• १२ मंसिर २०८१, बुधबार

सामाजिक संस्कारमा विकृति

blog

मानिसले जन्मदेखि मृत्युसम्मका क्रियाकलापलाई विभिन्न किसिमका संस्कारका रूपमा मान्दै आएका छन्, जसको समष्टिगत रूप नै संस्कृति हो। बदलिँदो जीवनको गति, समय, परिस्थिति र विकासक्रम अनुसार हाम्रो संस्कार र संस्कृतिमा सुधार गर्दै जानुको साटो हालसाल धेरै विकृति/विचलन देखा पर्दै आएका छन्। खास गरी २०७२ सालको सङ्घीय गणतान्त्रिक संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेपश्चात् एकातर्फ यस्ता विकृति झन् बढेको पाइएको छ। अर्कोतर्फ १४ जनवरी २०२३ को बिबिसी समाचार अनुसार नेपाल विश्वमा इसाई धर्म परिवर्तन दर सबभन्दा उच्च भएको देश भएको छ। हाम्रो सामाजिक संस्कारमा आएका विकृति/विचलनका केही यस्ता प्रतिनिधि घटना/उदाहरण हेरौँ। 

डिल्लीबजारका एक दरबारिया गुरुपुरोहितवालाको केहीअगाडि मृत्यु भयो। मृतकका अमेरिकामा व्यस्त पदमा काम गरिरहेका दुई छोरा आई सामान्य दाहसंस्कार गरे। उनीहरू १३ दिनको लामो मृत्यु संस्कारमा अफिसको कारणले दुई/तीन दिन मात्र किरिया बसेर भाडाको एक बाहुनलाई १३ दिने किरियाको जिम्मा लगाई अमेरिका फर्केको सुनियो। त्यस्तै कतिपय बाबुआमाले विदेशमा बसोबास गर्ने छोराबुहारीले काजकिरिया गर्नेमा विश्वास नभई आफू बाँच्दा नै आफ्नो काजकिरिया आफैँले गर्ने चलन बढ्दै गएको छ। तेह्रदिने मृत्यु संस्कार नसिद्धिँदै बिचमा आफ्ना दाजुभाइ कसैको मृत्यु भएमा चोख्याउन विधिले नमिले पनि तेह्रदिने जुठोमा नै चोख्याउनसमेत थालिएको छ। 

मृत्यु संस्कारमा कडा अन्धविश्वासले गर्दा केही दुर्घटना पनि भएका उदाहरण छन्। जस्तोः तनहुँका काठमाडौँमा बसिरहेका मधुमेह र उच्च रक्तचापका छोरा बाबुको किरियामा तनहुँकै गाउँमा परम्पराग रूपमा भात, चिनी र घिउ खान बाध्य हुँदा चार दिनमा निजको मृत्यु भएको खबर पत्रिकामा छापिएको थियो भने अन्य केही यस्तै रोगी किरियापुत्रीको मृत्युसमेत भएका घटना पनि नसुनिएको होइन। एक नातेदारले छोराको अपर्झट विवाह गर्नुपर्दा परम्परागत रूपमा बिहे नहुने महिना कात्तिकमा बिहेकै दिन व्रतबन्धको नाममा जग्गेमा नै दुलाहालाई जनै लगाई बिहा सम्पन्न गरेको उदाहरण पनि छ। हालै एक छिमेकी ८५ वर्षीय ज्येष्ठ नागरिकको जन्मोत्सव छोरा र नातिनातिनाले विदेशी संस्कार अनुसार उहाँलाई बर्थडे क्याप लगाई केक काट्ने र ममबत्ती निभाई मनाएको घटना फेसबुकमा थियो। 

त्यस्तै व्रतबन्धको भोजमा पनि मदिराजन्य पार्टी हुन थाल्नु अर्को विकृति सुरु भएको छ भने पहिरनमा त झन् धेरै छाडापन र विकृतिमा पराकाष्ठा भई यस्ता विकृति दैनानदिन बढ्दै गएका छन्। विश्वमा मानव प्राणीले आ–आफ्नो समाज, जाति र धर्म अनुसार जन्मदेखि मरणसम्म विभिन्न संस्कार मनाउँदै आएका छन् भने नेपालमा सनातन धर्मावलम्बीका अनुसार जन्मदेखि मृत्युसम्म अपनाउने १६ संस्कारमा केही परिमार्जन नभई लोप भएकोमा केही समय अनुसार परिमार्जन हुँदै गएका छन्। 

