खलङ्गा समाचारदाता
जाजरकोट, असार २८ गते । छेडेगाड नगरपालिकाले गर्भवती महिलाले स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गरेपछि एक क्रेट अन्डा दिने निर्णय गरेको छ।
शतप्रतिशत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउने वातावरण तयार गर्न गर्भ जाँचपछि अन्डा वितरण गर्न थालिएको हो। आमा र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले कम्तीमा आठ पटक गर्भ जाँच गराउनु पर्ने व्यवस्था गरेको छ। भौगोलिक विकटता दुर्गम गाउँबस्तीका महिला स्वास्थ्य संस्था पुग्न नसक्दा घरमै असुरक्षित सुत्केरी गराइँदा आमा र बच्चाको ज्यान जोखिममा पर्दै आएको छ। गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्ने वातावरण निर्माण गर्न साउन १ देखि लागु हुने गरी अन्डा वितरण अभियान थालिएको हो।
छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन, पोषणमा सुधार ल्याउन, स्वास्थ्य संस्थामा गर्भ जाँच गरेपछि गर्भवती महिलालाई एक क्रेट अन्डा र पोषणयुक्त सामग्री प्रदान गरिने छ। सो कार्यक्रम सञ्चालन गर्न बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सङ्घीय सरकारबाट प्राप्त १३ लाख रुपियाँ स्वास्थ्य शाखाबाट खर्च गरिने छ।
छेडेगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर रोकायका अनुसार ग्रामीण बस्तीका महिलाले पोसिलो खानेकुरा नपाउँदा आमालाई विभिन्न रोगको सङ्क्रमण हुने अवस्थाले बच्चा र आमाको स्वास्थ्यमा समस्या ल्याएको त्यसमा सुधार गर्न सो अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो। गत साउनदेखि जेठसम्म ४८५ जनाले स्वास्थ्य संस्थामा आई गर्भ जाँच गरेका थिए।