• १३ मंसिर २०८१, बिहिबार

योजना कार्यान्वयनका लागि समय तालिका बनाउँछौँ : मन्त्री जुग्जाली

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २६ गते । प्रदेशभित्र रहेका कुनैपनि आयोजनालाई सम्पन्न गर्नका लागि समय तालिका बनाएरै अगाडी बढ्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभएको छ ।

बेनीमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्बोधन गर्दै उहाँले ढिलासुस्ती विकास आयोजनाको प्रमुख चुनौती भएकोले त्यसलाई निस्तेज पार्न समयतालिका आवश्यक रहेको औँल्याउनुभएको हो । राज्य कृषि प्रधान भएको कारणले गर्दा लिफ्ट सिँचाइको विद्युत महसुल छुट दिने र खानेपानी आयोजनाको विद्युत महसुल पनि छुट दिने कार्यक्रम प्रदेश सरकारले ल्याएको बताउनुभयो ।

आगामी वर्षको लागि प्रदेश सरकारले भौतिक मन्त्रालयलाई १२ अर्ब ५० करोड विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री जुगजालीले प्रदेशभित्र टुक्रे योजना कटौती गरिएको समेत जानकारी दिनुभयो । “३० लाखमाथिका योजना छन्, सबै पूर्वाधार कार्यालयहरूलाई समय तालिका बनाएर भदौ, असोज महिनादेखि नै योजनालाई कार्यान्वयनको पाटोमा लैजान्छौँ”, उहाँले भन्नुभयो ।

पहिलो चौमासिकमा सर्वेक्षण, लागत अनुमान तयार र ठेक्का प्रक्रियाको काम सकेर दोस्रो चौमासिकदेखि योजना कार्यान्वयनले तीव्रता पाउने गरी समय तालिका बनाउन लागिएको मन्त्री जुग्जालीले बताउनुभयो । कृषि उपजको सहज ढुवानी, निकासी र बजारीकरणका लागि पनि ग्रामीण सडक स्तरोन्नतिलाई प्राथमिकता दिएको बताउनुभयो ।

मन्त्री जुग्जालीले यसअघिका वर्षको तुलनामा यसपालि म्याग्दीमा प्रदेश सरकारबाट विनियोजन हुने बजेट बढेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा जुट्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो। जिल्लाको सबैभन्दा टाढाको गाउँ गुर्जालाई सडक सञ्जालले जोड्ने, बेनी-पाखापानी सडक कालोपत्र गर्ने, यसअघि सुरु भएका सडक र सडक पुल निर्माणलाई पूर्णता दिन प्राथमिकता दिएको बताउनुभयो । 

संवृद्धि र विकासको पहिलो आधार सुशासन कायम गर्दै विकासलाई दिगो र गुणस्तरीय बनाउन समन्वय र सहजीकरण तथा निगरानीमा जोड दिनुभयो । उहाँले बर्खामा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन सडक मर्मतका लागि पनि प्राथमिकताका साथ बजेट विनियोजन भएको बताउनुभयो ।