• २३ पुस २०८१, मङ्गलबार

व्यावसायिक कागती खेतीका लागि बिरुवा

blog

हुम्ला समाचारदारा

हुम्ला, असार ३१ गते । व्यावसायिक कागती खेतीका लागि किसानलाई कागतीका बिरुवा वितरण गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका कागती खेतीका लागि बढी सम्भावना भएको तर हालसम्म खेती सुरु नगरिएका कारण गाउँपालिका अध्यक्ष लालकेश जैसीको अगुवाइमा कागतीका बिरुवा वितरण गर्ने कार्य गरिएको हो ।

अध्यक्ष जैसीले गाउँपालिका क्षेत्रभित्रको माटो परीक्षण गर्दा कागती खेतीका लागि बढी सम्भावना देखिएको पाइएपछि यस वर्षबाट व्यावसायिक कागती खेती सुरु गरिएको बताउनुभयो । उहाँले यसका लागि सल्यान जिल्लाबाट पाँच हजार कागतीका बिरुवा ढुवानी गरी ल्याएर किसानलाई समूहगत र व्यक्तिगत रूपमा वितरण गरिएको बताउनुभयो । फलफूल लगाएर उत्पादन वृद्धि गरी किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ यो कार्यक्रम गाउँपालिकाले सञ्चालन गरेको हो । उहाँले हालसम्म अमिलो मात्र लगाउने किसानले कागती खेतीसमेत सुरु गरेको बताउनुभयो । 

खेतीका लागि जग्गाको अन्य व्यवस्था किसान आफैँले गर्नुपर्ने र एक जना किसानलाई ५० बोटसम्म बिरुवा उपलब्ध गराइएको छ । यसबाट ७० भन्दा बढी किसान लाभान्वित हुनुभएको छ । 

उहाँले यसलाई पनि पकेट क्षेत्रका रूपमा खेती सुरु गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि लिएको खेतबारीमा फलफूलका बोट, आर्थिक समृद्धिका लागि उत्पादनमा जोड भन्ने नीतिलाई सार्थक तुल्याउन र कार्यान्वयन गर्न पनि अहिलेबाटै थालनी सुरु गरिएको बताउनुभयो । गत वर्षबाट ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । उहाँले बाहिरबाट सामान ढुवानीसहित आउने गाडी हाल रित्तै जाने गरेको र फलफूल खेतीलाई व्यावसायिक गरेर उत्पादन वृद्धि गर्न सके बाहिर निर्यात गर्न पनि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।