प्रेम अधिकारी
पशुपतिनगर (इलाम), असार ३० गते । इलामको नेपाल–भारत सीमावर्ती पशुपतिनगर–मानेभञ्ज्याङ जोड्ने सडकको निर्माण सम्पन्न भएको छ । सूर्योदय नगरपालिका –२ को पशुपतिनगर बजारदेखि वडा –१ को नेपाल–भारत सीमामा रहेको मानेभञ्ज्याङ बजारसम्मको पहिलो चरणको ढलानको काम सम्पन्न भई सडकको उद्घाटन गरिएको हो ।
सङ्घीय सरकार र सूर्योदय नगरपालिकाको ३ करोड ७१ लाख रुपियाँ लागतमा डिभिजन सडक कार्यालयमार्फत एक हजार दुई सय मिटर पक्की ढलानको काम सम्पन्न भएको छ । उक्त सडक निर्माण भएसँगै आफ्नै जिल्लाको अर्को गाउँ पुग्न भारतीय भूभाग भएर जानु पर्ने बाध्यता अन्त्य भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो ।
नगर प्रमुख राईले सडक उद्घाटन गर्दै सीमावर्ती क्षेत्रको नेपालतर्फ सडक नहुँदा नेपाली नागरिकले भोग्दैआएको समस्याको अन्त्य भएको बताउनुभयो । नगर प्रमुख राईले भन्नु भयो, ‘आफ्नो भूमिमा सडक नहुँदा यहाँका नागरिकले विभिन्न बाधा व्यवधान झेल्दै भारतीय सडक प्रयोग गर्नुपर्थ्यो, अव त्यसको अन्त्य भएको छ ।’
सडक बन्नुअघि उक्त ठाउँ पुग्नका लागि भारतको सुकिया हुँदै जानुपर्ने बाध्यता थियो । पहिलो चरणमा हजार दुई सय मिटरको सडकको पक्की ढलानको काम सम्पन्न भएको छ भने बाँकी ७ किलोमिटर सडकको ग्राभेल र नालीको काम सम्पन्न भएको छ । बाँकी सडकको चालु नयाँ आर्थिक वर्षमा काम हुने जनाइएको छ । उक्त सडक सूर्योदय नगरपालिकाको पशुपतिनगर हुँदै पाँचथरसम्म जोड्ने रिङरोड अन्तर्गत पर्छ ।
सो सडकलाई कृषि सडक अन्तर्गत राखेर काम सुरु गरिएको थियो । सडक निर्माणको जिम्मा भगवती बौद्ध सोहिना जेभीले लिएको थियो । असार २० सम्ममा सम्पन्न गर्नेगरी गत चैत २० मा सडकको ठेक्का लागेको थियो ।
सडक निर्माणले आन्तरिक पर्यटकलाई नेपाली भूभाग हुँदै प्रसिद्ध चित्रेगुम्बालगायत उच्च पहाडी क्षेत्रका दर्जनौँ पर्यटकीय स्थल पुग्न समेत सहज हुने स्थानीय कमल गदालले बताउनुभयो । वडा –१ को चित्रे गुम्बालगायत दुर्लभ रेडपाण्डा अवलोकन गर्न जाने पर्यटकलाई अव सहज हुनेभएको छ ।