• १२ असार २०८१, बुधबार

पर्याप्त वर्षा नहुँदा किसान समस्यामा

blog

नारद कोहार

तौलिहवा, असार २९ गते । पर्याप्त वर्षा नहुँदा कपिलवस्तुका किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका किसान समयमै वर्षा नहुँदा समस्यामा परेका छन् । 

असार अन्तिम सातासम्म पनि पर्याप्त वर्षा नहुँदा धानको बेर्ना व्याडमै सुक्न थालेका छन् भने रोपिएको धान पनि सुक्न लागेको कृषकहरु बताउँछन् । कपिलबस्तु नगरपालिका वडा नं. ६ थुम्हवाका कृषक जर्नादन यादवका अनुसार ब्याड राखिएको बीउँ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको बताउनुभयो । खोला किनार र सिँचाइ भएका खेतमा रोपाइँ सुरु भए पनि आँकाशे पानीको भरमा रोपाइँ हुने खेत बाझै रहेको उहाँले बताउनुभयो ।

कपिलवस्तु नगरपालिका वडा नं. ६ शिवपुराका कृषक जितबहादुर यादवका अनुसार पानी नपर्दा कुलो, नहर, खोलामा जम्म भएको पानी पम्पसेटबाट चलाएर रोपाइँ सुरु गरेको बताउनुभयो । “कुनै न कुनै उपाय गरेर खेत रोप्दै आएपनि मलखाद नपाँउदा धेरै समस्या भोग्नुपरेको छ,” उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेका अनुसार समयमै वर्षा नहुँदा अहिले किसानहरु पम्पसेटले सिँचाइ गरेर जबरजस्ती खेती गरिरहेको बताउनुभयो । खेतीयोग्य जमिनको ६० प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको उहाँले बताउनुभयो । जिल्लामा बाह्रै मासे खेती हुने क्षेत्रफल भने केवल ६ प्रतिशत मात्र छ । उनले जिल्लामा सिचाईको सुविधा नहुँदा कृषकहरु मारमा परेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र अनुसार पानी नपरेकै कारण असार सकिन लाग्दा मुस्किलले जिल्लामा ५० प्रतिशत मात्र रोपाइँ सकिएको छ । जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि ८१ हजार ५७६ हेक्टरमा खेती हुँदै आएको छ । त्यसमध्ये ७१ हजार पाँच सय हेक्टरमा धान खेती गर्ने गरिएको छ ।