• १२ मंसिर २०८१, बुधबार

बदलौँ तालिमको ढाँचा

blog

हामीले हाल प्रयोग गरेका कतिपय एप, सफ्टवेयर र इलेक्ट्रोनिक साधन नियमित अध्यावधिक नगर्दा के हुन्छ ? काम नलाग्ने हुन सक्छन्। अर्थात् कम सान्दर्भिक बन्न पुग्छन्। यिनलाई सान्दर्भिक बनाउन कम्पनीले नै समय सापेक्ष अद्यावधिक हुने व्यवस्था गर्दछ। 

समाज वा सङ्गठनमा कार्यरत जनशक्तिको उमेरमा विविधता हुनु अस्वाभाविक भएन। पुरानो पुस्तासँग पुरानो अनुभव र नयाँ पुस्तासँग नयाँ ज्ञान बढी हुन सक्छ। नियमित अध्यावधिक नहुने हो भने पुरानो पुस्ता उमेर मात्र नभएर सोच र संस्कारमा पनि नयाँ पुस्ताभन्दा फरक हुन सक्छ। समयअनुसार अध्यावधिक नभएको मेसिन वा उपकरण जस्तै असान्दर्भिक हुन सक्छ। यसबाट कार्यशैलीमा बमेल मात्र होइन कि सङ्गठनको गति नै धिमा हुन पुग्छ। शैक्षिक प्रणालीले विद्यार्थीको चाहना र माग पूरा गर्न नसक्ने हुनाले विद्यार्थी उपयुक्त सिकाइबाट वञ्चित हुन पुग्छन्।

ज्ञानको सिर्जना र प्रविधिले गर्दा शिक्षाका विषयवस्तु र शैक्षणिक प्रक्रियामा परिवर्तन भइरहेको हुन सक्छ। यिनलाई सम्बोधन गर्न शिक्षा प्रणालीमा संलग्न अझ खास गरी शिक्षक निरन्तर अध्यावधिक भइरहनु पर्छ। शिक्षकलाई अध्यावधिक गर्नका लागि अवलम्बन गरिएका विभिन्न व्यवस्थामध्ये तालिम एक महत्वपूर्ण कार्य हो। 

शिक्षक तालिमलाई पूर्वसेवाकालीन र सेवाकालीन भनेर वर्गीकरण गर्ने प्रचलन छ। व्यक्ति सेवामा प्रवेश गर्नुपूर्व लिने योग्यताको उपाधि वा तालिमलाई पूर्वसेवाकालीन तालिम भनिन्छ भने कुनै व्यक्ति सेवामा प्रवेश गरिसकेपछि पाउने तालिमलाई सेवाकालीन तालिम मानिन्छ। यी तालिमका अवधि सरकारले परिभाषित गरेअनुसार हुने व्यवस्था छ। 

उच्च शिक्षामा स्नातक वा सोभन्दा माथिको शिक्षा विधाका कार्यक्रमलाई शिक्षक हुन सञ्चालित कार्यक्रम मानिन्छ। यस किसिमको शिक्षा लिने व्यक्ति अन्यत्र सेवा गर्न नपाउने भन्ने त होइन तर यो कार्यक्रम मूलतः शिक्षक, शिक्षक एजुकेटरका लागि हो, जसमा विषयवस्तु (कन्टेन्ट) र शिक्षण विधि दुवैमा जोड दिइन्छ। यी कार्यक्रम आफैँमा पूर्वसेवाकालीन तालिम कार्यक्रम हुन्। विगतमा १० महिना अवधिको पूर्वसेवाकालीन तालिम सरकार स्वयंले सञ्चालन गरेको थियो। सेवाकालीन तालिम कार्यक्रम सेवामा प्रवेश गरेपछि दिइन्छ, जुन विभिन्न समयावधिको हुन सक्छ।

नेपालमा शिक्षकको क्षमता कमजोर भयो। शिक्षाका कार्यक्रममा विषयवस्तु पुगेनन्। तालिम प्रभावकारी भएन। यी र यस्तै गुनासा विभिन्न छलफल तथा अन्तव्रिर्mयामा व्यक्त हुने गरेको पाइन्छ। वास्तविक अवस्था के कस्तो छ र कस्तो हुनुपथ्र्याे ? अध्ययनबाट प्राप्त हुन सकेको छैन। कारण जे होस् अवस्था कमजोर छ।

