एमपक्स अर्थात् मङ्किपक्स नेपालमा पहिलो पटक एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा देखिएको स्वास्थ्य मन्त्रालयले २०८० असार १ गते पुष्टि गरेको छ। कोरोना भाइरसको महामारीबाट छुटकारा पाएको केही महिना नहुँदै हाल मङ्किपक्सको सङ्क्रमण विश्वव्यापी जनस्वास्थ्यको चासोको रूपमा देखा परेको छ। तथापि आपत्कालीन अवस्था भने छैन। सन् १९५८ मा पहिलो पटक पश्चिम अफ्रिकाको एक दुर्गम भेगमा एक बन्दी बाँदरमा मङ्किपक्स देखा परेको थियो। त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा यसको सङ्क्रमण पाइएको थियो । मानिसमा भने पहिलो पटक सन् १९७० मा अफ्रिकी मुलुक कङ्गोमा देखा प¥यो। सन् २०१७ मा दस वटा अफ्रिकी मुलुकमा फैलिएको थियो। अन्तर्राष्ट्रिय यात्रा वा आयातीत जनावरका कारण सन् २००३ मा अमेरिकामा यसको प्रकोप नै फैलियो।
सन् २०२२ मा युरोपमा फैलन थालेपछि यो रोगको चर्चा चुलिएको हो। सन् २०२२ मा ७५ देशका १६ हजार जनामा यसको भाइरस पुष्टि भएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेको थियो। सङ्क्रमितमध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ।
कसरी सर्छ ?
मानिसबाट मानिसमा तथा जनावरबाट मानिसमा लामो समय आमनेसामने हुँदा मुखको छिटाबाट यो रोग सर्छ। यस्तै, यौन तथा गुदद्वार सम्पर्कबाट, सङ्व्रmमितले प्रयोग गरेका सरसामान जस्तै कपडा, सिरिन्जबाट तथा सङ्क्रमितको घाउ, फोकाको तरल पदार्थबाट यो रोग सर्छ। सन् १९८० मा बिफरको उन्मूलनपछि मङ्किपक्स मध्यपूर्वी र पश्चिम अफ्रिकामा निरन्तर देखा परिरहेको छ। बाँदरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा सर्न थालेको, धेरैलाई निदान गर्न कठिन भएको, खोप नभएको, सङ्क्रमण तीव्र फैलिँदै गएको तथा अहिलेसम्म सङ्क्रमण नदेखिएका देशमा समेत २१ दिनभित्र देखिन सक्ने भएकाले स्वास्थ्य आपत्काल घोषणा गरिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। सम्पर्कमा आएका ५० जनामध्ये एक जनामा सर्ने यो रोग अन्य सङ्क्रामक रोग तथा ठेउला, भिरिङ्गीको बिबिरासँग मिल्दोजुल्दो भएकाले स्वास्थ्यकर्मी झुक्किने सम्भावना बढी छ। रोग सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकैको सम्पर्कमा आउँदा तिनीहरूको थुक, ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र मांसपेसीबाट सर्ने गर्दछ। भाइरस श्वासनली, आ“खा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत सर्न सक्छ।
सङ्क्रमितसँगको यौन सम्पर्कबाट पनि सर्न सक्छ तर वीर्यबाट सर्ने प्रमाणित भइसकेको छैन। गर्भवतीमा गर्भबाट बच्चामा सर्न सक्छ।
सङ्क्रमण भएको एकदेखि २१ दिनसम्ममा एम पक्सको लक्षण देखिने गर्छ र दुईदेखि चार हप्तासम्ममा अधिकांश सङ्क्रमितले स्वास्थ्य लाभ गरिसक्छन्। न्यु इङ्गल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानमा सङ्क्रमितमध्ये सबैभन्दा बढीमा शरीरको विशेष गरी गुप्ताङ्गमा घाउ र पानी फोकाहरू देखिएका छन्। ज्वरो, ग्रन्थी सुन्निने, आलस्य हुने, जिउ दुख्ने थप लक्षण हुन्। सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेसी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने गर्छन्। आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ।
