• १२ मंसिर २०८१, बुधबार

जनकविका कालजयी असारे भाका

blog

लोकगीत र लोकसङ्गीतका धुरी जनकविकेशरी धर्मराज थापाबारे जानेका र सुनेका कुरा लेख्नु मेरा लागि कठिन विषय हो। नेपाली माटोको बास्नालाई आफ्ना करुण कण्ठका माध्यमले जनजनसमक्ष पु-याउनु जनकविको विशेष गुण मानिन्छ। नेपाली भूमि गौरवशाली छ। अझ आफ्ना विशेषताले नेपाल आमाबारे विश्वसामु जानकारी गराई सदैव राष्ट्रभक्ति देखाउनु पर्छ भन्ने बोधका गीत गाएर उहाँले प्रेरित गर्नुभयो। नेपाल आमाका विशेषता अनेक छन्। यहाँको प्राकृतिक सौन्दर्य, हिमालको चमक, नदीहरूको माला, हरियाली जङ्गलले हात्ती, गैँडा आदि जनावरलाई दिने वासस्थान, तराईका अन्न भण्डारहरूले सबै नेपालीलाई दिने धान, गहुँ आदि अनाजका कारण नेपाली सम्पन्न छन् भन्ने विषयको ज्ञान जनकविका मर्मस्पर्शी गीतले दिएका छन्। ती गीतको रसस्वाद गर्न एकान्तप्रेमी बन्नु पर्छ। हरेक शब्दको अर्थ छ गीतमा। 

जनकविकेशरीका गीत सुन्नमा सरल लाग्छन् तर उहाँकै जस्तै गरी स्वर र शब्द जोडेर गाउन सजिलो छैन। गीतले दिएको सन्देश त बुझ्न सकिन्छ, गहिरिएर बुझ्दा यस्ता खालका बोधगम्य गीत धर्मराजले किन र कसरी गाए ? अनुसन्धानको विषय छ। भरियाका गीतमा जसरी करुण रसमा डुबुल्की, नेपाली छोरो सगरमाथा 

चढ्दाको गीतमा वीररसमा त्यसरी फुर्तिलो ढङ्गले स्वर शब्द र लय, के छैन ? नेपाल गाईबस्तु पाल्ने, हिमाली भेगमा चौँरीगाई पालन, तराईंमा धान खेती उत्पादन, लामा दाइले बख्खु लगाई नेपालित्वको परिचय दिलाएको सन्दर्भ त्यस बखत नै गीतमा जोडिदिए। झन्डै पचहत्तर वर्षपछि थापाले गाएका गीतको सान्दर्भिकता गहन रूपमा जोडिन गएको छ। यी कालजयी गीत भोलिका दिनसम्म युगान्तकारी भएर जीवित रहने छन्।

नेपाली आमाका सच्चा सुपुत्र जनकविकेशरी युगान्तकारी गायक हुँदै हुन्। बाह्र महिनामा नेपाली जनले गाउने मर्मस्पर्शी गीतको सिर्जना र गाउनबाट नेपाल र नेपालीलाई गुन लगाए। नेपाली भाषाको श्रीवृद्धिका लागि र नेपाली मौलिकपनलाई जोगाइराख्नका लागि स्वरका माध्यमले जीवन पर्यन्त लोकगीत, लोकसाहित्य र लोकसङ्गीतको अटुट रूपमा सेवा गरे। परिणाम वर्तमानमा हामी मेची–कालीका सयौँ लोकसङ्गीतका पारखी उहाँकै लोकसंस्कृतिको मार्गमा हिँडिरहेछौँ। नेपाली लोकगीतका पर्यायवाची जनकविलाई नेपाली माटोले ठिक समयमा जन्माएकाले इतिहासका घटनाक्रम स्पष्ट गर्छ।

