• १२ मंसिर २०८१, बुधबार

प्रहरीको नागरिक सहजकर्ता अभियानबाट २२ हजार जनालाई सेवा

blog

नागरिक सहजकर्ताले सेवाग्राहीलाई नमस्कार गरेर समस्या बुझ्दै । तस्बिर सौजन्य : प्रदेश प्रहरी कार्यालय, सुर्खेत

ललित बसेल
सुर्खेत, असार ३० गते ।
कर्णाली प्रदेशका विभिन्न प्रहरी युनिटमा सुरु भएको नागरिक सहजकर्ता परिचालनबाट दुई महिनामा २२ हजार बढी नागरिकले सेवा पाएका छन् । गत वैशाख ३१ गते कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेश मातहतका सबै युनिटमा प्रहरीलाई नै नागरिक सहजकर्ताको रुपमा खटाएर परिचालन गरेको थियो ।

नागरिकले आफ्नो काम वा सुरक्षाको समस्या लिएर प्रहरीकोमा आउँदा भोग्नुपर्ने अन्यौल र अप्ठ्याराहरु हटाउन प्रदेश प्रहरीले नागरिक सहजकर्ता परिचालन गरेको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकालले नागरिकको समस्या छिटो समाधान गर्न, विचौलियाको सहयोग लिन नपर्न र प्रहरी तथा नागरिकको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार दुई महिनाको अवधिमा सोचे अनुसार नै उद्देश्य प्राप्ति भएको छ । प्रहरी र यस मातहतमा सेवा लिन आउने विपन्न तथा असमर्थ सेवाग्राहीहरुलाई निःशुल्क निवेदन लेखिदिने सेवादेखि नागरिका अप्ठ्यारा र अन्यौलपूर्ण समस्या समाधान गर्न नागरिक सहजकर्ता सफल भएको उहाँले बताउनुभयो । गत वैशाख ३१ गतेदेखि असार २९ गतेसम्म कर्णाली प्रदेशका विभिन्न प्रहरी युनिटबाट गरी २२ हजार ७३५ सेवाग्राहीलाई नागरिक सहजकर्ताबाट सेवा प्रदान भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै सुर्खेतमा चार हजार २४६ जना, दैलेखमा चार हजार ४७ जना, जुम्लामा तीन हजार २३५ जना नागरिकले सेवा पाएका छन् । यस्तै, रुकुम पश्चिममा एक हजार ४३० जना, मुगुमा एक हजार ३५० जना, जाजरकोटमा एक हजार २८६ जना, सल्यानमा एक हजार ६ जना, हुम्लामा एक हजार ५० जना र डोल्पामा नौ सय जनाले सेवा पाएका छन् ।

यसैगरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयबाट दुई हजार ११३ जना, प्रदेश प्रहरी कार्यालयबाटै १८८ जना, नेपाल पुलिस स्कुलबाट ६०४ जनाले सेवा पाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै यी युनिटबाट दुई हजार ६७८ जना विपन्न र असमर्थ सेवाग्राहीहरुको निःशुल्क निवेदन नागरिक सहजकर्ताले लिएर सेवा दिएको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले नागरिक सहजकर्ता परिचालनले सेवाग्राहीमा राम्रो छाप छोडेको र प्रहरी तथा नागरिकको सम्बन्ध पनि सुधार भएको दाबी गर्नुभयो । नागरिक सहजकर्ताको रुपमा खटिएका प्रहरीले सेवाग्राहीलाई नमस्कारबाट सुरु गरेर कामको प्रकृति, कहाँ र कुन फाँट वा कर्मचारीलाई भेट्ने, भेटेपछि समस्या अवगत गराउने, अभिलेख राख्ने र नम्र बोलीका साथ विदा गर्ने काम गर्दछन् । नागरिक सहजकर्ता परिचालनबाट विचौलियाको पनि कमी भएको र जनताको समस्या प्रत्यक्ष समाधानमा सहयोग पुगेको आफूले पाएको डिआईजी ढकालले बताउनुभयो ।