शिक्षकको क्षमता उच्च शिक्षाका कार्यक्रम अर्थात् पूर्व सेवाकालीन तालिम कार्यक्रमको स्तरमा भर पर्दछ। असल र योग्य शिक्षक पाउन सर्वप्रथम उच्च शिक्षाका कार्यक्रमको स्तर सुधार्नु पर्छ। यसलाई सान्दर्भिक बनाउनु पर्छ। 

विश्वका धेरै मुलुकमा शिक्षक बन्न चाहनेका लागि पूर्व सेवाकालीन तालिम दुई ढाँचामा उपलब्ध गराइएको पाइन्छ। पहिलो, उच्च शिक्षाका कार्यक्रममा शिक्षा विषय अध्यापन गराउने जसबाट शैक्षिक योग्यता र तालिम दुवै हासिल हुन्छ। दोस्रो, उच्च शिक्षाका शिक्षाबाहेकका अन्य जुनसुकै विधाको अध्ययन पश्चात् मात्र शिक्षक शिक्षा विकास कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था जसलाई विकसित मुलुकले अवलम्बन गरेका छन्। पहिलो ढाँचामा भन्दा दोस्रो ढाँचामा विषयवस्तुको मात्रा अधिक हुने भएकोले यसलाई प्रभावकारी मानिन्छ। 

मुलुकमा सञ्चालित विश्वविद्यालयमध्ये अधिकले शिक्षाका कार्यक्रम सञ्चालन गरेका छन्, जसका ग्य्राजुयट कानुनतः शिक्षक बन्न योग्य मानिन्छन्। तसर्थ योग्य शिक्षक पाउन यी ग्य्राजुयटको स्तर सुधार्नु पर्छ। कुनै अमूक विश्वविद्यालय मात्र नभई सबै विश्वविद्यालयका शैक्षिक कार्यक्रममा सुधार चाहिन्छ। यसका लागि सबै निकायको प्रतिनिधित्व हुने गरी संयन्त्र बनाई समन्वयात्मक ढङ्गबाट सुधारसम्बन्धी बहस र कार्य सुरु गर्न सकिन्छ तर सुधारका उपाय विज्ञको सुझाव वा अध्ययनको प्राप्तिबाट लिनु पर्छ।

दोस्रो, अब सेवाकालीन तालिमको परिभाषा र ढाँचा बदल्नु पर्छ। फेस टु फेस तालिमको विकल्प खोज्नु पर्छ। व्यक्ति अध्यावधिक हुन सरकार मात्र नभएर व्यक्ति स्वयंलाई जिम्मवार बनाउने पद्धति चाहिन्छ। सेवाकालीन शिक्षक तालिमका सन्दर्भमा देहायका उपाय उपयोगी हुन सक्छन्।

स्वअध्ययनमा प्रेरित गर्ने  अध्यावधिक हुन स्वअध्ययन अत्यन्त उपयुक्त साधन हो। यो कार्य नितान्त वैयक्तिक स्वभाव र आदतमा भर पर्दछ। भय, त्रास एवं आसले बाध्यकारी अवस्था सिर्जना गरे पनि यो कार्य दिगो नहुन सक्छ। अध्यावधिकताका लागि ऐच्छिक अवस्था महत्वपूर्ण हुन्छ, जसका लागि सकारात्मक सोच, प्रतिबद्धता र अध्यावधिक हुने चाहना चाहिन्छ। व्यक्तिलाई अध्ययन गर्नु पर्छ भनेर मात्र पुग्दैन, मोटिभेट पनि गर्न सक्नु पर्छ। घण्टौँ सामाजिक सञ्जाल र अनावश्यक कुराकानीमा बिताउन सक्ने व्यक्तिलाई पुस्तक वा उपयोगी सामग्री पढ्नमा लोभ्याउनु पर्छ।

साथै परियोजना कार्य, अनुसन्धान र चुनौती सामना गर्न लगाउने कार्य पनि उपयोगी हुन सक्छन्। यी कार्य सबैले गर्न नसक्ने पनि हुन सक्छन्। संलग्न हुन चाहनेलाई यस्तो अवसर प्रदान गर्दै जाने नीति अवलम्बन गर्न सकिन्छ।

भर्चुअल माध्यमबाट तालिम सञ्चालन गर्ने व्यक्तिमा रहेको ज्ञान सिप अध्यावधिक गर्न, तिनलाई अझ तिखार्न, समसामयिक बनाउन तालिम, छलफल एवं अन्तव्रिर्mया उपयोगी हुन सक्छन्। कोभिड १९ पश्चात् भौतिक उपस्थितिमा हुने कतिपय कार्यक्रम भर्चुअल माध्यममा सरेका छन्। नयाँ नयाँ साधन र उपकरणको प्रयोगले भर्चुअल माध्यमलाई थप प्रभावकारी बनाएका पनि छन् तर यसका लागि हाम्रो सोच र कार्यशैली बदल्न जरुरी छ। 