नेपाल कृषिप्रधान मुलुक हो। अधिक मानिस कृषिमा निर्भर छन्। किसानको छोराछोरी हुन नेपालमा गौरव छ। असार महिना अन्न उत्पादन गर्नका निम्ति रोपाइँ गर्ने महिना हो। आकाशमा कालो बादल देखा पर्नु, धर्तीमा सिमसिम पानी पर्नु नै सुहाउँछ यो महिनामा। खेतमा भ्यागुता कराउनु, साँझमा झ्याउकिरीले हरियो घाँसमा बसेर सङ्गीत दिनु अति प्राकृतिक सौरभ हो। हामीहरू खेतमा काम गर्दा हलो जोत्नु, बाउसे खन्नु, महिलाले खेत रोप्नु, आपसमा गीत गाउनु नै धर्म सम्झन्छौँ, असारको अन्न उब्जाउने महिनामा। यी कुरा जनकविकेशरीले जीवन्त रूपमा आफ्ना गीतमा सरल तरिकाले पस्केका छन्। विश्वमा नेपाल कृषिप्रधान मुलुक हो भनी सर्वप्रथम लोकगायनका माध्यमबाट चिनाउने विराट व्यक्तित्व नै जनकविकेशरी थापा नै हुन्। असार महिनामा गोरु जोत्दाका बखत कस्ता मौलिक शब्द गीतमा प्रयोग गरे भन्ने देहायका गीतका शब्दले प्रस्ट्याउँछ। जस्तोः 

हरियो डाँडामाथि हलो जोत्ने साथी

ह ह ह ह ह ह ओर ...। 

हो हो माले हो हो हो हो तारे हो हो 

चाम्रो माटोमाथि बाल्दै मनको बाती

डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई 

हो हो झुले हो हो हो हो डुले हो हो 

हरियो डाँडामाथि ...।

पख पख पख पख पख पख

हँ...

बनौँ हलो समाई बाँझो खान्छ कमाई

हिउँद वर्षाभरि जोत्छ यसै गरी

हो हो चुच्चे हो हो 

हो हो तारे हो हो 

हरियो डाँडामाथि ...।

हो हो माले हो हो हो हो तारे हो हो 

पख पख पख पख पख पख तात् तारे हो 

यतिका दिन गयो बसेर के भयो 

काम गर्ने दिन सबै भाई हिँड

हरियो डाँडामाथि ...।

गीत आफैँमा मनोरञ्जनको साधन हो। गीतले सन्देशसमेत दिने भएकाले जनकविकेशरीले आफ्ना असारे भाकामा पहाडीपनको सन्देश र झल्को पनि दिएका छन्। शब्दमा कृषकले गोरु जोत्दा ठेट मौलिकपनका शब्द उतारेका देखिन्छन्। त्यति बेलाको असार महिनाको रोपाइँको तरिका र शैलीमा वर्तमानसम्म पनि फरकपन देखिँदैन तर असारे भाकामा भने फरकपन प्रशस्त मात्रामा देखिन्छ। यसलाई गीतको विकास क्रमसँग जोड्न सकिन्छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा गाइने असारे भाकाका देउडा गीत तिसको दशक अघिसम्म सुन्नमा आएका थिएनन्। जब यो

पङ्क्तिकारले देउडाको श्रीवृद्धिका लागि एकलव्य भएर काम ग-यो, त्यसपछि असारे भाकामा पनि राष्ट्रिय मूलधारमा मिसिएर देउडा गीतसङ्गीतले झाँगिने मौका पायो। यसै गरी दोलखा, रामेछाप, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि असारे भाकाहरू सञ्चार जगत्मा आएका थिएनन्, गाउँघरमा सीमित थिए। सङ्खुवासभा, भोजपुर, तेह्रथुम, इलाम, धनकुटा आदि जिल्लामा गाइने हाकपारे, मारुनी, असारे भाकाहरूले पनि तिसको दशकभन्दा अघि मौलाउने मौका पाएका थिएनन्। क्रमिक रूपमा अहिले सबै ठाउँका असारे भाकाहरूले सञ्चारका स्थानीयदेखि केन्द्रीय प्रसारणसम्म घन्किने मौका पाएका छन्। मनमा कुनै सङ्कोच नमानी व्याख्या गर्नु पर्दा यी गीतको श्रीगणेश पनि जनकविकेशरी धर्मराज थापाद्वारा गाइएको असारे भाका ‘हो हो माले हो हो, हरियो डाँडामाथि हलो जोत्ने साथी’ बाट नै भएको हो। 

