• १२ मंसिर २०८१, बुधबार

उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन गरिने छ: मन्त्री शर्मा

blog

कृषकहरूलाई पुरस्कार वितरण गर्नु हुँदै मन्त्री शर्मा । तस्बिर: सहदेव बस्नेत

सहदेव बस्नेत 

जाजरकोट, असार २८ गते । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई अव उत्पादनको आधारमा प्रोत्साहन रकम  वितरण गरिने बत्ताउनु भएको छ । साथै किसानलाई उनीहरूको घरबारीमै गएर सम्मान गरिने पनि मन्त्री शर्माले बताउनु भएको छ ।

बिहीबार कृषि विकास कार्यालय जाजरकोटको आयोजनामा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार तथा प्रोत्साहन रकम वितरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।

‘आज मलाई गर्वको महसुस भइरहेको छ’ उहाँले भन्नु भयो, ‘यहाँ आएर किसानलाई सम्मान गर्ने अवसर प्राप्त भयो । मलाई लाग्थ्यो मन्त्रीलाई किसानले मात्र सम्मान गर्ने हामी कहिले गर्ने पाउँदैनौँ आज त्यो अवसर प्राप्त हुँदा म निकै खुसी छु ।’ आगामी दिनमा किसानको खेतबारीमै गएर सम्मान गर्ने वातावरण मिलाउन मन्त्री शर्माले आग्रह समेत गर्नु भयो ।

अहिलेको सरकाले किसानका लागि तालिम भवनको हलमा कार्यालयमा  नभएर फिल्डमा गएर गर्नु पर्ने नीति ल्याएको समेत जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले उत्पादन एक, स्वामित्व अनेक सहितको नारा लगाई  किसानले उत्पादित उपजको बजारको समस्या हल गरिने मन्त्री शर्माको भनाई थियो । 

कार्यक्रममा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार तथा प्रोत्साहन रकम  अन्तरगत बेमौसमी तरकारी खेतीमा आधारित कृषक प्रोत्साहन तर्फ १९ जनालाई प्रति व्यक्ति २० हजार रुपियाँका दरले वितरण गरिएको थियो ।  कलमी बिरुवा विक्री परिमाणका आधारमा सात जना कृषकलाई नौ हजार देखि एक लाख रुपियाँ सम्म वितरण गरिएको थियो । 

त्यस्तै मुख्यमन्त्री उत्कृष्ट कृषक सम्मान तथा पुरस्कार तर्फ चार जना किसान लाई प्रति किसान १० हजार रुपियाँ र एक वटा सहकारीले १० हजार रुपियाँ पाएका छन् ।