प्रेमराज सिम्खडा
कालीकोट, असार ३० गते । कालीकोटको स्थानीय सरकारले बनाएका ग्रामीण सडकमा यात्रुले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । प्राबिधिक मापदण्डबिपरित बनाइएका सडकमा गाडी नचल्दा दुःख पाइरहेका नागरिकलाई पछिल्लो समय ती सडक पूरै हिलाम्मे भएकाले थप सास्ती भएको छ ।
कर्णाली करिडोर अन्तर्गत खुलालु सल्लीसल्ला सडक अहिले सबैभन्दा जोखिममा छ । कालीकोटको खुलालुदेखि पलाँताको घाटाचौरसम्मको सडक २८ ठाउँमा उच्च जोखिम छ । नेपाली सेनाले बिस्फोटक पदार्थ प्रयोग गरी निर्माण गरिएको सडक वर्षाको समयमा ढुङगा खस्ने जोखिम बढेको छ । ग्रामीण सडकका कारणले करिडोर हिलाम्मे हुँदा यात्रुलाई बढी सास्ती भएको हो ।
रास्कोट –२ का गाडी साहु महेशप्रसाद न्यौपानेले वर्षातको समयमा यात्रुले निकै दुःख पाउनेगरेको बताउनुभयो । कर्णाली करिडोरको खुलालु, भौतेकुना, रेगिल, आम्तडा, भातडी, भुरावगर, लाफा, लगायतका क्षेत्रमा सडक अवरोध हुनेगरेका छन् ।
करिडोरदेखि शाखा सडक छुटाइएका क्षेत्रमा पनि निकै जोखिम हुनेगरेको छ । रास्कोट नगरपालिका जोड्ने सान्नीघाट सेरा सडक पनि जोखिमपूर्ण रहेको स्थानीयको भनाइ छ । सुरुमा ग्रामीण बिकास कार्यक्रमले निर्माण गरेको सडक चौडा गर्ने भन्दै कर्णाली प्रदेशले स्काभेटर लगाउँदा झन जिर्ण भयो ।
स्थानीय बसराज बमले बिकासको नाममा जनतालाई सास्ती दिनेकाम भएको बताउनुभयो । खनिएका सडक वर्षातको समय झन बिग्रनेगरेको उहाँको भनाइ छ ।