• २० असोज २०८१, आइतबार

महिला कैदीबन्दीका लागि पक्की कारागार भवन

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, असार २६ गते । जिल्ला कारागारमा महिला कैदीबन्दीका लागि १५ जना क्षमताको सुविधा सम्पन्न छुट्टै नयाँ भवन निर्माण गरिएको छ । गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागबाट विनियोजन भएको ५० लाख ४५ हजार ७१३ रुपियाँ ४५ पैसा बजेटले महिला कैदीबन्दीका लागि नयाँ पक्की भवन निर्माण भएको जिल्ला कारागार ओखलढुङ्गाका निमित्त जेलर नरेन्द्रलाल कर्णले बताउनुभयो । 

उक्त भवनमा पुस्तकालय, भान्सा कोठा र शौचालय सहितको सुविधा रहेको कर्णको भनाइ छ । नव निर्मित भवन वरिपरि सुरक्षा पर्खाल लगाउने काम भइरहेकाले सकिएपछि महिला कैदीबन्दीहरुलाई उक्त नयाँ कारागार भवनमा स्थानान्तरण गरिने जेलर कर्णले जानकारी दिनुभयो । 

हाल महिला कैदीबन्दीहरु राखिएको कच्ची कारागार भवन जीर्ण भएको छ । कारागारमा तीन जना कैदी र दुई महिला थुनुवा छन् । महिला पुरुष गरी मात्र ३० जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ६९ जना पुरुष पाँच जना महिला कैदीबन्दी राखिएको छ । 

महिला कैदीबन्दीलाई नयाँ कारागार भवनमा स्थानान्तरण गरेपछि पुरानो भवनलाई मर्मत गरेर त्यहाँ पुरुष कैदीबन्दीलाई राखिने कार्यालयले जनाएको छ । केही वर्षअघि महिला कैदीबन्दी राखिएको कारागारको पर्खाल लडेर लाग्दा एक जना घाइते हुनुभएको थियो ।