• १३ असोज २०८१, आइतबार

भर्ना शुल्क नबढाउन बुटवल उपमहानगरको निर्देशन

blog

छविलाल पाण्डे 

बुटवल, असार २६ गते । बुटवल उपमहानगरपालिकाले भर्ना शुल्क वृद्धि नगर्न बुटवलका विद्यालयहरूलाई निर्देशन दिएको छ । मङ्गलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउन जोड दिँदै भर्ना शुल्क नबढाउन निर्देशन दिएको हो ।

बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरूलाई निर्देशन समेत दिनुभएको छ । माध्यमिक तहको भर्ना सुरु हुनुअघि आयोजित छलफलका क्रममा उहाँले विद्यार्थीहरूलाई पोसाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागु नगर्न र स्वैच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिनुभयो । 

“विद्यालयले किताब, कापी र पोसाक बेच्ने र आफू अनुकूलका पसलहरूबाट खरिद गर्नका लागि सिफारिस गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला”, उहाँले छलफलका क्रममा भन्नुभयो, “विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुराहरूमा सुधार ल्याउनुस्, विद्यालयभित्रबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस् ।” उहाँले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको दरबन्दीलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गर्नुभयो ।

नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाका नाममा शुल्क नलिन र भर्ना तथा शिक्षण शुल्कजस्ता विद्यार्थीबाट लिने शुल्कमा वृद्धि नगर्न नगर प्रमुख पाण्डेयले आग्रह गर्नुभयो । उहाँले विद्यालयले आफ्नो क्षमता अनुसार आफैँ तय गरेका मापदण्डभित्र रहेर भर्ना गर्न र विद्यार्थीलाई पढ्न पाउने अवसरबाट वञ्चित नगर्न आग्रह गर्नुभयो ।

बुटवललाई शिक्षाका क्षेत्रमा अब्बल बनाउनका लागि सामुदायिक विद्यालयहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै उहाँले बुटवलबाट अन्य क्षेत्रले सिक्ने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो । आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझै बढी स्तरीय बनाउँदै लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिँदै नगरभित्रका विद्यालय स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकोले त्यसको तयारी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालय स्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरू एउटै नियम र पद्धतिमा चल्न आग्रह गर्नुभयो । उहाँले विद्यालयमा अनुशासन र विधिको पालनामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँहरूले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।