के भर्चुअल माध्यमवाट शिक्षक तालिम प्रभावकारी हुँदैन त ? तालिममा मास्टर प्रशिक्षक बनाएर क्यास्केड मोडल मात्र उपयुक्त हो र ? के एकै पटकमा ठुलो सङ्ख्याका सहभागीलाई तालिम दिनै नसकिने हो त ? के हालको प्रशिक्षक र प्रशिक्षण मोडलको विकल्प छैन त ? हामीले अहिले जे गरेका छौँ सो मात्र ठिक हो कि त्यहाँ अरू पनि विकल्प छन् ? सेवाकालीन शिक्षक तालिमका बारेमा माथि दिइएका र यस्तै थुप्रै अनुत्तरित प्रश्न छन् तर यसका लागि विकल्प खोज्नै पर्छ। प्रशिक्षकले भौतिक उपस्थितमा दिने तालिमको मोडलबाट अब बाहिर निस्कनु पर्छ। मुलुकमा तालिम व्यवस्थापन गर्ने संस्था चाहिएला। प्रशिक्षकको हकमा आवश्यकता अनुसार बजार, समाज र अन्य शैक्षिक संस्थाबाट अब्बल व्यक्तिलाई प्रयोग गर्ने ढाँचा लिनु पर्छ। अहिलेका प्रशिक्षकलाई तालिम व्यवस्थापकमा बदल्न सकिन्छ। भर्चुअल विधिबाट तालिम दिने काम अभियानको रूपमा सञ्चालन गर्न सकिन्छ।

हरेक वर्ष निश्चित अवधिको तालिममा सहभागी हुनै पर्ने मुलुकमा कार्यरत सबै शिक्षकलाई हरेक वर्ष शैक्षिक सत्रको सुरुमै निश्चित अवधिको तालिम दिने ढाँचा चाहिन्छ। लगभग दुई लाखभन्दा बढी शिक्षकलाई थोरै समयमा तालिम प्रदान गर्न भर्चुअल माध्यम नै प्रयोग गर्नु पर्छ। यस्ता तालिम निश्चित मापदण्ड वा खाका बनाई मोडुलमा आधारित बनाएर विद्यालय समयभन्दा बाहिर सञ्चालन गर्नु पर्छ।

प्रभावकारी योजना तर्जुमा र कार्यान्वयन  शिक्षक तालिमसम्बन्धी कार्य गर्न विद्यालय र शिक्षकसँग कनेक्टिभिटीको अवस्था के कस्तो छ ? कार्यरत शिक्षकमध्ये कति कनेक्टिभिटीको पहुँचमा छन् ? यसै गरी कस्तो तालिम दिने, कति अवधिको तालिम दिने, कुन कुन ढाँचमा तालिम दिने, कसले तालिम दिने, संयोजन के कसरी गर्ने, के कति स्रोत लाग्छ आदिका सम्बन्धमा योजना बनाएर कार्यान्वयन गर्नु पर्छ। साथै प्राविधिक जनशक्ति एवं तालिम प्रशिक्षकका सम्बन्धमा सङ्गठन भित्र र बाहिरका जनशक्ति मिलाइ रोस्टर बनाउन सकिन्छ। प्राविधिक जनशक्तिले बिनाअवरोध विभिन्न भर्चुअल माध्यम प्रयोग गर्न सहजीकरण गर्नु पर्छ।

अबका दिनमा योग्य शिक्षक बनाउनका लागि उच्च शिक्षाका शैक्षिक कार्यक्रममा पुनरवलोकन चाहिन्छ। सान्दर्भिक र उपयुक्त विषयवस्तु राख्ने र सोको निरन्तर अध्यावधिक हुने स्वचालित संयन्त्र बनाउन सक्नु पर्छ। सेवाकालीन तालिमको स्वरूप र ढाँचामा परिवर्तन चाहिन्छ। भर्चुअल माध्यमलाई अभियानको रूपमा सञ्चालन गर्नु पर्छ।

लेखक शिक्षा मन्त्रालयका सहसचिव हुनुहुन्छ।

  

Author

हरिप्रसाद लम्साल