• १२ मंसिर २०८१, बुधबार

जिपिए मापनको बुझाइ

blog

सन् १९९० देखि सुरु भएको कक्षा १० को परीक्षाको आफ्नै इतिहास छ। शाब्दिक रूपमा उहिलेको एसएलसी अचेल एसइई भएको छ। सुरुवातदेखि नै यसलाई फरक र महत्वपूर्ण ढङ्गले हेर्दै आइयो। यही तहको परीक्षालाई विगतदेखि नै इज्जत र प्रतिष्ठाको विषयमा बनाइँदै आइएको छ, चाहे त्यो विद्यालयमा पढाइने सन्दर्भमा होस् कि विद्यालयमा विद्यार्थी पढ्ने प्रक्रिया होस्। अथवा विधालयले आफ्नो विज्ञापन र मूल्याङ्कन गर्ने आधार यसैलाई बनाइँदै आएका छन्। 

अभिभावक सन्तानले यही तहमा ल्याएको प्रतिशत वा जिपिएलाई नै आधार बनाउँदै समाजमा फूर्ति लाउने विषय पनि यसैलाई नै बनाइँदै आइएको छ। कुनै समयमा यो तहको परीक्षालाई यति कठिन र सकसपूर्ण बनाइँदै आएको थियो कि कक्षा १० सुरु भएदेखि नै घर छोडेर अलग्गै बसेर पढनु पर्ने। विद्यालयको पढाइ नपुगेर बिहान विद्यालय सुरु नहुँदै ट्युसन र विद्यालय सकिने बित्तिकै ट्युसन पढनु पर्ने बाध्यता सिर्जना गरिएको थियो। 

परीक्षामा चिट चोर्ने चोराउने नाममा आपराधिक घटना भएका थुप्रै उदाहरण छन्। यो तहको परीक्षा पास गर्नु भनेकै जीवनका थुप्रै सम्भावनाका ढोका खुल्नु र जिन्दगी बाँच्नुको सार्थकता हुन्छ भन्ने भाष्य निर्माण गरिएको थियो। फलामे ढोका भनिन्थ्यो उहिले एसएलसीलाई वास्तवमै यो फलामे ढोका थिएन शैक्षिक तहको एउटा मापकलाई यही समाजले फलामे ढोका बनाइदिएको थियो। 

यही ढोकाबाट प्रवेश गर्न नपाएर धेरैले आफ्नो जिन्दगीकै ढोका बन्द गरीदिएका थुप्रै इतिहास हाम्रासामु छन्। केही दिनअघि यो वर्षको कक्षा १० अर्थात् एसइईको नतिजा सार्वजनिक भएको छ। शैक्षिक क्षेत्रमा फेरि एक पटक शैक्षिक सुधार र शिक्षाको गुणस्तर, विषय छनोटलगायत विषयमा चर्चा परिचर्चा सुरु भएको छ, शिक्षासँगका सरोकारवालाले आ–आफ्ना तर्क प्रस्तुत गरिरहेका छन्।

जिपिए मेहनतको मापक 

जब–जब एसइईको परीक्षाफल प्रकाशित हुन्छ, परीक्षाफल प्रकाशित भएसँगै विद्यार्थीले प्राप्त गरेको  जिपिएमाथि बहस र टीका–टिप्पणी सुरु हुन्छ। अभिभावक आफ्ना बालबालिकाले ल्याएको  जिपिएलाई आधार बनाई अब्बलतालाई कमजोर कोणबाट व्याख्या गर्छन्। अभिभावक  जिपिएलाई नै समाजमा इज्जत–प्रतिष्ठाको विषय बनाउँछन्।

विद्यार्थी स्वयम् प्रफुल्लता र हीनताको बोधको कारण पनि  जिपिएलाई बनाउँछन् तर  जिपिए न प्रतिष्ठाको विषय हो न त अब्बलता र दुर्बलताको सूचक हो।  जिपिए मात्र मेहनतको मापक हो। अहिले पनि विद्यार्थी अन्य कक्षाभन्दा कक्षा १० मा अलि बढी मेहनत गर्छन् र बढी  जिपिए ल्याउन चाहन्छन्, त्यसैले बढी महेनत गर्न सक्नेले अलि बढी  जिपिए ल्याउँछन् र कम मेहनत गर्नेले कम  जिपिए ल्याउँछन्।

