कार्यालयको कामसँगै देशभित्रका महत्वपूर्ण स्थानमा पुग्ने क्रममा २०८० जेठको अन्तिम दिन समयले डो-याएर जनज्योति माध्यमिक विद्यालय बड्डीचौर, सुर्खेत पु-यायो। विद्यालयको समग्र अवलोकन एवं छलफलपछि लाग्यो कि यहाँका प्रेरणादायी प्रसङ्ग यथासम्भव पाठकसमक्ष पु-याउनु पर्छ, जसको प्रतिफलस्वरूप यो आलेखमा सो विद्यालयले लिएको अग्रसरतालाई शब्दमा उनेर यहाँहरूसमक्ष पेस गरेको छु ।
व्यावसायिक उत्पादनका लागि व्यावहारिक सिकाइ
जब पढाइ र सिकाइले जीवन बोल्न थाल्छ अनि मात्र हाम्रो घरपरिवार र समाज उत्पादनसँग जोडिन्छ। मेहनत र अनुशासन कक्षाकोठामा घोकाएर मात्र हुँदैन, सिपसहित व्यवहारमा उतार्न सक्षम बनाएर अनि गराएर पुष्टि गर्नु पर्दछ । यही विषयको ज्वलन्त नमुना उदाहरण बनेको छ – सुर्खेत जिल्लामा पर्ने बराहताल गाउँपालिका–५, बड्डीचौरमा पर्ने जनज्योति माध्यमिक विद्यालय । यो विद्यालय अहिले अन्य विद्यालयका लागि मात्र हैन, विकास साझेदार, स्थानीय तहका लागिसमेत सिकाइको केन्द्र बन्न पुगेको छ । यहाँबाट प्राविधिक शिक्षा उत्तीर्ण गरेकाहरूले कि त प्राविधिक सहायकका रूपमा काम गरेका छन् कि त अरूलाई व्यवसाय गर्न सिकाएका छन् कि त आफैँ व्यवसायी बनेका छन् ।
जनज्योति माध्यमिक विद्यालयमा एक हजार ३०० जति विद्यार्थी साधारण धारतर्फ अध्ययनरत छन् भने १८ महिने र तीनवर्षे कृषि तथा भेटनरी कक्षा पनि चल्दै आएको छ। खास गरी प्राविधिक धारतर्फका विद्यार्थीले उनीहरूको दैनिक जीवनमै व्यावसायिक अभ्यास गर्दै जाँदा जनज्योति माविको नाम पनि चर्चामा आउन थालेको हो । त्यसमाथि प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले आफ्नो विद्यालयका साधारणतर्फका विद्यार्थीका लागिसमेत काम सिक्ने, गर्ने र कमाउने वातावरण मिलाउनु भयो; जसकै कारण देशभर पढ्दै कमाउँदै अभियानले चर्चा पायो । गरेर सिक्ने र जीविकासँग शिक्षालाई जोड्ने शिक्षाका रूपमा जनज्योति माध्यमिक विद्यालयको अभ्यासमा आधारित पढ्दै कमाउँदै अभियान सञ्चालनमा आएको पनि दुई वर्ष पूरा भएको छ ।
प्रधानाध्यापक नारायणप्रसाद सिग्देल
शिक्षक र सामाजिक अगुवा मात्र नभई प्रयोगसिद्ध परिणामबाट पहिचान कमाएका व्यक्ति हुन् – नारायणप्रसाद सिग्देल। ठुलो सङ्ख्याका राजनीतिक, प्रशासनिक वा अन्य क्षेत्रका जिज्ञासु महानुभावको अगाडि उभिएर मात्र २० मिनेट आफ्नो कुरा राख्न पाउनुभयो भने प्रधानाध्यापक तथा अभियन्ता सिग्देलले बोलेका विचार र प्रस्तुत गरेका सन्दर्भले सबैको दिल दिमाग छुन्छ । गरेमा के हुन्न र ! भन्ने भाव पैदा हुन्छ । उहाँको जीवनका केही व्यक्तिगत मान्यता पनि छन् ।
हामी आआफ्नो क्षेत्रमा काम गरिरहँदा बहानाको होइन, चाहनाको फाइल खोलेर निरन्तर लागिपर्नु पर्छ। राम्रो काम गरेर विश्वास दिलाउन सकियो भने सहयोगको वर्षा सुरु हुन्छ तर सहयोग पाएपछि मात्र काम सुरु गर्छु भन्यो भने विश्वास जित्न गाह्रो पर्छ । जिब्रो मात्र हैन कि जीवन बोल्नु पर्छ । बहाना नबनाई मेरो, तेरो, त्यो दलको, यो दलको नभनी काम गरेकै कारण उहाँको अभियानमा संलग्न भएका सबै खुसी देखिन्छन् । विद्यालय परिवार पनि नारायण सरलाई प्रधानाध्यापकको जिम्मेवारीमा देखिरहन चाहन्छ । उता विद्यालय सञ्चालक समितिमा पनि स्थायित्व छ भन्ने विगत ५० वर्षमा तीन जना मात्र अध्यक्ष भएबाट पुष्टि हुन्छ ।
