• १२ मंसिर २०८१, बुधबार

कुटपिटपछि कर्मचारीले गरे सेवा बन्द

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असार २९ गते । सानीभेरी गाउँपालिकाका इन्जिनियर रेशम लम्सालमाथि आक्रमण गरेको आरोपमा सानीभेरी गाउँपालिका–३ का गोविन्द ओलीलाई प्रहरीले पक्राउ गरेको  । इन्जिनियर लम्सालले योजनाको लागत रकम कम मूल्याङ्कन गरेको भन्दै ओलीले कुटपिट गरेको बताइन्छ । सानीभेरी गाउँपालिका–९ स्थित सिम्ली बजारबाट कार्यालय जाँदै गर्दा इन्जिनियर लम्सालमाथि कुटपिट भएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीका अनुसार मुक्काले टाउकोमा र लात्तीले पेटमा हानेर इन्जिनियर लम्साललाई सडकमै लडाइएको थियो । लम्सालको निधारमा नीलडाम परेको छ । 

सानीभेरी गाउँपालिका–३ को बेल्टापु रङ्गशाला निर्माणको मूल्याङ्कनलाई लिएर इन्जिनियरमाथि कुटपिट भएको बताइन्छ । कर्णाली प्रदेश पूर्वाधार विकास अन्तर्गत रङ्गशाला निर्माणका लागि ५० लाख बजेट विनियोजन भएको थियो तर सो योजनाको ३६ लाखको मूल्याङ्कन गरिएको थियो । रङ्गशाला निर्माण समितिका अध्यक्ष ओलीले यही विषयलाई लिएर इन्जिनियर लम्सालमाथि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले जानकारी दिनुभयो ।

कुटपिट आरोपित तथा रङ्गशाला निर्माण समितिका ओलीका अनुसार मूल्याङ्कन विवादमा कुटपिट भएको होइन । सिम्लीमा निर्माण भइरहेको कभर्ड हलका विषयमा इन्जिनियर लम्सालले आफूले नभनेको कुरा कभर्ड हल निर्माण समितिमा हाल्दिएपछि विवाद भएको हो ।  प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले ओलीलाई तत्कालै नियन्त्रणमा लिइएको र पीडित पक्षबाट जाहेरी आए आवश्यक कारबाही अघि बढाइने बताउनुभयो । 

गाउँपालिकाको सेवा ठप्प

सानीभेरी गाउँपालिकाका कर्मचारीले इन्जिनियर रेशम लम्सालमाथि हातपात भएको घटनामा स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग राख्दै गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प पारेका छन् । 

कर्मचारीलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने अवस्था नभएको भन्दै कर्मचारीले सबै सेवा रोकेका हुन् । प्राविधिक मूल्याङ्कनमा नियमविपरीत गर्न दबाब दिने, लागत अनुमानबेगरको मूल्याङ्कन उठाउन दबाब दिने, नउठाए जे पनि हुन सक्ने भनी धम्की दिने जोसुकै भए पनि कानुनी कठघरामा उभिनुपर्ने कर्मचारीको माग छ ।