• १२ मंसिर २०८१, बुधबार

पशुपति हिन्दु विश्वविद्यालय

संस्कृत वाङ्मयको रक्षार्थ

blog

हाम्रो पुर्खाले उच्चतम ज्ञानगुनका कुरा चिन्तन र बोधबाटै पत्ता लगाएको जनश्रुति छ। मानव विकासको करिब पाँच हजार वर्षको इतिहासमा संसारको कुनै पनि मानिस यस स्तरको ज्ञानभन्दा माथि पुग्न असम्भव छ। तसर्थ ज्ञानको यस्तो अपार र अपौरुषेय भण्डारलाई दैवीय उपज मान्नु नै अन्तिम विकल्प थियो, मानिसले त्यसै ग-यो पनि। हाम्रा चिन्तकले मानिसकै हित र उन्नतिका लागि तयार पारेको वाङ्मयलाई अर्को पुस्तासम्म हस्तान्तरण गर्ने उपायको खोजी गरे। 

सर्वप्रथम संस्कृत वाङ्मयका विषयवस्तुलाई उच्चारण गर्ने लय निर्धारण गरियो। गुरुको मुखबाट सुनेर विषय बोध गर्ने परिपाटी बसाइएको इतिहास छ। तिनीहरूको सही उच्चारणका लागि गुरुको आवश्यकता थियो, जसबाट गुरुकुलको विकास गरियो। तिनीहरूलाई लेखेर पनि संरक्षण गर्न आवश्यक भएकाले तिनैका लागि ब्राह्मी आदि लिपिको आविष्कार भयो। यसबाट हाम्रा प्राचीन साहित्य संरक्षण गरिए। यस्तो साहित्यको अध्ययन गरेपछि युगौँयुग यिनीहरूमा प्राप्त ज्ञानगुनका कुरा थप्ने काम हुँदै गयो। यसबाट हाम्रो प्राचीन वाङ्मय यति बृहत्तर भयो कि संसारमा यसभन्दा उच्च ज्ञान कहीँ कतै पनि रहेन। यिनीहरूमा मानिसको आध्यात्मिक सुखका बाटा पनि खोजिए। संस्कृत साहित्यमा समाज र मानिसका लागि चाहिने सबै प्रकारका ज्ञान, नीति, नियम, आचरण आदिको व्यवस्था हुन पुग्यो। समाज सञ्चालन मात्र नभएर राज्य सञ्चालनका नीतिनियम पनि तिनीहरूमा बनाइएका छन्।

संस्कृत साहित्यको अध्ययन गर्ने क्रममा पश्चिमा मुलुकका विद्वान् निकै अगाडि बढेका छन्। उनीहरूले आजभन्दा दुई–तीन सय वर्षअघि नै रहस्य बुझे र सूक्ष्म अध्ययन पनि गरे। पूर्वीयलाई अशिक्षित र असभ्य देख्ने पश्चिमा संस्कृत साहित्य पढेर चकित भए। उनीहरूले यिनीहरूको उपयोगिता बुझे र अहिले पश्चिमा संस्कृत वाङ्मयको अध्ययनलाई अनिवार्य ठान्न लागे। परिणामस्वरूप पश्चिमा मुलुकमा संस्कृत शिक्षाको अध्ययनलाई ठुलो महत्व दिन लागिएको छ। संस्कृत साहित्यका धेरै ग्रन्थ उनीहरूका भाषामा उल्था गरिएका छन्। तिनीहरूको विद्यालय र महाविद्यालयमा पठनपाठन हुने गरेको छ। पुर्खाले हाम्रो उन्नतिका लागि चिन्तन गरेका र पुस्तान्तरण गरेका यस्ता ज्ञानगुनका अपार सम्पदा हामीसामु छन्; जसबाट हामीले उच्चतम ज्ञान लिन ढिलो भइसकेको छ। 

गुरुकुल शिक्षा र अध्ययनको आवश्यकता

गुरुको आश्रममा लिनेदिने शिक्षा प्रणाली गुरुकुलीय शिक्षा पद्धति हो; जसलाई सनातनी हिन्दु परम्पराको सबैभन्दा पुरानो र उत्तम शिक्षा पद्धति मानिएको छ। गुरुहरू अति ज्ञानी, विद्वान् र योग्य हुने हुँदा गुरुलाई देवताको अवतार मानिन्छ। शिवजी नै गुरुका रूपमा प्रकट भएर आफ्ना शिष्यलाई ज्ञानगुन दिने गर्छन् भन्ने मान्यता राख्दै ज्ञानलाई नै मोक्षको मार्ग मानिएको छ। तसर्थ सनातनी परम्परामा गुरु र गुरुकुलको ठुलो भूमिका रहेको हो। यस परम्परामा राज्यको शिक्षाको जिम्मा ऋषिमुनिले लिएका थिए। उनीहरू आश्रममा बस्दथे। शिष्यलाई बिनाभेदभाव योग्यता या क्षमता अनुसारको शिक्षा दिन्थे।

