• १४ मंसिर २०८१, शुक्रबार

सूर्योदयमा ६५ हजार बिरुवा रोपियाे

blog

प्रेम अधिकारी

पशुपतिनगर, असार २६ गते । इलामको सूर्योदय नगरपालिकाले बिरुवा रोप्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर क्षेत्रका सरकारी जमिन, वन क्षेत्र, विभिन्न पार्क तथा विद्यालय र कार्यालय परिसरमा बिरुवा राेप्ने कार्यक्रमलाई तीव्रता दिएको हो । 

नगरले यस वर्ष ४० हजार बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत निःशुल्क बिरुवा वितरण गरी राेपिएकाे छ । नगरले सेतो शिरीष, सेतो श्रीखण्ड, अम्बक, अमला, जामुन, बेल, टाँकी, चाँप, बडहर लगायत विभिन्न प्रजातिका बिरुवा स्थानीयलाई  वितरण गरिरहेको छ । विभिन्न ठाउँबाट खरिद गरेर ल्याएको बिरुवा नगरले निःशुल्क वितरण गरिरहेको नगरको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुासर शाखाले ४० हजार, नेपाल राष्ट्रिय वन पैदावर व्यवसायी सङ्घले १५ हजार र सब डिभिजन वन कार्यालय पशुपतिनगरले १० हजार गरी ६५ हजार बिरुवा रोप्ने काम सम्पन्न भएको छ । 

मङ्गलबार नगरले उपलब्ध गराएको शिरीषको बिरुवा स्थानीय युनाइटेड क्लबको संयोजनमा फिक्कलको फेन्सोङ गुम्बा परिसरमा रोपिएको छ । वृक्षराेपण कार्यक्रममा संयोजक लिम्बू नगरलाई सधैं हरियाली राख्न बिरुवा रोप्ने कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले नगरले विगतका वर्षदेखि नै बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । “बिरुवा रोपेर मात्र हुँदैन, बिरुवा संरक्षण गरेर हुर्काउन सक्नुपर्छ,” नगर प्रमुख राईले भन्नुभयो । 

नेपाल राष्ट्रिय वन पैदावर व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष रोहित खड्काले वर्षेनी रुख कटानका कारण वन जङ्गल मासिँदै जाँदा नगरले थालेको उक्त अभियान अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । नगरले अन्तु, कन्याम लगायतका पर्यटकीय स्थलमा समेत वृक्षरोपण गरिरहेको छ ।