पहिलो चरण अर्थात् प्रारम्भिक अवस्थामा अन्य सङ्क्रामक रोगहरू तथा मौसमी फ्लुको लक्षण जस्तै ज्वरो, आलस्य तथा टाउको, मांसपेसी, जिउको दुखाइ र लिम्फग्रन्थी सुन्निने हुन्छ। दोस्रो चरणमा ज्वरो देखिएको एकदेखि तीन दिनमा पहिले राता, अनि घमौरा जस्ता उठेका र त्यसपछि ठेउला र बिफरमा जस्तै शरीरमा पीप भएको बिबिरा देखिन थाल्छ। खटिरा शरीरभरि फैलिएर केही दिनमा सुक्छ। खटिरा सुके पनि बिफरमा जस्तै दाग वा खत बस्न सक्छ। हाल अनुहार, हातखुट्टाका अतिरिक्त गुप्ताङ्गमा बिबिरा, घाउ बढी देखिएको अफ्रिकी चिकित्सकले जानकारी दिएका छन्। बिबिराको प्रकृति ठेउला र भिरिङ्गीसँग मिल्दोजुल्दो छ। बिफर र मङ्किपक्स उस्तै भए पनि केवल घाँटी र काखीको गिर्खाले मात्र छुट्ट्याउन सकिन्छ। एक व्यक्तिबाट अर्काे व्यक्तिमा लक्षण देखिने अवधि दुईदेखि तीन सातासम्म रहन्छ। सङ्क्रमितमध्ये १० प्रतिशतमा स्वास्थ्यमा जटिलता भएर मृत्यु हुन सक्छ। गर्भवती, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकामा जटिल हुन सक्छ, यस्ता बिरामीको आँखामा सङ्क्रमण भएर दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु हुन पनि सक्छ।
उपचार
धेरै जसो मानिसमा यसले कुनै जटिलता नल्याउने र दुईदेखि चार हप्तामा आफैँ निको हुन्छ तर बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई भने छाला, आँखा तथा अङ्गको सङ्क्रमण, निमोनिया, इन्सेफलाइटिस जस्ता जटिलता आउन सक्छ। रोगको मृत्युदर १० प्रतिशत भए पनि सन् २०२२ मा देखिएको वेष्ट अफ्रिकन स्ट्रेन भइरसमा धेरै कम छ। सिकिस्त बिरामीका लागि एन्टिभाइरल औषधी टेकोभिरिम्याट पनि उपलब्ध छ।
कोरोना सङ्क्रमणमा अपनाइएका जनस्वास्थ्यका मापदण्डहरू मास्कको प्रयोग, हावा ओहोरदोहोर गर्ने स्थान, साबुनपानीले हातको सरसफाइ जस्ता स्वास्थ्य मापदण्डको पालना यो रोग लाग्न नदिन अपनाउनु पर्छ। सङ्क्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निसङ्व्रmमित गरेर मात्र प्रयोग गर्न पर्छ। सन् १९८० मा उन्मूलन भएको बिफरका लागि प्रयोग हुने खोप मङ्किपक्समा ८५ प्रतिशत प्रभावकारी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। सङ्क्रमण भएको चार दिनभित्र खोप लिन सकिन्छ र चारदेखि १४ दिनभित्र खोप दिनसके सङ्क्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ। उपचार पत्ता लागिसकेको छैन, बिफरको एन्टिभाइरल औषधी प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ। बिफर उन्मूलन भइसकेकाले त्यसको खोप विश्वमा पाउन गारो छ। उच्च जोखिममा भएका स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेले खोप लगाउँदा हुन्छ। कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने विश्व स्वास्थ्य सङ्गठनले पनि जनाएको छ।
अन्त्यमा, सङ्क्रामक रोग ढिलो वा चाँडो विश्वका एक स्थानबाट अर्काे स्थानमा पुग्नसक्ने ज्वलन्त उदाहरण कोभिडले देखाइसकेको छ। सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्न पर्छ। सङ्क्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी ‘कन्टयाक्ट ट्रेसिङ’ अनिवार्य गर्न पर्छ।
सङ्क्रमितलाई २१ दिनसम्म अलग राख्न पर्छ। भाइरस बोक्न सक्ने जनावर, बिरामी वा मरेका जनावर, बाँदर, मुसा जस्ता सङ्क्रमणको इतिहास भएकाको सम्पर्कमा आउन हुँदैन। संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि अल्कोहलयुक्त स्यानिटाइजर वा साबुनपानीले हात धुने गर्न पर्छ। सङ्क्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासु मात्र खान पर्छ।
लेखक चिकित्सक हुनुहुन्छ ।