• २० असोज २०८१, आइतबार

"छिटो छरितो न्याय सम्पादनको अभियानमा छौँ" : प्रधानन्यायाधीश कार्की

blog

जिल्ला अदालत उदयपुरको नवनिर्मित भवनको उद्घाटन समारोहमा आफ्नाे भनाइ राख्नुहुँदै सर्वाच्च अदालतका प्रधान न्यायाधीश हरीकृष्ण कार्की । तस्विर : भक्तिविलास पोखरेल । गाईघाट

भक्तिविलास पोखरेल

गाईघाट, असार २५ गते । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनलाई छिटो छरितो र सरल बनाउने अभियानमा सर्वोच्च अदालतको वर्तमान नेतृत्वले निरन्तर काम गरिरहेको बताउनुभएको छ । सो कुरा प्रधानन्यायाधीश कार्कीले सोमवार जिल्ला अदालत उदयपुरको नव निर्मित भवनको उद्घाटन समारोहमा आयोजित सभालाई सम्बोधन गर्दै बताउनुभएको हो । 

प्रधानन्यायाधीश कार्कीले न्याय महँगो भयो भन्ने केही गुनासाहरू आउने गरेको भएपनि आम नागरिकहरूबाट आउने सबैखाले गुनासाहरूलाई सम्बोधन गर्न वर्तमान समयमा अदालत योजनाबद्ध सुधारको क्रममा रहेको बताउनुहुँदै न्यायपालिकाको दस्तुरभन्दा पनि ढिलासुस्तीका कारण सेवाग्राहीको खर्च बढेको र त्यसमा हामी संवेदनशील भएको समेत बताउनुभयो । 

अहिले पनि कतिपय दस्तुरहरू २० वर्षअघिकै निर्धारित दरका भएकोले सरकारी दस्तुर महँगो भयो भन्नु भन्दापनि न्याय सम्पादनको ढिलासुस्तीले गर्दा कानुन व्यवसायीको शुल्क पनि बढ्ने र लामो समयसम्म न्यायका लागि पर्खिनुपर्दा सेवाग्राहीहरूको खर्च बढेर महँगो देखिएको हो भन्नुहुँदै अब अदालतले यी र यस्ता खाले समस्याहरूको चाँडै सम्बोधन गर्नेमा जोड दिनुभयो । 

अदालतमा अब दुई वर्ष नाघेका मुद्दा शून्य बनाउने र जतिसक्दो छिटो निकास दिने अभियानमा लागेर योजनबद्ध ढङ्गले सेवाग्राहीको गुनासो नआओस् भन्नका लागि मुद्दाको प्रकृति अनुसार सरल, सामान्य र जटिलरुपमा मार्ग निर्धारण गरी सबै जनतालाई न्यायको प्रत्याभूति दिन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब कुनैपनि बहानाबाजीमा न्याय सम्पादनका कामकाजमा ढिलासुस्ती गर्ने अधिकार आफूहरुमा नभएको बताउँदै प्रधानन्यायाधीश कार्कीले सबै जनताको न्यायमा पहुँच पुग्नेगरी सेवा प्रवाह गर्न आग्रह मातहतका अदालतहरूलाई निर्देशन समेत दिनुभएको छ । उहाँले सबैतिर न्याय मरेको अनुभूति गरेर न्यायको मन्दिर प्रवेश गरेका सेवाग्राहीलाई शान्ति र न्यायको प्रत्याभूति दिलाउने गरी कार्यसम्पादन गर्न म यहीबाट निर्देश गर्छु भन्नुहुँदै न्यायपालिकाभित्र शुद्धीकरण र सुदृढीकरण आवश्यक भएकोले आफैँले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न सुरु गरिएको बताउनुभयो । 

भौतिक संरचना जति नै आकर्षित छ त्यति नै सेवा पनि आकर्षक बनाउन आग्रह गर्दै प्रधानन्यायाधीश कार्कीले ‘न्यायालय सेतो लुगा हो जहाँ सानो दाग लाग्यो भने पनि देख्न सकिन्छ तसर्थ दाग नलाग्ने गरी मातहतका सबै न्यायधीस र कर्मचारीले कामकारबाही अगाडी बढाउनुपर्छ भन्नुभयो । सो कार्यक्रममा सर्वोच्च अदालतका अर्का न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई स्वतन्त्र र मर्यादित बनाउन सकेमात्र जनताले साँच्चै नै न्यायको अनुभूति पाउन सक्ने बताउनुभयो । उहाँले न्यायपालिकालाई बदनाम गर्ने र हुर्मत लिने जुन पछिल्ला गतिविधि भए त्यसले हामी सबै आलोचित भएका छौँ त्यसलाई तोड्न पनि सबैसँगको सहकार्य आवश्यक रहेको र अहिले न्यायालय आफूलेनै लयमा फर्किएको बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार लालबहादुर कुँवर, जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर बिक, त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेत, उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले न्यायमा जनताको पहुँच अभिवृद्धि गर्ने गरी न्यायिक योजना बनाएर न्यायपालिका अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

१६ करोडको लागतमा सुविधा सम्पन्न अदालत भवन 

यसैबीच वि सं २०१९ सालदेखि भवनको चरम अभाव झेलिरहेको जिल्ला अदालत उदयपुरले सोमवारदेखि विधिवत् रूपमा सुविधासम्पन्न अत्याधुनिक नयाँ भवन पाएको छ । कार्यकक्ष अभावकाबीच नेपाल बार एशोसियसनको भवनबाट छुट्टै इजलास स्थापना गरी नियमित कार्यसम्पादन गर्दै आएको अदालतले जिल्लाकै सबैभन्दा ठुलो र सुविधा सम्पन्न भवन पाएको हो । 

भ्याटसहित १६ करोड नौ लाख ८२ हजार रुपियाँको लागतमा निर्माण भएको भवनको सोमबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्नुभएको हो । नयाँ भवन पीडितमैत्री, बालमैत्री, अपाङ्गमैत्री, थुनुवा विश्राम कक्ष र सेवाग्राहीका लागि पर्याप्त विश्राम कक्ष सहित साँढे तीन तलाको रहेको श्रेष्तेदार धनबहादुर कार्कीले जानकारी दिनुभयो । 

भवनमा जिल्लामै पहिलो पटक दुई वटा लिफ्टको व्यवस्था गरिएको छ । एउटा लिफ्ट कर्मचारी र अर्को लिफ्ट सेवाग्राहीलाई सहज हुने गरी व्यवस्था मिलाइएको छ । एउटै इजलासबाट सेवा प्रवाह गर्दै आएको अदालतले नयाँ भवनमा बालबालिकालाई लक्षित गरी छुट्टै एक बाल इजलाससहित पाँच वटा इजलास रहेको उहाँले बताउनुभयो ।

तीन वर्षभित्र सम्पन्न गर्नेगरी २०७७ असार ९ गते निर्माण कम्पनी सिएम/कृष्णलक्ष्मी जेभि काठमाडौंसँग सम्झौता भएको उक्त भवन समय अगावै सम्पन्न भएको श्रेष्तेदार कार्कीले बताउनुभयो । सुरक्षाको दृष्टिकोणले समेत भवनका सबै ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ । 

अदालतको स्वामित्वमा रहको १२ कठ्ठा आठ धुर जग्गाको क्षेत्रफलमा भवनको पछाडि भागमा सुरक्षा ब्यारेक, अगाडी सुविधायुक्त चमेनागृह, माथिल्लो तलामा सभा हल गरी ५४ वटा कोठा लगायत आधुनिक शौचालय रहेको छ ।