• १२ मंसिर २०८१, बुधबार

श्रीनगरमा खानेपानीको हाहाकार

blog

धारामा पानी भर्नका लागि लाईनमा राखिएको भाँडा र पानी पिउन पर्खेका पशु । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार २७ गते । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार हुन थालेको छ । श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दा श्रीनगरमा समस्या देखिएको हो । 

श्रीनगरका स्थायी बासिन्दा चित्र भण्डारीले जिल्लाकै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्र श्रीनगरमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताउनुभयो । उहाँले सार्वजनिक धारामा आधा घण्टा मात्र पानी आउने भएका कारण पानी भर्नका लागि चौबीसै घण्टा पानी भर्ने ग्यालेन लाइनमा राख्नुपरिरहेको बताउनुभयो । 

खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको कामै लाइनमा बसेर पालो आएको बेला पानी भर्ने रहेको बताउदै उहाँले जति समय लागे पनि लाइनमा बसेर पानी भर्नुको अन्य विकल्प नभएको बताउनुभयो । पानी भर्नकै लागि उपभोक्ताहरुले राती एक दुई बजे उठेर ग्यालेन लाइनमा राख्नुपर्ने बाध्यता छ । 

मानिसका लागि मात्र नभएर पशुवस्तु समेत सोही धाराबाट पानी पिउने गर्छन् । अर्की स्थानीय जानकी फडेराले पानीको समस्याको कारण ग्यालेनमा भरेर ल्याएको पानी बचत गरेर खर्च गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । चार जना परिवार भएको उहाँको घरमा दैनिक एक गाग्री पानी मात्रै पाइरहेका छन् । उहाँले बर्खा लागे पनि मुहानमा पानीको समस्या भएको कारण यस वर्ष बढी नै खानेपानीको समस्या भोग्नुपरिरहेको बताउनुभयो । 

हाल श्रीनगरसम्म सडक निर्माण भएको कारण कर्णाली करिडोरको गल्फागार्ड खोलाबाट समेत ग्यालेनमा पानी भरेर ओसार्ने गरिएको छ । पाँच सयभन्दा बढी घरधुरी रहेको श्रीनगरमा प्रहरी, कर्मचारीहरुका लागि जम्मा तीन वटा सार्वजनिक धारा छन् । त्यसैबाट सबैपानीको व्यवस्था गर्नुपर्ने बाध्यता उपभोक्तामा छ ।  

अदानचुली गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा एक घर एक धाराको व्यवस्था गर्ने नीति लिएकोले पूर्णता पाउने कुरामा उपभोक्ता आशावादी देखिनुभएको छ । हाल श्रीनगरका लागि ल्याइएको खानेपानी पनि अर्को वडाको स्राेत हाे । जसले गर्दा दुई वडाका बीच बेला बेला विवाद पनि हुने गरेको छ ।