जनज्योति माध्यमिक विद्यालय बड्डीचौर, सुर्खेत
प्रअ सिग्देलका अनुसार हाम्रा बस्तीहरूमा आगलागी भयो भने दमकल पुग्छ, मान्छे बिमारी भयो भने एम्बुलेन्स उपलब्ध छ तर कतै जग्गा बाँझो वा अलपत्र रह्यो भने के पुग्छ ? अब जवाफ खोज्नुपर्ने भएको छ। त्यस्तै जसरी उद्योग, कलकारखानाका उत्पादन बजारमा बिकेन भने चिन्ताको विषय हुन्छ, त्यसै गरी स्कुल–कलेजबाट उत्तीर्ण गरेको व्यक्तिले काम पाएन वा काम गर्न सकेन भने झनै चिन्ता हुनुपर्ने हैन र ? यसको जवाफ पनि हामीले नै खोज्ने हो। कसैलाई पनि शिक्षाको उज्यालोबाट वञ्चित गर्नु हुँदैन। तसर्थ जनज्योति माध्यमिक विद्यालय आग्रह गर्दछ, “विद्यालयमा पढ्न आऊ, पैसा छैन भने कमाएर तिरौला किनकि तिम्रो पाखुरामा पैसा झुन्डिएको छ।”
विद्यालयले आर्जन गरेको मुख्य सम्पत्ति भनेका अरू केही वा कोही नभएर पढाइसँगै सिप सिकेर व्यवसाय सञ्चालन गर्न सक्षम भएका विद्यार्थी हुन्। स्कुल पढ्दै गरेकी एक छात्रा एकै सिजनमा १५४ किलोग्राम धनिया बेच्न सफल भइन्, कसैले कुखुरा, कसैले बङ्गुर त कसैले तरकारीबाट आर्जन गरेको सुन्न पाइयो । अभिभावक पनि प्राविधिक सहायतासहितको सहजीकरण विद्यालयबाट प्राप्त गरेर खुसी छन्। धेरै जसो विद्यार्थीले आफ्नो घरपरिवारलाई व्यवसायसँग जोड्न सकेको हुँदा जीविकोपार्जन र पोषणको अवस्थामा समेत सुधार भएको विद्यालयको ठम्याइ रहेको पाइयो।
जनज्योति माध्यमिक विद्यालयबाट उत्तीर्ण केही विद्यार्थी त तीक्ष्ण क्षमता भएकै कारण नोकरीमा लागेका एमबीबीएस अध्ययन गरेका पनि छन्। योबाहेक विद्यालयको सम्पत्तिका रूपमा भाडामा लिएको पाँच रोपनी जग्गा मात्र छैन, एक लाख माछा, १०० जति बाख्रा, ८४ घार मौरी, हजारौँ कुखुरा, बङ्गुर, टनेलमा फलेका तरकारी, जडीबुटी प्रशोधन मेसिन, पोते बुन्ने, डोको बुन्ने सामग्रीहरू पनि विद्यालयमै छन्। विद्यालयमा खेतीमा प्रयोग हुने ट्याक्टर पनि छ। किसानको माग अनुसार सहुलियत शुल्कमा यसको प्रयोग भइरहेको छ। ‘हिसाब, पिसाब र निसाफ सफा हुनु पर्दछ’ भन्ने मान्यता अनुसार ब्रान्चलेस बैङ्किङ सेवा पनि विद्यालय परिसरमा सञ्चालित छ।
बङ्गुरपालन र तरकारी खेती
हामी जति बेला सुर्खेत हुँदै बड्डीचौरको बस बिसौनीमा पुग्यौँ, विद्यालयको बाहिर हामीलाई प्रतीक्षा गरिरहनुभएको थियो, उही चुस्त शरीर र उज्यालो अनुहार भएका प्रअ सिग्देल। मूल गेटबाट नभएर विद्यालयको व्यवसाय सञ्चालन भएको ब्लकतर्फ सिधै लैजानु भएछ हामीलाई। त्यसैले त एकै पटक माछापालन भएको पोखरी, मेन्था खेती भएको खेतको गरा, कुखुरापालन, बङ्गुरपालन भएका सेड लहरै रहेको ठाउँमा पुगियो। नजिकै मेन्था, लेमन ग्रासलगायतका औषधीय गुण भएका बिरुवा प्रशोधन गरी औषधीय झोल बनाउने मेसिन पनि हेरियो। छिर्केमिर्के, रातो, कालो रङसहितका कुखुरा झन्डै २०० जति बाहिर चौरमा चरिरहेका छन्। कुखुराको व्यवस्थित खोर पनि नजिकै छ।
