• २३ वैशाख २०८१, आइतबार

व्यावसायिक बाख्रापालनतर्फ आकर्षण

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, असार २८ गते । ओखलढुङ्गाका किसान पछिल्लो समय बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरू आधुनिक बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका हुन् । 

परम्परागत शैलीमा बाख्रा पाल्दै आएका चम्पादेवी गाउँपालिका–१, पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको व्यापक सुधार गर्नुभएको छ । आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो वृद्धि भएको श्रेष्ठले बताउनुभयो । 

उहाँले अहिले ४० वटा बाख्रा पाल्नुभएको छ । सोही स्थानका घनबहादुर श्रेष्ठले पनि बाख्राका लागि आधुनिक खोर बनाउनुभएको छ । आधुनिक खोरमा बाख्रालाई घाँसपानी दिन सहज, घामपानीबाट ओतको राम्रो व्यवस्था र सरसफाइका लागि सजिलो हुने गरेको उहाँहरूको अनुभव छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ ओखलढुङ्गामार्फत जिल्लाका तीन स्थानीय तहमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरेको छ । 

मानेभन्ज्याङ, सुनकोशी र चम्पादेवी गाउँपालिकाको केही वडामा यो कार्यक्रम लागु गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा परियोजनामार्फत जिल्लामा २५ वटा बाख्रापालक किसानले अनुदान लिनुभएको छ । 

हाल जिल्लामा बाख्रा जोन अन्तर्गत १५० किसानले व्यावसायिक बाख्रापालन गरिरहेका छन् । कार्यक्रममार्फत बाख्रापालक किसानलाई खोर सुधार, नस्ल सुधार, रोग व्यवस्थापन र बजारीकरणका लागि तालिम तथा अनुदान सहयोग गर्ने गरिएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । आधुनिक बाख्रा खोर निर्माण गर्न किसानलाई एक लाख २८ हजारका दरले अनुदान उपलब्ध गराइएको प्रमुख पौडेलको भनाइ छ ।