यीमध्ये मृत्यु संस्कार सबभन्दा महत्वपूर्ण रहँदै आएको छ। यसमा पनि समयानुसार केही सुधार हुँदै आएको छ। यसका पङ्क्तिकारले नै पाँच वर्षअघि पनि आमाको स्वर्गवास हुँदा ओखलढुङ्गा मुडुलाकार्की समाजको निर्णय र बुवासमेतको स्वीकृतिमा पाँचदिने संस्कार अपनाएको थियो। हालै ९४ वर्षको बुवाको मृत्युमा पनि समाजको निर्णय र उहाँकै इच्छानुसार नै पाँचदिने संस्कार सम्पन्न गरिएको छ। 

त्यस्तै डा. उपेन्द्र देवकोटाकी पत्नी र तीन छोरीले दाहसंस्कारसहित सातदिने किरिया गरे भने अन्य केही समाज, परिवार जस्तोः गौतम, पोखरेल, कार्की इत्यादिले पाँचदिने मृत्यु संस्कार अपनाउन थालेका छन्। त्यस्तै मुस्ताङबाट आई काठमाडौँ बसोबास गरिरहेका ठुलो सङ्ख्याको मल्ल परिवारले पनि हालै पाँचदिने मृत्यु संस्कार मनाउने निर्णय गरेको पाइएको छ। त्यस्तै संस्कार सुधार गर्ने क्रममा दुई दिनको सट्टा एकदिने बिहे हुनु तथा सामूहिकको साथै मन्दिरमा व्रतबन्ध गर्ने चलन बढ्दै जानु राम्रो हो। त्यस्तै बच्चाबच्ची जन्मँदा ११ दिने सूतकलाई सम्बन्धित घरले मात्र स्वैच्छिक रूपमा सूतक बार्ने तर दाजुभाइले यसलाई उत्सवका रूपमा लिई शुभ कार्य गरेका अनुकरणीय उदाहरण पनि आउन थालेका छन्।

वैदिक युगमा शरीर विसर्जन गरेर आई स्नानादी गरी हवन कार्य गरेपछि त्यसै दिन अन्त्येष्टि पूरा हुने तथ्य प्राचीन वाङ्मयका आधारमा वेदका परमज्ञाता दयानन्द सरस्वतीले एक दिनमा सिध्याउने नियम बसाएका थिए भनिन्छ। वैदिक युगमा तयार भएको यो मृत्यु संस्कारलाई दयानन्द सरस्वतीले पूर्णतः खारेज गरेको भनिन्छ। त्यसपश्चात् सामन्तहरूको निर्देशन अनुरूप मृत्यु संस्कारलाई लम्ब्याउने परम्पराको थालनी भएको भनिन्छ। तेह्रदिने कर्मकाण्ड धेरै पुरानो होइन। १९९३ सालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले ७९ वर्षअघि १९१४ मा छ महिनाबाट ४५ दिनमा घटाएको मृत्यु संस्कारलाई सामाजिक कानुन बनाई १३ दिने मृत्यु संस्कारको प्रचलन/सुधार गराएका हुन्। 

वैदिक सनातन कर्मकाण्ड महासङ्घका वरिष्ठ उपाध्यक्ष रामचन्द्र भण्डारीका अनुसार यो संस्कार १३ वर्ष, १३ महिना, छ महिना, ४५ दिन हुँदै १३ दिनमा चलिरहेको भनिएको छ। चौरासी वर्षदेखि चलिआएको यो १३ दिने संस्कार अहिलेको समय, परिस्थिति, जीवनशैली र विकासक्रम अनुसार धेरै लामो, बोझिलो, खर्चिलो, स्वास्थ्य प्रतिकूल, अव्यावहारिक र असामयिक देखिएकाले झन्डै आठ दशकपछि २०७० सालको दशकदेखि यसलाई सरल, छोटो र कम खर्चिलो हुने गरी छोट्याई संस्कार बचाउन बहस सुरु भएको छ। अर्कोतर्फ यसलाई तीन, पाँच र सात दिनमा छोट्याई सुधार गर्दै लगेको पनि पाइन्छ। 

यसै व्रmममा २०७२ सालमा स्थापित हाल निष्व्रिmय रहेको संस्कार सुधार समाज – जसबाट प्रकाशित ‘पाँचदिने अन्त्य पद्धति, २०७३’ पुस्तकमा दिइएको विवरण अनुसार काठमाडौँ, बर्दिया, गोरखा, खोटाङ, चितवन, पाल्पा, ओखलढुङ्गा, उदयपुर, मोरङ, तेह्रथुम, सिन्धुपाल्चोक, ताप्लेजुङ इत्यादि १२ जिल्लाभन्दा बढीमा राजनीतिज्ञ वामदेव गौतम, प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रित पौडेल, राजनीतिज्ञ राजेश्वर देवकोटा तथा पोखरेल, थापा, कार्की, पन्त, विष्ट, ढकाल, बुढाक्षेत्री, परियार, गुरागाईं, खड्का, दाहाल, नेपाल इत्यादि ३० भन्दा बढी साहसिक समाज/परिवारले १३ दिने संस्कारलाई पाँच/सात दिनमा छोट्याएर अनुकरणीय कार्य गरिसकेका छन्। त्यस्तै प्रसिद्ध हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको पनि केहीअगाडि पाँचदिने मृत्यु संस्कार सम्पन्न गरियो। 

