिलामाथि हुने घरेलु हिंसाको उजुरी गएको पाँच वर्षमा दोब्बर भएको छ। हाम्रो घरपरिवारका हिंसा जति उजुरी आएका छन्, त्योभन्दा बढी त अझ सहने, गुपचुप राख्ने प्रवृत्ति आज पनि व्यापक छ। घरेलु हिंसा मानवीय संवेदनाविरुद्धको आक्रमण हो। घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६ ले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ भनी परिभाषित गरेको छ। घरेलु हिंसाको मारमा बढी महिला परेका छन्। त्यसको हिस्सा बालबालिका र ज्येष्ठ नागरिकमा पनि छ। यसको प्रभाव अशिक्षित, गरिब र पिछडिएको क्षेत्रमा बढी छ।
घरेलु हिंसाको परिधि हेर्दा विशेष गरी शारीरिक हिंसा, यौनजन्य हिंसा, मानसिक हिंसा, संवेदनाविरुद्धको हिंसा र मनोवैज्ञानिक हिंसाका रूपमा बढिरहेका छन्। हामीले देखेका छौँ, सुनेका छौँ, भोगेका छौँ। आफ्नै जन्म दिने बाबुबाट, हजुरबाबाबाट छोरीहरू बलात्कृत भएका छन्। यस्तो जघन्य अपराधलाई मिलेसम्म गुपचुप राख्न र मिलाउन उद्यत छ हाम्रो समाज। पीडकलाई प्रश्रय दिने अनि पीडितलाई झन् पीडित बनाउने सामाजिक सोच, विचार, मूल्यमान्यताले गर्दा आज पनि समाजमा पीडक खुलेआम ठुलो मान्छे भएर डुल्ने अनि पीडित झन् पीडित भई समाजबाट तिरस्कार हुने, घरपरिवारबाट बहिष्कार हुने अवस्था निकै भयावह छ।
खै हाम्रा मानवीय व्यवहार कता हराउँदै गएका छन् ? मानव भएर पनि दानवीय व्यवहार किन हुन्छ आफ्नै घरपरिवारबाट ? मात्रात्मक रूपमा कम वा बेसी जे भए पनि घरेलु हिंसा सबै देशमा हुने गरेको छ। धेरै अपाङ्गता भएका व्यक्तिको मृत्युको कारक तत्वका रूपमा घरेलु हिंसा रहेको देखिन्छ। कतिपय अवस्थामा घरेलु हिंसाबाट निकै प्रताडित भई आत्महत्यासमेत गरेका छन्। जसलाई आत्महत्या भनी हिंसा पीडकलाई कारबाहीको दायरामा नै ल्याइँदैन। जसले गर्दा पनि समाजमा आत्महत्याका घटना बढिरहेको तथ्याङ्कमा देखिएको छ।
अहिले धेरै विद्यालयमा सामूहिक रूपमा विद्यार्थी ढल्ने, छोप्ने, बरबराउने जस्ता अनौठा लक्षण देखिने गरेका छन्। यस्ता क्रियाकलापमा पनि घरेलु हिंसाका प्रभाव हुन सक्छन्। घरेलु हिंसाको प्रमुख कारणका रूपमा सामाजिक र आर्थिक परिवेशलाई लिन सकिन्छ। यसको एउटै मात्र कारक तत्वभन्दा पनि धेरै अन्तरसम्बन्धित कारणको परिणाम हो। घरेलु हिंसाको अन्य कारक तत्वहरूमा पितृसत्तात्मक सामाजिक बनोट, सम्पत्तिमा परिवारका सदस्यको असमान नियन्त्रण, अन्धविश्वास, परम्परावादी मिचाहा दृष्टिकोण, कुरीति, धार्मिक दृष्टिकोण, संस्कार, विभेदपूर्ण कानुनी व्यवस्थाको नकारात्मक प्रभाव, बेरोजगारी, परनिर्भरता, अनैतिक सम्बन्ध, हिंसा उन्मुख पारिवारिक वातावरण, मादक पदार्थ सेवन, यौनजन्य कठिनता, गरिबीको गहनता, दाइजोलगायतका विषय छन्।