पशुविज्ञानको कोर्स पढ्दै गरेकी एक छात्रा त्यति बेला कुखुरा चराउने पालोमा रहिछन्। कुखुरापालनको समूह विभाजन रहेछ, जस अनुसार पालैपालो काममा आउने रहेछन्। अलि पर लाम्चो आकारको पानीसहितको पोखरी देखियो। नजिकै माछा मारेर टोकरीमा जम्मा गर्दै गरेको पनि रहेछ। कोही आगन्तुक आइपुग्यो भने कि त तिनै प्रअ सिग्देलले व्याख्या गर्नुहुन्छ कि सम्बन्धित कोर्सका पालोमा भएका छात्र वा छात्राले अनुभव सुनाउँछन्।
समुदायसँग जीविकोपार्जनको नाता गाँस्दै विद्यालय
विद्यालयले अघि बढाएको व्यावसायिक सिप विकास र कृषि तथा पशुपालनको जागरणले समाजमा निकै राम्रो प्रभाव पारेको रहेछ। विद्यालयले विभिन्न दाताले दिएको सहयोगबाट एउटा व्यावसायिक कोष बनाएको र कोही विद्यार्थी वा निजका अभिभावकले कुनै व्यावसायिक काम गर्ने लिखित प्रस्ताव ग¥यो भने पाँच हजारदेखि एक लाख रुपियाँसम्म बिनाब्याजी बिउ पुँजी उपलब्ध गराउँदै आएको जानकारी पाइयो। सबैको व्यवसाय सधैँ राम्रो नै हुन्छ भन्ने छैन तथापि समग्रमा शिक्षासँगै सिकाइ र कमाइ गर्ने वातावरण सिर्जना भएको छ।
बिउ वा बेर्ना उपलब्ध गराउने पसल र मह, अचार, च्याउ बेच्ने पसल पनि विद्यालयको प्राङ्गणमै रहेछ। सोही पसलमा हामीले पनि केही चिज किन्यौँ। साथसाथै विद्यालयमा उपलब्ध हुने अन्य उत्पादनको सूचना पाटी पनि विद्यालय प्रवेशद्वारसँगै देख्न सकिन्थ्यो। विद्यालयसँगै छात्रावास पनि रहेछ। माछा र कुखुराबाहेक ताजा तरकारी, गुन्द्रुक जस्ता चिजबिज पनि काउन्टरमा राखिने रहेछ। विद्यालयको जग्गामा भएका र विद्यालयकै सहजीकरणमा व्यावसायिक कामको प्राविधिक रेखदेख गर्ने व्यवस्था पनि विद्यालयले मिलाएको छ। विद्यालयदेखि अलि पर रहेको बजारमा विद्यालयले संयोजन गरेको सिपमूलक तालिम लिएर चुरा पोते, थाकलबाट बनेको झोला, टोपी बनाउने र बेच्नेसमेत व्यवसाय सञ्चालन गरेका पूर्वविद्यार्थीलाई समेत भेटियो। उनीहरू पनि आफ्नो सिकाइ अनुसारको पेसा अँगालेकोमा खुसी देखिन्थे।
बाख्रा, मौरी, माछा, कुखुरा, तरकारी, च्याउ, बट्टाई, हाँस, टर्की, बङ्गुर, जडीबुटीलगायतका आयआर्जनका स्रोतमा विद्यालयले व्यावसायिक योजनामार्फत विद्यार्थी र उनका अभिभावकलाई सहजीकरण गरिरहेको जानकारी पाइयो। जनज्योति व्यावसायिक क्लबले व्यवसायको सम्भाव्यता अध्ययन गरेर मात्र स्वीकृत गर्ने वा नगर्ने
टुङ्गोमा पुग्ने रहेछ। समुदाय र विद्यालयको सुमधुर सम्बन्ध कायम गर्नु, विद्यार्थीलाई सानैबाट कामप्रतिको भोक जगाउनु विद्यालयको दुरगामी सोच हो भन्न सकिन्छ। सरकारी र गैरसरकारी सङ्घसंस्थासँगको प्रगाढ सम्बन्ध कायम राख्नु पनि जनज्योतिको सफलता हो। अहिले त सहकार्यको तह देशभित्र मात्र सीमित नरही बाहिरसमेत पुगेको छ। केही दातृ संस्थाले जनज्योतिमा सहयोग रकम उपलब्ध गराउनेदेखि उत्पादित जनशक्ति प्रयोगका लागि लिनेसम्मका प्रतिबद्धता जनाइसकेका छन्।
मेहनत गर्दा पनि भाँती मिल्नु पर्छ
प्रअ सिग्देलको अर्को एउटा तर्क पनि छ। विद्यालयबाट सिप सिकेका विद्यार्थीले सर्च, रिसर्च र खर्च गर्नु पर्दछ। जथाभावी लगानी गर्ने नभई स्थानीय माग र आफ्नो सिपबिच सन्तुलन ल्याउनु जरुरी छ। सुरुमा सानो खर्च गरेर व्यवसाय थालनी गरेको खण्डमा असफल हुँदासमेत पुनः तङ्ग्रिन गाह्रो हुँदैन। एउटा घरमा प्रयोग हुने भ¥याङकै उदाहरण लिऊँ। भ-याङको तल्लो खुड्किलोबाट लड्नु र माथिल्लो खुड्किलोबाट लड्नुमा कति फरक हुन्छ ?