राजा–महाराजादेखि सामान्य मानिसले पनि गुरुको आश्रममा पुगेर कठोर अनुशासन पालना गर्दै शिक्षा लिनुपर्ने हुन्थ्यो। शिक्षाका विषय धेरै थिए, जसमा अहिलेको जस्तो परीक्षा लिने, दिने र पास तथा फेल हुने परम्परा थिएन। तत्कालको शिक्षा मुख्य रूपमा संस्कृत भाषामा हुने गर्दथ्यो। यसैबाट बृहत्तर संस्कृत साहित्यको संरक्षण पनि भएको छ। पछिल्लो कालमा गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गएको छ। अहिले पशुपति क्षेत्र विकास कोषले सञ्चालन गरेको नेपाल वेद विद्याश्रम संस्कृत माविका रूपमा चलेको छ। 

नेपालमा अध्ययन–अध्यापन परम्परामा रहेको संस्कृत शिक्षाको तत्कालीन अवस्थाबाट मात्रै समाजको अपेक्षा पूर्ति नहुने ठानियो। पौरस्त्य दर्शनका साथै विशेषतः वेद र कर्मकाण्डको अध्ययन, अध्यापन एवं अनुसन्धानमूलक कार्य गराई वैदिक सनातन धर्मको रक्षाका निमित्त सुयोग्य विद्वान् उत्पादन गर्ने एक संस्थाको आवश्यकता महसुस गरियो। विद्वान्हरूको सल्लाह र सम्मतिबाट पवित्र पाशुपत क्षेत्रको वनकालीस्थित पुष्पवाटिकामा विसं २०२६ माघदेखि नमुना गुरुकुल निर्माणको थालनी गरिएको थियो।

वैदिक वर्णाश्रम धर्मको मर्म अनुकूल सदाचार, कर्तव्य बोध र उच्च नैतिकता भएका जनशक्ति उत्पादन गर्ने सोचको विकास भयो। सनातन वैदिक धर्म अनुरूप जन्मदेखि मृत्युपर्यन्तका संस्कारका साथै वर्ष दिनभरि मनाइने विशेष धार्मिक कृत्य विधिपूर्वक गर्न/गराउन सक्ने जनशक्ति तयार गर्दै गुणस्तरीय वैदिक संस्कृत शिक्षाको विकास र रक्षा गर्नु वाञ्छनीय देखियो। आराध्यदेव भगवान् श्रीपशुपतिनाथका सान्निध्यमा २०३१ कात्तिक २२ गतेदेखि आवासीय रूपमा ३२ जना वटुक रहने गरी औपचारिक रूपमा सञ्चालित यस नेपाल वेदविद्याश्रमको आर्थिक व्ययभार गुठी संस्थानले वहन गर्दै आएको थियो। शिक्षण संस्थाको व्यवस्था पशुपति क्षेत्र विकास कोषले गर्नुपर्ने देखिएकाले गुठी संस्थानसँग सम्झौता गरी २०५६ साउनबाट पशुपति क्षेत्र विकास कोषमार्फत यो विद्यालय सञ्चालन हुँदै आएको छ। 

विश्वविद्यालयको अवधारणा

आराध्यदेव भगवान् पशुपतिनाथको महिमा अवर्णनीय छ। पशुपतिनाथ र पशुपति क्षेत्र प्राचीन कालदेखि नै विश्वका सनातनी हिन्दुको उपासना केन्द्र र तीर्थस्थलका रूपमा रही आएको छ। विश्वमा रहेका हिन्दु धर्मका उपासक, शैव शाक्त संस्कृतिका अनुयायी एवं सम्पदाप्रेमीहरूले आराध्यदेव पशुपतिनाथ र यस पावन पशुति क्षेत्रलाई अनन्तकालसम्म विश्वप्रसिद्ध सनातन तीर्थस्थल, पुण्यभूमि, साधनाभूमि, दानभूमिका रूपमा विशिष्ट गन्तव्य बनाएका छन्। मानवताका लागि विश्वव्यापी मान्यता प्राप्त विश्व सम्पदाको अक्षुण्ण धरोहरका रूपमा स्थापित रहिरहोस् भन्ने चाहनासमेत राख्ने गरेका छन्।