जन्म र मृत्यु प्रकृतिका नियम हुन् तर संस्कार/परम्परा भनेको मानवनिर्मित भए पनि कतिपय कट्टरपन्थीले यसलाई ईश्वरीय नियम भनेर लाद्न खोजेको पाइन्छ। त्यसैले यस्तो संस्कार पालन गर्न धेरै कठिन/कष्टकर भई यसमा समयानुसार सुधार नभएमा लोप भएर जाने मात्र होइन, कठोर र खर्चिलो संस्कारको हिन्दु धर्म त्यागी अन्य सजिलो धर्म–इसाईतिर गइरहेको माथि उल्लेख गरिएको छ। तसर्थ आफ्नो रीतिथिति र संस्कार बचाउन पनि सरकार तथा समाजका अगुवाले विशेष पहल गर्नु अत्यावश्यक भइसकेको छ। कर्मकाण्डीय पुरोहितहरूले निहित स्वार्थको कारणले संस्कारलाई छोट्याउने कार्य गैरशास्त्रीय, विधर्मी र आमाबाबुप्रतिको अनादर भनी आलोचनासमेत गरिरहेका छन्, जुन विवेकशील र समयानुकूल छैन। यस सम्बन्धमा राष्ट्रकवि माधव घिमिरे भन्नुहुन्छ, “हाम्रो धर्मशास्त्रको आड लिएर समयसापेक्ष संस्कार छोट्याउनु, विधि घटाउनु, मितव्ययी बनाउनु भनेको विधर्मी र पाखण्डी हुनु होइन, संस्कार बचाउने अभियान हो।” 

पितृ तर्ने/नतर्ने, मोक्ष हुने/नहुने भन्ने कुरा कसैले देखेको छैन र देख्न पनि सकिँदैन, यो परम्परागत विश्वासलाई कल्पना पनि भन्न सकिन्छ। यस्तो कल्पना र विश्वासको आधारमा निर्मित संस्कारलाई बचाउन चेतनशील मानवले समयानुसार विवेकपूर्ण सुधार/परिवर्तन गर्दै लैजानु पर्छ। हाम्रो समाजमा बाबुआमा बाँचुञ्जेल श्रद्धा/सेवा गर्नमा त्यति वास्ता नगर्ने तर मरेपछि आडम्बरयुक्त लामो र खर्चिलो संस्कार गरी श्रद्धा देखाउने नराम्रो प्रवृत्ति हालसाल बढेको छ। यसमा राष्ट्रकविज्यूको भनाइ छ, “आमाबाबुप्रतिको श्रद्धा र आदरभाव मरेपछि देखाउनुभन्दा जीवित अवस्थामै अनुभूति गराउनु पर्छ। धेरै दिनको किरियाकर्ममा निष्ठापूर्वक छोट्याएर गर्दा घृणा गर्नु बेठिक हो।” 

वैदिक विधि अनुसार तीन दिनमा शुद्धि हुने वेद अनुकूल प्रावधान छ। १९५५ सालमा स्थापित पं. माधवराज जोशी, सहिद शुक्रराज शास्त्रीसहितको आर्य समाजले वैदिक विधि अनुसार तीन दिनमा शुद्धि गर्ने अभियानसमेत चलाएका थिए। केहीअगाडि नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्कृति समितिले वैदिक विधिको आधारमा तीनदिने मृत्यु संस्कार अपनाउन उपयुक्त हुने सुझाव दिएको थियो। पण्डितद्वय रुद्रप्रसाद आचार्य र पारशमणि पोखरेलले तयार गरेको प्रस्तुत पद्धतिले १३ दिने संस्कारलाई पाँच दिनमा विधि नछोट्याई सरलीकृत गरिएको छ। यसले पास्कर गृहसूत्रको आधारमा पहिलो तीन दिनमा १० पिण्डदानसहित ढिकुरो फुटाउने र चौथो दिनमा ११ औँ दिनको र पाँचौँ दिनमा १२/१३ दिनको काम गरी पाँच दिनमा सिद्धिने प्रावधान राखेको छ। 

