रमेश विश्वकर्मा
गुल्मी, असार ३० गते । गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीण स्थल मादने गाउँपालिका वडा नम्बर– १ अग्लुङ्गले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षको साउन एक गतेदेखि लागू हुने गरी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको छ । आर्थिक हिसाबले विपन्न परिवारलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
‘घरको आर्थिक अवस्था कमजोर भएका परिवारलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको हो ।’ उहाँले भन्नुभयो, –‘आमा र बच्चाको स्वास्थ्य उच्च जोखिममा पारी घरमै सुत्केरी हुने समस्याको अन्त्यका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन हुँदा धेरै सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
आफूहरू नागरिकहरूको स्वास्थ्यप्रति सजग र गम्भीर रहेको बताउँदै त्यहाँ रहेको बुङ्लुङ्ग स्वास्थ्य चौकीमा सुत्केरी हुन नसके छिमेकी जिल्ला प्युठानको बिजुवार लैजानुपर्छ । त्यहाँ पुग्न सवारी साधनमा झण्डै तीन घण्टाको यात्रा गर्नुपर्ने उहाँले बताउनुभयो ।
सवारी साधन रिजर्भ गरेर लैजाँदा सात हजार रुपियाँ भन्दा बढी खर्च हुन्छ । अन्यत्र लैजानुपर्ने भएमा पनि वडा कार्यालयबाट यातायात खर्च उपलब्ध गराइने भएको वडा अध्यक्ष चन्दले बताउनुभयो ।