हाम्रो समाजमा कामलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आवश्यक छ। पहिलेदेखि नै हाम्रो गाउँघरमा स्कुल पढ्ने केटाकेटीलाई “पढ है पढ नपढे हलो जोत्नुपर्ला” भन्ने गरिएको थियो तर डोको बुन्ने, हलो जोत्ने पनि सिप हो, सिक्दा काम लाग्छ भनिएन। यो त्रुटिपूर्ण सिकाइ भयो। विद्यार्थीको दैनिकीको सम्बन्धमा कुरा गर्दा छ घण्टा स्कुलमा पढ्ने, छ घण्टा पब्जी खेल्ने हैन कि सब्जीको काम गर्ने, छ घण्टा पढ्ने र घरको काममा सघाउने र बाँकी छ घण्टा आराम गर्नुपर्ने उहाँको तर्क छ। जनज्योतिको उत्पादनमूलक अभियानको भित्री मनसाय भनेको अरू केही नभएर समुदाय र विद्यालयको सम्बन्ध सुमधुर बनाउनु, विद्यार्थीलाई जीवनमा आइपर्ने कामका लागि भोक जगाउनु र सरकारी तथा गैरसरकारी संस्थासँगको सम्बन्ध प्रगाढ बनाउनु रहेको उनै प्रअ सिग्देलको भनाइ छ।
निष्कर्ष
सिप विकास र उत्पादनका लागि उज्यालो छर्ने कार्य गरेर साँच्चिकै जनज्योतिले नाम अनुसारकै काम गरेको छ । जुनसुकै अर्थव्यवस्था अपनाएको भए पनि उत्पादन र उत्पादकत्व वृद्धिबिना मुलुकमा समृद्धि सम्भव छैन। जहाँ जहाँ समूह छ, त्यहाँ त्यहाँ त्यो समूहलाई सिप दिएर र सानो पुँजी उपलब्ध हुने वातावरण बनाइदिएर व्यवसायमा संलग्न गराउन सकियो भने स्वरोजगार बढ्छ। सिपयुक्त जनशक्तिले जहाँकहीँ गएर पनि सम्मानित रूपमा काम गरी अर्थोपार्जन गर्न सक्छ।
यही मर्मलाई अनुसरण गरेर सुर्खेत, बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयले प्राविधिक धारको कक्षा सञ्चालनसँगै साधारणतर्फका विद्यार्थी तथा अभिभावकलाई समेत आम्दानीसँग जोड्ने पहल ग¥यो। यही विषयले राष्ट्रभरि चर्चा पाएर अहिले पढ्दै कमाउँदै अभियानका रूपमा चिनिन पुगेको छ। यो विषयलाई उठान गर्ने उक्त विद्यालयका प्रधानाध्यापक सिग्देल र उहाँको समग्र टिमप्रति हामी सबै कृतज्ञ रहनुपर्ने महसुस भयो। यस खाले व्यावसायिक उत्पादनको अभियानले राष्ट्रव्यापी रूप लिनु पर्छ र मुलुकभित्र रहेका साना र सम्भाव्य उत्पादनका पक्षलाई सबै पक्षको सहयोगबाट उपयुक्त पारिस्थितिक प्रणाली बनाउनु पर्दछ। जनज्योतिले छरेको व्यावसायिक सिकाइको उज्यालो देशभर पुगोस् यही शुभकामना।
लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव हुनुहुन्छ।