• ९ साउन २०८१, बुधबार

महिला मजदुरको भरमा रोपाइँ

blog

रोपाइँमा व्यस्त महिला मजदूरहरु । तस्बिर : गोरखापत्र

जीवछ यादव

लहान, असार २७ गते । असार १५ गतेदेखि सुरु भएको रोपाइँ कार्य महिला मजदुरहरूको भरमा भइरहेका छन् । विद्युत मोटरबाट सिँचाइ गरेर रोपाई कार्यमा लागेका कृषकहरू असार महिनाको अन्तिम हुन लागेकोले रोपाइँलाई तीव्रता दिएका छन् । 

कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख महेन्द्र महासेठका अनुसार अहिलेसम्म सिरहा जिल्लामा २५ प्रतिशत रोपाइँ मात्रै भएको छ । मनसुनी वर्षा नभएकोले किसानहरू विद्युत मोटर प्रयोग गरी रोपाइँ कार्यमा लागि सकेका छन् । पुरुषहरू वैदेशिक रोजगार तथा अन्य कार्यमा व्यस्त हुँदा महिला मजदुरकै भरमा रोपाई केही वर्ष यता हुँदै आइरहेका छन् । 

सिरहामा ५४ हजार हेक्टर खेतमा धान उत्पादन भइरहेको प्रमुख महासेठले जानकारी गराउँदै भन्नुभयो, ‘‘१७ वटै पालिकाहरूले सिँचाइको लागि बोरिङग जडान गर्ने कार्यलाई प्राथमिकता दिएपछि पुरुषहरू वैदेशिक रोजगारमा गएपनि महिलाहरूले बाझो जमिन नराखी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।’’

गोरुले जोत्ने हलो लोप नै हुन लागेको लहान–१३ का कृषक रघुवीर यादवले भन्दै ट्याक्टर नै खेत रोपाइँको लागि प्रयोग हुन थालेपछि महिला मजदुरहरूको भरमा रोपाइँ कार्य भइरहेको बताउनुभयो । पुरुष मजदुरले लिइने ज्याला जति नै महिलाहरूलाई दिइने चलन भएपनि बेर्ना उखेल्न र कोदालो चलाउन पुरुषहरू मजदुरहरूको आवश्यक पर्छ तर बढी ज्याला तिरेर पनि पुरुष मजदुर नपाउँदा समस्या भइरहेको उहाँले बताउनुभयो । 

वैदेशिक रोजगारमा गएकाहरूले घरमा रहेका श्रीमतीलाई कृषि मजदुरको रूपमा काम नगर्न मोबाइल फोनबाटै अह्राउने गरेकोले महिला मजदुरहरू पनि रोपाइँको लागि जान तयार नहुँदा मजदुरको अभाव हुने गरेको सखुवानन्कारकटि–३ का कृषक तिरपितलाल यादवले समस्या पोख्नुभयो । 

यता कृषकहरूलाई रासायनिक मलखाद्य सहज रूपमा उपलब्ध गराउन र आवश्यक प्राविधिक ज्ञान दिन किसानहरूलाई उत्साहित गराउन जिल्ला समन्वय समिति सिरहाले सरोकारवालाहरू निकायहरूसँग समन्वय गरी अनुगमन कार्यलाई प्राथमिकतामा दिएको समन्वय समितिका प्रमुख दिनेश कुमार महतोले जानकारी दिनुभयो । 

पुरानो प्रजातिका धानहरू किसानले उत्पादन गर्न छाडेर अहिले हाइब्रिड प्रजातिका सोना मनसुली कतरनी र रातो बासमती धान उत्पादन गर्न जोड दिएको लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले बताउनुभयो । उहाँको अनुसार सोना मनसुली धान असार महिनासम्म रोपाइँ भएमा राम्रो उत्पादन हुने भएकोले वर्षा नभएपनि वैकल्पिक सिँचाइका उपायहरू अवलम्बन गरेर कृषकहरू रोपाइँमा व्यस्त भइरहेका छन् । 

यता बरियारपटि गाउँपालिकाका कृषकहरूले रोपाइँ प्रयोजनको लागि प्रयोग गरिने सिँचाइ मिटरको एकमुस्ट २० लाख विद्युत प्राधिकरण लहानमा बुझाएर कृषकहरूलाई राहत दिएको गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले जानकारी दिनुभयो ।