घरेलु हिंसा निश्चित रूपमा भेदभावको उपज हो। परिवारमा सबैलाई समान अवसर र समान पहुँचको वातावरण नहुनुको कारण हो। आजको एक्काइसौँ शताब्दीको समाज घरेलु हिंसाले पीडित समाज हुनु हुँदैन। समाज विकासको बाधक हो हिंसा। सभ्य समाज हुन रोक्ने विष हो। सन् १९४८ डिसेम्बरमा जारी भएको मानव अधिकारको विश्वव्यापी घोषणापत्रले समेटेका विषयमा मानव स्वतन्त्रता र मर्यादाको संरक्षणसम्बन्धी व्यवस्था घरेलु हिंसाको विरुद्धमा छन्।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ ले समेत घरेलु हिंसा नियन्त्रणका लागि आवश्यक पर्ने अधिकार संरक्षण गरेको छ। आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध, १९६६ ले सम्पूर्ण जनतालाई आत्मनिर्णयको अधिकार छ। त्यसै गरी महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि, १९७९ को समेत नेपाल पक्ष राष्ट्र बनेको छ। नेपालको संविधानमा नै स्वतन्त्रताको हक, महिलाको हक, अपराधपीडितको हकलगायतका हकलाई मौलिक हकका रूपमा राखिएको छ।
यति हँदाहुँदै पनि घरेलु हिंसाका घटना व्यापक रूपमा भइरहेका छन्। यसको प्रत्यक्ष असरले सभ्य समाज निर्माण हुन सकेको छैन एकातिर भने अर्कोतिर हिंसापीडितको मानसिक स्वास्थ्यको अवस्था झन् भयावह रहेको छ। तराई क्षेत्रमा हुने अधिकांश हिंसाको कारण दाइजो बनेको छ। घरेलु हिंसाका बढी उजुरी प्रदेश २ बाट पर्ने गरेका छन्। घरेलु हिंसा सहन बाध्य पार्ने हाम्रो समाजमा सामाजिक प्रतिष्ठामा आँच आउने डरका कारण प्रहरीमा न्यून सङ्ख्यामा उजुरी पर्ने गरेको पाइन्छ ।
घरेलु हिंसा नियन्त्रण गर्न वर्षको एक/दुई दिन चाडपर्व जस्तो अभियान गरेर पुग्दैन। यसका लागि चर्का भाषण र कानुन भएर मात्र पनि हुँदैन। यसका लागि त सबैमा हिंसारहित मानसिकता निर्माण गर्न जरुरी छ। हिंसा नगर्ने, भएको हिंसालाई प्रतिकार गर्ने र तुरुन्त कानुनी उपचार भई पीडितले न्याय र पीडकले सजाय पाउने व्यावहारिक अभ्यासको खाँचो छ। महिलाको आर्थिक र सामाजिक सशक्तीकरण गर्दै, शिक्षा र रोजगारीका अवसर सिर्जना हुनु पर्छ। नेपाली समाजमा सदियौँदेखि रहेको पुरुषप्रधान मानसिकतामा परिवर्तन हुनु पर्छ। महिलालाई चेतनशील बनाउनुका साथै विद्यालयस्तरदेखि नै महिलामैत्री पाठ्यक्रम निर्माण गरिनु पर्छ।
महिलाले गर्ने घरभित्रको कामको आर्थिक मूल्य कायम हुनु पर्छ एकातिर भने अर्कोतिर समावेशिताको अभ्यास भान्छाकोठाको कामबाट सुरु हुनु पर्छ। जसले गर्दा परिवारका हरेक सदस्यमा समान अवसर र पहुँचको अवस्था निर्माण हुन्छ। घरेलु हिंसा सबैभन्दा बढी हुने र सबैभन्दा कम देखिने हिंसाको किसिम हो। यो घरभित्रै अदृश्य र गुपचुप रहको हुन्छ। हामी सबैको साझा प्रयासबाट घरेलु हिंसाको रोकथाम र न्यूनीकरण गर्न सम्भव छ।
हिंसारहित मानसिकता निर्माण गर्नु/गराउनु सरोकारवाला सबैको साझा दायित्व हो। हिंसापीडितलाई, प्रभावितलाई सहयोग गर्न हामी राम्रोसँग तयार हुनु पर्छ। पीडितलाई झन् पीडित बनाउने हाम्रा सामाजिक सोच, चिन्तन र प्रवृत्तिलाई सदाका लागि अन्त्य गर्नु पर्छ। पीडकलाई सामाजिक बहिष्करणको अभियान नै चलाउनु जरुरी छ। हिंसा सह्य नहुने घरपरिवार, कार्यस्थल तथा समुदाय बनाउनु हाम्रो जिम्मेवारी हो। हाम्रा घरमा, हाम्रा कार्यस्थलमा, हाम्रा समाजमा हुने हिंसाका सवालका बारेमा हुने र भइरहेका मौनतालाई तोड्न सक्नु पर्छ। हिंसालाई प्रश्रय दिने हाम्रा सामाजिक मूल्यमान्यता, संस्कार र रीतिथितिको पर्खाल सदाका लागि भत्काउन जरुरी छ। हिंसाको कुनै पनि हिसाबले औचित्य स्थापित गर्न सकिन्न। हामी सबै घरेलु हिंसारहित समाज निर्माणमा जुटौँ।