त्यसैले परीक्षामा आएको  जिपिए भनेको विद्यार्थीले गरेको मेहनतलाई मापन गरेर कागजमा उतारेको सङ्केत मात्र हो। अभिभावक विद्यालय र विद्यार्थीको तर्फबाट यसलाई यही कोणबाट बुझेर व्याख्या गरियो भने विद्यार्थीको आगामी बाटो सङ्कोचमुक्त हुन सक्छ।  जिपिएलाई मेहनतसँग जोड्यो भने बढी  जिपिए ल्याउने विद्यार्थीले आफ्नो मेहनतलाई निरन्तरता दिन्छ र कम  जिपिए ल्याउनेले थप मेहनत गर्छ।

 जिपिएका कारण विभेदको आभास नहोस्

कुनै पनि विद्यालयको शैक्षिक गुणस्तर विद्यालयको शैक्षिक प्रगति र विद्यालयको उत्कृष्टताबारे सूचित गराउने विभिन्‍न आधारमध्ये विद्यालयमा उत्तीर्ण विद्यार्थी सङ्ख्या पनि एक हो, अर्थात् विद्यालयबाट कति विद्यार्थी परीक्षामा सम्मिलित थिए र सोमध्ये कति सङ्ख्यामा विद्यार्थी अघिल्लो तहका लागि योग्य भए भन्‍ने विषयलाई विद्यालयले 

मूल्याङ्कनको मुख्य आधार बनाउँदै आएका छन्। विद्यालय सञ्‍चालक र व्यवस्थापन समितिहरूले विद्यालयको प्रचार र विज्ञापन गर्दा पनि विद्यार्थी उत्तीर्ण सङ्ख्यालाई नै आधार बनाउँदै आएका छन्। 

पछिल्लो समय ठुला–ठुला होडिङ बोर्डमा पत्रपत्रिका र डिजिटल माध्यमबाट विद्यालयको प्रचार गर्दा विद्यार्थीलाई बधाई दिँदा एसइईमा उत्तीर्ण विद्यार्थीको फोटोसहित उत्तीर्ण सङ्ख्यासँगै विद्यार्थीले प्राप्त गरेको  जिपिएसहित राख्‍ने प्रचलन छ। कही कतै त बढी  जिपिए ल्याउने विद्यार्थीको पहिले ठुलो फोटो र कम  जिपिए ल्याउने विद्यार्थीको सानो फोटो क्रमशः राखी विज्ञापन गरीएको र बधाई दिइएको हुन्छ। यसरी विज्ञापन गर्दा बधाई दिँदा आफैँले पढाएका विद्यार्थी कसैलाई अब्बल र कसैलाई कमजोर देखाउने गरी गरिएको प्रचार, विज्ञापन बधाईबाट विद्यार्थी विद्यार्थीबिच विभेद गरिएको आभास हुन्छ। त्यसैले यो कुरामा पनि ध्यान दिनु पर्छ।

 जिपिए मात्र विषय छनोटको आधार होइन 

परीक्षाफल प्रकाशित भइसकेपछि विद्यार्थी र अभिभावक अन्योलमा हुन्छन्, कुन शिक्षालयमा कुन विषय पढ्ने र पढाउने भन्‍ने सन्दर्भमा। विद्यार्थीलाई विषय छनोटको सन्दर्भमा शिक्षक, अभिभावक, आफन्त शुभचिन्तक र प्रायः सबैले विषय छनोटको अधार बनाउने भनेको विद्यार्थीले हासिल गरेको उहिलेको प्रतिशत अहिलेको  जिपिए हो। पहिलेदेखि नै बढी  जिपिए ल्याउनेले विज्ञान पढ्ने हो र कम  जिपिए ल्याउनेले त्यसपछि क्रमशः अरू विषय पढ्ने हो भन्ने मान्यता जबरजस्त रूपमा स्थापित गरिदिएका छन्। 

