• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा अध्यक्ष अन्योलमा पर्दा...

blog

काठमाडौँ, असार ३० गते । “हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकाले संयुक्त सुझावकर्ता सदस्यहरूका तर्फबाट... सरी, म यसलाई फेरि सच्याउँछु, यहाँ माननीयज्यूहरूले पनि दुवैतिर बोलेर अलि रमाइलो गर्नुभयो” राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्योलमा पर्दा उहाँले उक्त प्रतिक्रिया व्यक्त गर्नुभयो । राष्ट्रिय सभा र प्रतिनिधि सभामा विधेयक प्रस्तुत हुँदा प्रस्तावको पक्ष र विपक्षमा ध्वनिसङ्केतले मत जाहेर गरिन्छ । 

पक्षमा हुने सदस्यले ‘हुन्छ’ भनेर हात उठाउँदै मत जाहेर गर्छन् भने विपक्षमा हुनेले पनि सोही सङ्केतका आधारमा ‘हुन्न’ भन्दै मत जाहेर गर्छन् । तर यसरी मत जाहेर गर्ने क्रममा पक्ष र विपक्षमा बाँडिएका सदस्य आफैँ अन्योलमा पर्छन् । यसरी सदस्य अन्योलमा परेको सामान्य भए पनि सभाध्यक्ष आफैँ पनि अन्योलमा पर्ने घटना बिरलै देखिन्छ । यस्तै घटना राष्ट्रिय सभाको शुव्रmबारको बैठकमा समेत देखियो । 

आर्थिक विधेयक, २०८० माथि नेकपा (एमाले) का सदस्यले सुझाव प्रस्ताव राख्नुभएको थियो । उक्त सुझाव फिर्ता लिन सुझावकर्ताका तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भनियो । उहाँले सुझाव प्रस्ताव फिर्ता नलिने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले सुझावकर्ताले प्रस्ताव फिर्ता लिन नचाहेकाले निर्णयार्थ प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तावका पक्षमा हुने माननीयलाई ‘हुन्छ’ भन्नुहोला प्रस्ताव गर्दा सत्तापक्षका सदस्यले समेत हात उठाएर ‘हुन्छ’ भनेर मत जाहेर गर्नुभयो । 

सभाध्यक्षले प्रस्तावको विपक्षमा हुने माननीयले ‘हुन्न’ भन्नुहोला प्रस्ताव गर्दा सत्तापक्षका सदस्यले ध्वनि सङ्केतमार्फत मत जाहेर गर्नुभयो । ‘हुन्छ’ भन्नेमा केही र ‘हुन्न’ भन्नेमा सत्तापक्षका सबै सदस्यले ध्वनि सङ्केत गरेपछि सभाध्यक्ष तिमिल्सिना आफैँ अन्योलमा पर्नुभयो । सुझाव प्रस्तावको पक्षमा ध्वनि सङ्केत गर्ने नेपाली कांग्रेसका नारायण दत्त मिश्र, नेकपा (माओवादी केन्द्र) का भुवनबहादुर सुनुवार र राधेश्याम पासवानलगायतका सदस्य हुनुहुन्थ्यो । 

‘हुन्न’ भन्ने प्रस्तावमा पनि प्रतिपक्षका सदस्यले ध्वनि सङ्केत गरे । तर संसद् सचिवालयको क्यामरामा कैद हुन पाएन । सत्तापक्ष र प्रतिपक्षका सदस्यले भने एकअर्कातर्फ सङ्केत गर्दै अन्योलमा पारेको गुनासो गरे । 

सभाध्यक्ष अन्योलमा परेपछि उहाँलाई सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले छेउमा आएर सघाउनुभयो । अध्यक्ष तिमिल्सिनाले उक्त प्रस्तावमा आएको ध्वनि सङ्केतका आधारमा ‘हुन्न’ भन्ने सदस्यको बहुमत भएकाले उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्नुभयो । 

प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक भने राष्ट्रिय सभाले पारित गरी फिर्ता पठाएको छ । शुक्रबारकै बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राख्नुभएको राष्ट्र ऋण उठाउने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव मूल रूपमै सुझावबिना पारित भएको छ । उक्त विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइएको छ । 

राष्ट्रिय सभाको अर्को बैठक साउन १ गते सोमबार दिउँसो १ बजेपछि बस्ने गरी स्थगित भएको छ ।