कर्मकाण्डीय पुरोहितहरूले समेत पास्कर गृहसूत्रको आधारमा ८/९ दिनबाट पछिल्लो पाँच दिनमा यही विधिबाट संस्कार सम्पन्न गरिरहेका छन्। पछिल्लोलाई अघिल्लोमा सारेर समयमा केही सुधार गर्न खोजिएको हो। यसमा केही कर्मकाण्डीय पुरोहितले मात्र विरोध/समस्या देखाएका हुन्। पाँच दिनमा सरलीकरण गर्दा समयसापेक्ष मात्र होइन, धर्मशास्त्रसम्मत पनि छ भनी विद्वान्हरूले भनिरहेका छन्। नेपाल आर्य समाजका अध्यक्ष कमलाकान्त आत्रेय भन्नुहुन्छ, प्रस्तुत पाँचदिने संस्कारमा विधि नघटाई दिन मात्र घटाइएको छ तर अहिलेको समयमा वैदिक विधि अनुसार तीन दिनमा शुद्धि हुने वेद अनुकूल विधि राख्दा उपयुक्त हुने धारणासमेत राखेका छन्। 

त्यस्तै गरेर पहिरनको सम्बन्धमा पनि पत्नी र किरियापुत्रीले मृत्यु संस्कारपछि बर्खीसम्म परम्परागत रूपमा लाउने गरिएको सेतो पहिरनलाई स्वैच्छिक गर्ने र आहारविहारका बारेमा किरिया बस्दा र बर्खी बार्दा आफ्नो स्वास्थ्य तथा रोगलाई दृष्टिगत गरी खानाको व्यवस्थामा सुधार गर्न थालेको देखिन्छ। दान दक्षिणालाई जिन्सीको सट्टा दाता र प्राप्तकर्तालाई पनि सहज हुने गरी परम्परागत व्यवस्थामा सुधार्नसमेत थालेको पाइन्छ। 

प्रज्ञा–प्रतिष्ठानले समेत तीनदिने मृत्यु संस्कार अपनाउन उपयुक्त हुने सुझाव दिएको परिपे्रक्ष्यमा नेपाल सरकारले पनि तीन/पाँच दिनमा यस्तो मृत्यु संस्कार स्वैच्छिक रूपमा अपनाउन सक्नेसमेत व्यवस्था गरी किरिया बिदा कटौतीमार्फत सेवामा वृद्धि गर्न उपयुक्त हुनेछ। मृत्यु संस्कारलाई सरकारसहित सबै जनताले प्रतिबद्ध रूपमा सुधार गर्न सकेमा समय र साधनको सदुपयोग हुने, सहजता आउने र धार्मिक जडतासमेत स्वतः हटी व्यक्ति, समाज र देशको सामाजिक सुधार र विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिन्छ। 

नेपाली जन्म संस्कारलाई बिर्सेर पश्चिमी सभ्यताको नक्कल गर्दा हाम्रो संस्कार लोप हुन लागेको छ। तसर्थ यसलाई बचाउन बाआमा, हजुरबा र आमाको जन्मोत्सव नेपाली संस्कार अनुसार मनाई केटाकेटीलाई यसको प्रभाव देखाउने गरिएको छ। अर्कोतर्फ कम्तीमा केटाकेटीलाई जन्मदिनको बिहान नेपाली संस्कार अनुसार पूजाआजा गर्नुपर्ने र बेलुका पश्चिमी संस्कार अनुसार केक काट्ने गरिन्छ। स्कुल, घर दुवैमा सिकाउने अभ्यास गरेमा साथै हाम्रो लवाइमा पनि केही नेपालीपन अँगाल्न सकेमा नेपाली संस्कृति/संस्कारको केही संरक्षण/विकास हुने छ। यस्ता जन्मोत्सव, बिहे, व्रतबन्ध, विवाह वर्षगाँठ, पास्नी इत्यादिलाई भव्य पार्र्टी मनाउने सम्बन्धमा नेपाल जस्तो अति न्यून आय भएका मुलुकका जनताको भड्किलो खर्च गर्ने प्रवृत्ति देखा पर्नु लाजमर्दो मात्र होइन, विकासको बाधक पनि हो। 

विदेशी संस्कारको प्रभावमा नपरी आफ्नो मौलिक सामाजिक संस्कारको जगेर्ना गरी समयानुकूल सुधार गर्दै जानु आवश्यक छ भने अर्कोतर्फ यस्ता संस्कार मितव्ययी रूपमा मनाई सामाजिक सेवा, लगानी र विकासलाई समेत ख्याल गर्नु पर्छ। यसै परिप्रेक्ष्यमा निष्व्रिmय रहेको सामाजिक व्यवहार सुधार ऐन, २०३३ लाई सरकारले समसामयिक परिमार्जनसहित कडाइका साथ लागु गर्नु उपयुक्त हुने छ। यसरी बढ्दै आएको विकृति नियन्त्रण गर्न पनि समसामयिक सुधारमार्फत हाम्रो संस्कृति तथा सामाजिक संस्कृतिको जगेर्ना र प्रवर्धन गर्नु अति आवश्यक भइसकेको छ। 

लेखक अर्थविद् एवं संस्कार सुधार समाजका सदस्य हुनुहुन्छ।    

Author

डा. रेवतबहादुर कार्की