• १३ साउन २०८१, आइतबार

गोरखापत्र संस्थानप्रति पाठकको विश्वास

सय वर्षका लागि गोरखापत्रको ग्राहक !

blog

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी प्रतिष्ठानका सल्लाहकार ढकाललाई गोरखापत्रको पहिलो अङ्क सम्मानस्वरुप प्रदान गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, असार २९ गते । गोरखापत्र संस्थानका प्रकाशनप्रति पाठकको विश्वास र माया बढ्दै गएको छ । संस्थानको प्रकाशनका लागि एक सय वर्षको ग्राहक बन्ने क्रम सुरु भएपछि प्रकाशनप्रतिको पाठकको विश्वास बढेको पुष्टि भएको हो । 

यसअघिसम्म दश वर्षका लागि अग्रिम ग्राहक बनेको तथ्याङ्क संस्थानसँग थियो । आज (शुक्रबार) बसुन्धरा–मान प्रतिष्ठान, बालुवाटारले एक सय वर्षका लागि अग्रिम ग्राहक बनेपछि गोरखापत्र संस्थानको १२३ वर्षे इतिहासमा प्रतिष्ठान पहिलो शताब्दी ग्राहक बन्न सफल भएको हो । 

प्रतिष्ठानका सल्लाहकार बद्रीप्रसाद ढकाल एक सय वर्ष ग्राहकका लागि आज रकम भुक्तानी गरेर संस्थानका प्रकाशनको ग्राहक बन्नुभयो । ग्राहक (प्रतिष्ठान) ले पत्रिकाबापतको शुल्क अग्रिम भुक्तानी गरेपछि संस्थानले ४० प्रतिशत छुट दिएको छ । एक सय वर्षका लागि हुन आउने कुल रकम ३ लाख ६५ हजार रुपियाँमा छुट दिएर २ लाख १९ हजार रुपियाँ प्रतिष्ठानले संस्थानलाई भुक्तानी दिएको छ । 

प्रतिष्ठानका सल्लाहकार बद्रीप्रसाद ढकाल एक सय वर्ष ग्राहकका लागि आज रकम भुक्तानी गरेर संस्थानका प्रकाशनको ग्राहक बन्नुभयो ।

संस्थानका प्रकाशनहरु भोलि शनिबारदेखि प्रतिष्ठानलाई उपलब्ध हुनेछन् । वि.सं. २१८० असार २९ गतेसम्म (एक सय वर्ष) का लागि प्रतिष्ठान ग्राहक बनेको हो । प्रतिष्ठानका सल्लाहकार ढकालले संस्थानको प्रकाशनप्रति विश्वास लागेर एक सय वर्षका लागि अग्रिम ग्राहक बन्ने निर्णय प्रतिष्ठानले गरेको बताउनुभयो । 

नेपालकै पुरानो र इतिहास बोकेको पत्रिकाको ग्राहक बन्न पाउँदा आफूसहित प्रतिष्ठान गौरवान्वित भएको उहाँले बताउनुभयो । नेपालको भाषा, साहित्य तथा संस्कृति उत्थानमा गोरखापत्रको महत्वपूर्ण योगदान रहेकाले संस्थानको प्रकाशन प्रवर्धनका लागि आफूहरु ग्राहक बन्ने निर्णय भएको बताउनुभयो । 

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवस क्षेत्री) द्वारा आमा र बुवाको स्मृतिमा गठित संस्थाले एक सय वर्षको अग्रिम ग्राहक बन्ने निर्णय भएपछि पाठकमाझ सकारात्मक सन्देश प्रवाह भएको संस्थानको बुझाइ छ । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्रतिष्ठानको निर्णयले हामीलाई थप विश्वसनीय र जिम्मेवार बन्ने प्रेरणा प्रदान गरेको बताउनुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्रतिष्ठानको निर्णयले हामीलाई थप विश्वसनीय र जिम्मेवार बन्ने प्रेरणा प्रदान गरेको बताउनुभयो । संस्थानप्रति अपार माया र विश्वासको प्रतीकको रुपमा आफूले लिएको उहाँको भनाइ छ । अध्यक्ष सुवेदीले भन्नुभयो, “आगामी एक सय वर्षसम्म पनि गोरखापत्र सबल भएर बाँचिरहोस् भन्ने सदिच्छा यसमा जोडिएको छ ।”

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको १२३ औं वर्ष प्रवेशको अवसरमा संस्थानले नयाँ ग्राहक स्किम अभियान अन्तर्गत प्रतिष्ठान ग्राहक बनेको बताउनुभयो । प्रतिष्ठानको निर्णयले संस्थानले देश र समाजप्रति गरेको योगदानको कदर गरेको सन्देश गएको उहाँले विश्वास व्यक्त गर्नुभयो । यसले नातिदेखि पनाति पुस्तासम्म गोरखापत्रको विश्वास जागृत गर्ने उहाँको बुझाइ छ । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको १२३ औं वर्ष प्रवेशको अवसरमा संस्थानले नयाँ ग्राहक स्किम अभियान अन्तर्गत प्रतिष्ठान ग्राहक बनेको बताउनुभयो ।

प्रतिष्ठान २०५६ फागुनमा स्थापना भएको थियो । नेपाली साहित्य, कला, संस्कृतिको उत्थानमा योगदान दिने व्यक्तित्वहरुलाई प्रतिष्ठानले सम्मानित गर्दैआएको सो संस्थाका सल्लाहकार ढकालले बताउनुभयो । आगामी दिनमा पनि सो अभियान जारी रहने उहाँको भनाइ छ । 

सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले प्रतिष्ठानका सल्लाहकार ढकाललाई गोरखापत्रको पहिलो अङ्क हस्तान्तरण गर्नुभयो  ।  कार्यक्रममा संस्थानका प्रशासन विभाग प्रमुख ओमप्रकाश भुषाल, वितरण विभाग प्रमुख भगीरथ बस्नेतलगायतको सहभागिता थियो ।