• २७ वैशाख २०८१, बिहिबार

पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), असार २७ गते । इलामको रोङ गाउँपालिकाको पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । धार्मिक आस्थाको केन्द्र पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनलाई सहज गराउन र व्यावसायिक हिसाबले टहरा निर्माण गरीएको हो । 

टहरो निर्माणपछि मन्दिर परिसर आकर्षक र व्यवस्थित बन्नुको साथै व्यपार व्यवसाय गर्नेलाई समेत सहज भएको छ । ४८ वटा व्यवस्थित टहरो निर्माण र मन्दिर परिसर सजावटका लागि  ६८ लाख ४२ हजार ६ सय रुपियाँ खर्च भएको छ । 

चालु वर्षमा कोशी प्रदेश सरकार पर्यटन तथा वन वातावरण मन्त्रालयको ४० लाख, रोङ गाउँपालिकाको २० लाख र उपभोक्ताबाट ६ लाख १२ हजार पाँच सय रुपियाँ नगद र दुई लाख ३० हजार एक सय रुपियाँको श्रमदान गरी उक्त लागतमा ४८ वटा व्यावसायिक टहरा निर्माण गरिएको छ । उक्त स्थानमा विद्युत् जडान, हाँसपोखरी कुट्टीडाँडा क्षेत्रमा दूबाे रोपण, इलाम प्रवेशद्वारमा जोरकलश, कुट्टीडाँडा, हाँसपोखरी हर्कटे जस्ता मेची राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूल रोप्ने काम गरी पाथीभरा परिसलाई सौन्दर्यकरण र आकर्षक बनाउने काम गरिएको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनुभयो । 

उक्त सौन्दर्यकरणले रोङको आम्दानी बढ्ने प्रचुर सभावना रहेको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । रोङ ३ मा रहेको पाथीभरा मन्दिर परिसरमा माता पाथिभरा साना पर्यटन व्यवसायी संस्था स्थापना गरी स्थानीयले व्यवसाय गर्दै आएका छन । उनीहरुले मन्दिरमा आउने भक्तजनका लागि पूजा सामग्रीलगायतको सेवा प्रदान गर्ने गरेका छन् ।

साना व्यवसायी संस्थामा हालसम्म ४७ र एक चटपटे व्यवसायी आबद्ध रहेको व्यवसायी दिनेश निरौलाले जानकारी दिनुभयो । संस्थामा आबद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयवासीले मन्दिर परिसरलाई व्यवस्थित गर्न सरसफाइ र व्यवस्थापनलगायतका काम नियमित रुपमा गर्दै आएका छन् । पछिल्लो समय गाउँपालिकाको मातहतमा पाथीभरा मन्दिरलाई व्यवस्थित गरिएपछि मन्दिरको आम्दानी ह्वात्तै बढेको छ ।