• २५ वैशाख २०८१, मङ्गलबार

सिस्नोको ब्रान्डिङ गर्दै रोङ गाउँपालिका

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) साउन २९ गते । इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्राण्डिङ गरी बजार पठाउन सफल भएपछि यस वर्ष सिस्नोको ब्राण्डिङ गर्ने भएको छ । स्थानीय खोलाखोल्सामा पाइने सिस्नो बजारमा पुर्याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले सिस्नोको ब्राण्डिङ गर्न सुरु गरेको हो । 

गाउँपालिकाले ६ महिनाअघिदेखि सहकारी मार्फत किसानका बारीको साग सङ्कलन र प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरेको छ । ‘रोङ गुन्द्रुक’ नामले ब्रान्डिङ गरेको गुन्द्रुक अहिले नेपालका चलेका सुपर मार्केट र अमेरिकामा माग उच्च रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो । “गुन्द्रुकमा सफल भएपछि प्रत्यक्ष किसानको समृद्धिसँग जोडिएको सिस्नोको ब्रान्डिङ गरेर बजारीकरणको तयारी हो, उहाँले भन्नुभयो ।”

रोङ गुन्द्रुक ब्राण्डिङ्ग गरीएकै उद्योगमा प्रशोधन गर्न सकिने भएको हुनाले पूर्वाधारको एउटै लगानीमा दुबै वस्तुको प्रसोधन हुनेगरी सिस्नु ब्राण्डिङ् योजना अघि बढाइएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिनुभयो । 

किसानलाई बाँदरले अत्यधिक दुःख दिएको घटना धेरै आउने गर्छ तर सिस्नु खेती गर्दा बाँदरले दुःख नदिने भएकोले पनि  कार्यक्रम प्रभावकारी बन्ने उहाँले बताउनुभयो । 

कच्चापदार्थको सहज उपलब्धता र उच्च माग सिस्नो ब्राण्डिङ कार्यक्रम सफल हुने अध्यक्ष स्याङबोले बताउनुभयो । 

गाउँपालिकाले सिस्नोको ब्रान्डिङबारे प्राविधिक अध्ययन सुरू भइसकेको र चाँडै काम थालिने भएको छ । गाउँसभामार्फत बजेट नै विनियोजन गरेर सिस्नोको ब्राण्डिङ गर्ने तयारी थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले जानकारी दिनुभयो । 

“सिस्नो गुणकारी वनस्पति भएकाले नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा सजिलै खपत हुने विश्वास पनि गाउँपालिकाको छ । यसको उत्पादनसँगै बजारीकरणमा पनि हामी आक्रामक रूपमा लाग्नेछौं,” अध्यक्ष स्याङ्बो भन्नुहुन्छ, “विस्तृत योजना बनिसकेको छ ।”

आफ्नो कार्यकालको पहिलो वर्षमा गुन्द्रुक उत्पादन गरेर देखाएको गाउँपालिकाले यो वर्ष सिस्नोसँगै ’रोङ मह’ को पनि ब्रान्डिङ गर्दैछ । गाउँघरमा सिस्नो जताततै पाइए पनि बजारमा विक्रीका लागि खासै पुग्दैन । गाउँमा खेर गइरहेको सिस्नो सहकारीमार्फत खरिद गरी गाउँपालिकाले प्रशाेधन गरी बजारीकरण गर्ने काम गरिहेको छ ।