पशुपतिनाथको गरिमा र महìव कायम राख्दै यस क्षेत्रको सुरक्षा, सम्भार र संरक्षण गरी प्राचीन ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं राष्ट्रिय महत्वका सम्पदा स्थलको संरक्षण संवर्धन गर्नु आजको आवश्यकता हो। स्वदेश तथा विदेशबाट आउने पर्यटक र तीर्थयात्रीका लागि पवित्र तीर्थस्थलका रूपमा रहेको पाशुपत क्षेत्रमा मूल मन्दिरको पञ्चमुखी शिवलिङ्गका अलावा करिब एक हजार शिवलिङ्ग छन्। यहाँ अनेकौँ देवदेवीका मठ मन्दिर तथा तीर्थस्थलका साथै पुरातात्त्विक महत्वका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा छन्। विश्व सम्पदा क्षेत्रको सूचीमा सूचीकृत विश्व समुदायकै महत्वपूर्ण गन्तव्यस्थल पशुपति र यस वरपरको क्षेत्र वैदिक सनातनी तथा बौद्ध एवं किराँत धर्मावलम्बीको समेत पवित्र आस्थाको धरोहर हो। 

बहुआयामिक समाज, दर्शन, प्राचीन सभ्यता र सांस्कृतिको धनी मुलुक नेपाल बहुसंस्कृतिसम्पन्न मुलुक हो। यहाँको संस्कृति, सम्पदा र कलाको बहुआयामिकता मानवीय जीवन दर्शनको अतुलनीय नमुना रहेको छ। नेपालमा मुख्य गरेर मूर्त एवं अमूर्त सम्पदाको अतुलनीय खानी छ। हाम्रो समाजको भाइचारा निर्माणको दर्शन विश्व बह्माण्डमा पृथक् छ। यहाँ प्रकृति र संस्कृतिको सम्मिलनले भौगोलिक विविधतालाई आत्मसात् गरेको छ। त्यसैले नेपालभित्रको धर्म, संस्कृति, सभ्यता र दर्शनको मात्र अध्ययन, अध्यापन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर पशुपतिनाथका नामबाट हिन्दु दर्शन, जीवनपद्धति, संस्कृति र संस्कारसँग सम्बद्ध निगम एवं आगमलाई उजागर गर्न जरुरी छ। 

पावन भूमि पशुपति क्षेत्रको समग्र अध्ययनका लागि वैदिक वाङ्मयका कुनै एक अङ्गको मात्र अध्ययनले पूर्ण हुन सक्दैन। यसका लागि वेद, तन्त्र, पुराण मात्र होइन, पौरत्स्य दर्शनका आस्तिक एवं नास्तिक दुवै पक्षको अध्ययन आवश्यक छ। यी दुवैको अध्ययनबिना समग्र पशुपति क्षेत्र र पाशुपत साहित्य बुझ्न सकिँदैन। शक्ति र शिवको उपसना, पूजा र ध्यानस्थलका रूपमा रहेको नेपाल वैदिक एवं तन्त्र पद्धति र जात्राको कारण विविधताको सङ्गम स्थल बनेको छ। यो नेपालको आफ्नो मौलिक सम्पत्ति हो। यसैले नेपालमा प्रचलित अन्य सभ्यता, संस्कृति, संस्कार र परम्परासँग सम्बन्धित विषयको गहिरो अध्ययन, अध्यापन एवं अनुसन्धान आजको खाँचो हो। यसैलाई यहाँ नेपालमुखी अध्ययन भनिएको हो। 