बढी  जिपिए ल्याएको विद्यार्थीले विज्ञान पढ्न चाह्यो र पढ्न सुरु ग¥यो भने अनेकन प्रश्न सामना गर्दै हिँड्नुपर्ने हुन्छ। कम  जिपिए वा प्रतिशत ल्याएको विद्यार्थीले विज्ञान पढ्ने सोच बनाएर पढ्न थाल्यो भने अनेकन शङ्काले घेरिनुपर्ने र उसको क्षमतामाथि प्रश्न गरिन्छन्। विद्यार्थीको विषय छनोटको आधार  जिपिए र प्रतिशत मात्र होइन। विद्यार्थीले विषय छनोट गर्दा विद्यार्थी स्वयम्को रुचि, भविष्यको सपना नै महत्वपूर्ण पक्ष हो, त्यसैले विषय छनोट गर्दा  जिपिएलाई मात्र आधार मान्‍नु हुँदैन। 

वर्तमानको कमजोर भोलि बलियो 

वर्तमानको नतिजालाई मात्रै आधार मानेर भविष्यको व्याख्या गर्नु हुँदैन। भविष्यको यात्रा तय गर्नु हुँदैन अर्थात् वर्तमानमा ल्याएको  जिपिए वा प्रतिशतलाई आधार बनाएर उसको भविष्य पनि यस्तै हुने छ भनेर ठोकुवा गर्नु हुँदैन। एउटा कोणबाट व्याख्या गर्दा परीक्षा प्राविधिक पाटो हो, पर्याप्त मेहनत गर्दागर्दै प्राविधिक रूपमा कहीँकतै कमजोरी रहेका कारण नतिजा अलि कम देखिएको हुन सक्छअर्थात् सबै ज्ञान हुँदाहुँदै परीक्षामा प्रस्तुत गर्न नसक्दा नतिजा कमजोर देखिन सक्छ। त्यसैले वर्तमानमा नतिजा कमजोर आयो र अब यसको बाटो यो मात्र हो भन्‍ने स्थितिमा अब दायाँबायाँ जान सक्दैन भनेर निक्र्याेल निकाल्नु हुँदैन। वर्तमानको नतिजा बढी ल्याएको नतिजाकै आधारमा लहैलहै र उक्साहट र रुचिभन्दा बाहिरको विषय अँगालेको तर भविष्यमा असफलता नै असफलता बेहोर्दै सम्हाल्नै नसक्ने गरी जिन्दगी डामाडोल भएको पनि उदाहरण छन्। 

परीक्षाफल प्रकाशित भएपछि सन्तानले प्राप्त गरेको नतिजाका अनुसार अभिभावक उत्साहित र निराश हुने गर्छन्। कुनै पनि अभिभावकले आफ्नो सन्तानले नतिजा राम्रो ल्याओस् अर्थात् बढी  जिपिए ल्याएर उत्तीर्ण होस् भन्‍न चाहन्छन्। अभिभावकको चाहना आफ्नो सन्तान भविष्यमा राम्रो गरोस् समाजमा इज्जतिलो र गरिखाने पेसामा संलग्न होस् भन्‍ने चाहन्छन्। त्यसै अनुसार सन्तानलाई विषय छनोट गराउन लगाउँछन्।  यो सँगसँगै सन्तानले प्राप्त गरेको  जिपिएलाई हेरेर आफैँ विषय छनोट गर्छन्। कहिलेकाहीँ अभिभावक सन्तानले ल्याएको  जिपिएलाई देखाएर आफ्नो केही आफ्नो इच्छा र केही समाजको सुझाव सुनेर सन्तानको रुचि र इच्छाविपरीत विषय छनोट गरी दिएका हुन्छन्। अर्कोतर्फ विद्यार्थीले परीक्षामा ल्याएको  जिपिएलाई आधार बनाएर बढी  जिपिए ल्याउनेले के पढ्ने क्रमशः त्योभन्दा कम  जिपिए ल्याउनेले के पढ्ने भन्ने कुरा समाजले नै एउटा मान्यता स्थापित गरिदिएको हुन्छ। 

लेखक पत्रकारिता पेसामा आवद्ध हुनुहुन्छ।   

Author

टेकराज अवस्थी