• १२ मंसिर २०८१, बुधबार

इन्धनको मूल्य निर्धारण

blog

इन्धन विक्रीका लागि राखिएको ड्रमहरु र मूल्य निर्धारण गर्न बसेको बैठक । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, असार २९ गते । हुम्ला जिल्लाभर लागु हुने गरी इन्धनको मूल्य निर्धारण गरिएको छ । व्यापारीहरुले जथाभावी इन्धन विक्री गरेको उजुरी परेपछि सरोकारवाला पक्षको बैठक बसेर जिल्लाभर लागु हुने गरी इन्धनको मूल्य निर्धारण गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यातायातका साधनमा प्रयोग हुने इन्धन र ग्यासको मूल्य निर्माण भएको बताउनुभयो । यसअघि पैदल मार्गबाट ढुवानी गरेको इन्धन तथा ग्यासलाई व्यापारीहरुले आफू खुसी विक्री गर्दा उजुरी आएपछि एकरुपता ल्याउन मूल्य निर्धारण गर्नुपरेको हो । उहाँले पहिलो पटक सर्वपक्षीय बैठक बसेर इन्धन ढुवानी गरेर ल्याउँदा लाग्ने हरेक खर्च मिलाएर इन्धन र ग्याँसको मूल्य निर्माण गरिएको बताउनुभयो । 

निर्धारित मूल्य अनुसार बिहीबारबाट डिजेल प्रति लिटर २७४ रुपियाँ पर्नेछ । व्यापारीले सुर्खेतमा खरिद गरेको डिजेलको प्रतिलिटर मूल्य १४९ रुपियाँ परेकोमा त्यताबाट सलीसल्लासम्म ढुवानी प्रति लिटर पन्द्र रुपियाँ, तीन रुपियाँ तुईन तार्ने खर्च, साठी रुपियाँ सलीसल्लाबाट सिमकोटसम्म खच्चडको ढुवानी भाडा, २४ रुपियाँ ग्यालेनमा ल्याउन इन्धन नोक्सान हुने खर्च, तीन रुपियाँ अन्य खर्च र बीस रुपियाँ प्रति लिटर फाइदासमेत जोडिएको छ । 

त्यसैगरी, पेट्रोल प्रति लिटर ३०५ रुपियाँ निर्धारण गरिएको छ । ग्यास सिलिण्डरको प्रति सिलिण्डर ग्याँस भरेको असारदेखि असोजसम्म चार हजार छ सय रुपियाँ र बाँकी आठ महिनाको लागि चार हजार छ सय रुपियाँ निर्माण गरिएको छ । उहाँले अब यो मूल्यभन्दा माथि कुनै पनि व्यापारी इन्धन तथा ग्याँस विक्री गरेको पाइए कानुनको दायरामा ल्याएर कारबाही गरिने बताउनुभयो । 

हालसम्म जिल्लाभर एक मात्र राधिका आयल स्टोर रहेको र बाँकी दर्ता बिनै इन्धन तथा ग्याँस विक्री गरि रहेको पाइएकोले तीन महिनाभित्र दर्ताको प्रक्रियामा जानका लागि समय दिने, नगएको खण्डमा त्यसपछि विक्री गर्न रोक लगाउने निर्णय भएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दलहरु, जनप्रतिनिधि, व्यापारी, उद्योग वाणिज्य सङ्घ लगाएतका संस्थाहरुको सहभागिता थियो ।