यस किसिमको अध्ययन, अध्यापन र अनुसन्धानले राष्ट्रवादी भावना विकसित हुने छ। सबैमा राष्ट्रको माटो र माटोको संस्कारप्रतिको चिन्तन विकसित भएमा राष्ट्रको सर्वाङ्गीण विकासमा जुट्न सक्ने जनशक्ति उत्पादन गर्ने यो विश्वविद्यालयको उद्देश्य हुने छ। शैव, शाक्त, बौद्ध, किराँत एवं ओमकार परिवारभित्रका समग्र विषय, सम्पदा, संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन गर्ने स्थल निर्माण गर्दा देश–विदेशबाट समेत अध्येता, जिज्ञासु एवं अनुसन्धानकर्ताको आगमन हुने भएकाले यहाँ शैक्षिक, धार्मिक, सांस्कृतिक पर्यटकको प्रवर्धन हुने प्रस्ट देखिन्छ। यस विश्वविद्यालयले हिन्दु संस्कृतिको अध्ययन र अनुसन्धानमा रुचि राख्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई जोड्न सकिने गरी नीति बनाउनुपर्ने छ। 

विश्वविद्यालयका सामान्य उद्देश्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको परिकल्पनामा स्थापित हुने पशुपति हिन्दु विश्वविद्यालयको सामान्य उद्देश्य निम्नानुसार समावेश गर्न सकिने छ : वैदिक सनातन धर्मको महिमा एवं विशालतालाई समयसापेक्ष रूपमा अध्ययन, अनुसन्धान गरी समाज हितमा प्रयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको उद्देश्य रहने छ। नेपालमा वैदिक वाङ्मयको परम्परालाई संवर्धन गर्ने, संस्कृत वाङ्मयमा निष्णात विद्वान् उत्पादन गर्ने, प्राचीन गुरुकुल शिक्षा पद्धतिका माध्यमबाट अध्ययन र अध्यापन गराउन सक्ने स्वरोजगारमुखी जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्य हो। 

संस्कृत शिक्षाको संस्कार लिएर राष्ट्रका हरेक क्षेत्रमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्ने, पूर्वीय एवं पाश्चात्य दर्शनको तुलनात्मक अध्ययन गर्ने गराउने जनशक्ति उत्पादन गर्ने उद्देश्य पनि छ। राष्ट्रभक्त, नैतिक एवं कर्तव्यनिष्ठ, स्वावलम्बी र नेपालको मौलिक संस्कृतिको संरक्षण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य छ। पाशुपत क्षेत्र एवं देशैभरिका मठमन्दिरमा प्रचलित वैदिक एवं तान्त्रिक पूजा अर्चनालगायत नित्य, नैमित्तिक र काम्य कर्म शास्त्रीय मर्यादा अनुरूप अनुसन्धान गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्य निर्धारण गरिएको छ। 

विशिष्ट उद्देश्य

सम्पूर्ण विश्वका मानिस एवं मुख्य रूपमा हिन्दुको लाभका लागि हिन्दुशास्त्र, दर्शन तथा संस्कृत वाङ्मयको प्रचार प्रसार मूल ध्येय हो। नेपालमा छरिएर रहेका र कतिपय अवस्थामा भग्नावशेष भएका पौराणिक ऐतिहासिक स्थलको खोज अनुसन्धान गरी नेपालको प्राचीन गरिमालाई विश्वसामु प्रस्तुत गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य तय गरिएको छ। प्राचीन दर्शन, कला एवं विज्ञानको अध्ययन अध्यापन गर्ने, धर्म एवं नीति, अर्थशास्त्र शिक्षालाई व्यावहारिक अङ्ग मान्दै नवयुवालाई सदाचार, निष्ठ र नैतिक आदर्श शिक्षा दिने हो। नेपालको गौरवपूर्ण इतिहासको अनुसन्धानका लागि प्राचीन पाण्डुलिपि एवं शिलालेखको विश्वविद्यालय स्तरमा अध्यापन गराउने उद्देश्य लिइएको छ । 

प्राचीन नेपाली मूर्ति तथा वास्तुकलाको वर्तमान पुस्तामा हस्तान्तरण गर्न अध्ययन अनुसन्धान गर्ने, प्राचीन ज्ञान धारालाई आधुनिक विज्ञानको प्रवाहमा समाहित गर्न सेतुका रूपमा कार्य गर्ने विश्वविद्यालयको ध्येय हो। आयुर्वेद, योग, प्राकृतिक चिकित्सा आदि प्रायोगिक प्राचीन विरासतलाई जीवन पद्धतिसँग जोड्ने तथा तन्त्र, मन्त्र एवं साधनामूलक नेपालको मौलिक परम्परालाई जीवन्त राख्दै यसको अध्ययनका लागि केन्द्रीय भूमिका निर्वाह गर्ने उद्देश्य पनि निर्धारण गरिएको छ। 

लेखक पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव हुनुहुन्छ।  

Author

डा. मिलनकुमार थापा