जनकविकेशरी थापा लोकगीतका क्रान्तिकारी गायक हुन्। थापाका हरेक गीतमा नवीन शैली र सोचको प्रयोग भएको देखिन्छ। पन्ध्र सालको संसदीय चुनावताका डा. केआई सिंहको चुनावी चिह्न ‘धानको बाला’ को गीतमा स्वर दिएको होस् अथवा हरियो भन्नु नि कान्छी यो रानी वनको गीत गाएर होस् उनको स्वभाव समाजमा परिवर्तन गरिनु पर्छ भन्ने देखिन्छ। धेरैले नबुझेर थापालाई कुनै बेलाका दरबारिया गायकसम्मको पनि आरोप लगाए। तर उहाँ बिपी कोइरालाका कट्टर समर्थक भएको कुरा विसं २०३७ वैशाख २० गते सम्पन्न जनमत सङ्ग्रहको घोषणापछि एक समारोहमा बिपीका पक्षमा बोलेका कुराबाट थाहा हुन्छ। त्यस बेला उहाँले ‘बहुदलले हारेको होइन, सूर्यबहादुर थापाले जितेको पनि होइन, बिपी लोकप्रिय राजनेता बनेका हुन्’ भनेबाट स्पष्ट हुन्छ।

असाधारण प्रतिभाका धनी जनकविकेशरी थापाको जन्म कास्की पोखरामा विसं १९८१ साउन १ गते पिता हर्कबहादुर थापा र आमा मनमाया थापाको कोखबाट भएको थियो। न्वारानको नाम भुवनबहादुर थापा थियो। लोकगायनबाट ख्याति कमाएका थापाले ‘जनकविकेशरी’ पदको उपमा विसं २०१३ तत्कालीन सरकारबाट रु. १०० को मासिक भत्तासहित पाएका थिए। दर्जनौँ साहित्यिक कृति सिर्जना गर्नुका साथै लोकगीतलाई औधी माया गरी जनजनमा लोकप्रिय हुन सफल उहाँको व्यक्तित्वले २०२५ सालमा ‘मङ्गली कुसुम’ खण्डकाव्य लेखेबापत मदन पुरस्कार प्राप्त गरेका थिए। लोकसङ्गीतको विधामा लागेका र साहित्यको सेवा गरेबापत मदन पुरस्कार प्राप्त गर्ने थापा नै नेपालको पहिलो लोकगीतका अमर स्रष्टा हुन्। विसं २०७१ असोज २८ गते काठमाडौँमा जनकविकेशरीको निधन भयो। 

जीवित अवस्थामा नै लोकसङ्गीतमा लागेका सयौँ स्रष्टाको प्रेरणाका लागि ‘जनकविकेशरी धर्मराज सावित्री थापा प्रतिष्ठान’ स्थापना गरे। २०५२ सालदेखि सो संस्थाले देशका ख्यातिप्राप्त लोकगायक, गायिका र साहित्यकारहरूलाई उनको जन्मदिन पारेर प्रत्येक वर्ष साउन १ गते पुरस्कार प्रदान गर्दै आएको छ। यस पटक जनकवि केशरी थापाको शतवार्षिकी परेकाले संस्थाले वर्षभरि नै देश र विदेशमा पनि विविध रचनात्मक कार्यक्रम आयोजना गरिने भएको छ। सो कुराको जानकारी प्रतिष्ठानका अध्यक्ष जनकविका छोरा मदनराज थापा र कुञ्जराज थापाले पङ्क्तिकारलाई गराउनुभएको हो। थापाका कालजयी गीतले नेपाली माटोमा युग युगसम्म सुवास छाइरहोस्।

लेखक सांस्कृतिक एवं सामाजिक अभियन्ता हुनुहुन्छ ।

  

Author

नन्दकृष्ण जोशी