नेपालमा कम्युनिस्ट पार्टी गुट, फुट हुँदै अहिले पुनः जुट्ने झिनो प्रक्रियामा छन्। वामपन्थी फुट्नु र जुट्नु सामान्य जस्तै भएको छ। अहिले पनि कम्युनिस्ट पार्टी विभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भँगालामा परिणत भएका छन्। विशेष गरी राजतन्त्र फ्याक्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतन्त्र, समावेशिता, सङ्घीयता धर्मनिरपेक्षतालगायत उपलब्धि हासिल गर्ने भूमिका निर्वाह (दसवर्षे जनयुद्धको थालनी) गरेको तत्कालीन नेकपा (माओवादी) यति बेला छिन्नभिन्नकै अवस्थामा छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) मा नामकरण भएको छ। यो पार्टीले अहिले सरकार सञ्चालनको नेतृत्वसमेत गरिरहेको छ। एक महिनाअघि घोषणा भएको समाजवादी मोर्चाले नेपालका वामपन्थी पुनः एकताको डोरीमा बाँधिन लालायित छन् भन्ने कुराको झिनो सङ्केत भने दिएको छ।
कुनै बेला एउटै पार्टीमा रहेका मोहन वैद्य (किरण) को नेतृत्वमा नेकपा–माओवादी पार्टी नामकरण भएको छ। नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यथावत् छ। त्यसै गरी डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) बनेको छ। उपेन्द्र यादवको पार्टी जनता समाजवादीका नाममा दर्ता छ। गोपाल किराँतीले माओवादी केन्द्रबाट राजनीतिक क्रियाकलाप अघि बढाउँदै हुनुहुन्छ। विप्लवसँग छुट्टिएका धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा नेकपा (बहुमत) निर्माण भएर पनि पुनः मोहन वैद्य नेतृत्वको पार्टीमा एकीकृत भएका छन्। त्यसै गरी कुनै समय प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा रहेका पूर्वसभासद विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माण भएको छ।
त्यसै गरी अन्य कम्युनिस्ट तथा वामपन्थी पार्टीमा कर्णजित बुढाथोकी ‘शुशील’ अध्यक्ष रहेको नेकपा माओवादी समाजवादी पार्टी छ। ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी छ। केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले) छ। एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी) निर्माण भएको छ भने चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी छ। नारायणमान बिजुक्छेको नेतृत्वमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छ, जसले आफूलाई कम्युनिस्ट पार्टी नै भएको दाबी गर्छ।
कम्युनिस्ट भनेका क्रान्तिकारी हुन्छन्। उनीहरू परिवर्तनका आवाज उठाउने शक्ति हुन्। उनीहरू कार्ल माक्र्स, लेनिन, ऐंगेल्स, माओ, चेग्वेभारा आदि आदर्शवान् व्यक्तिको विचारलाई २१ औँ शताब्दी अनुरूपमा ढालेरे विश्व परिस्थिति बुझ्न, जान्न र भोग्न प्रयत्नशील हुन्छन्। कम्युनिस्ट यथास्थितिमा रमाएर बस्दैनन्। द्वन्द्वात्मक भौतिकवाद नै कम्युनिस्टको मूल मन्त्र हो। जब देशमा कुनै राजनीतिक सङ्कट आइपर्छ तब नेपालका कम्युनिस्ट पार्टीका नेता एक हुनुपर्ने आवाज निकाल्छन्। पछिल्ला करिब दुई–तीन महिनादेखि प्रधानमन्त्री प्रचण्डले पनि माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको महसुस गर्दै एकताका निम्ति अपिल गर्दै आउनु भएको छ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध थालनीको दिन फागुन १ गतेलाई राष्ट्रिय बिदा दिने घोषणा गरेपछि र जनयुद्धका अयोग्य लडाकुलाई रकम प्रदान गर्न सर्वोच्च अदालतले दिएको निर्णयलाई कार्यान्वयन गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध जनाउँदै सत्तारूढ नेकपा (माओवादी) पार्टी र जनयुद्धलाई मात्र नभई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै व्यक्तिगत रूपमा लाञ्छना लगाउँदै गालीगलौज गरेपछि पूर्वमाओवादी घटक मिल्ने सङ्केत देखापरेको थियो। बिस्तारै ती गालीगलौज ओझेल पर्दै गएपछि पूर्वमाओवादी मिल्ने कुरा पनि सेलाउँदै गयो।
जब नेपालको राजनीतिक दलका नेता आपसी मतभेदमा रुमलिन्छन्, त्यसको फाइदा लिन देशी तथा विदेशी प्रतिक्रियावादी पटक–पटक सल्बलाएको नेपालको इतिहास छ। नेपालको कम्युनिस्ट आन्दोलन, खास गरी माओवादी धारका पार्टीमा पनि आपसी मतभेदकै कारण वर्तमान स्थिति भोग्नु परेको तीतो यथार्थ हो। सिद्धान्तभन्दा पनि पदीय लडाइँका लागि कम्युनिस्ट फुट्ने गरेको नेपालको वामपन्थी आन्दोलनको कमजोर पक्ष हो। आफूहरूबिच नै गुट, र फुट हुँदा माओवादी आन्दोलनले प्राप्त गरेका उपलब्धि गुम्ने खतरा उत्तिकै बढेर गएको छ।
देशका सरकारी तथा गैरसरकारी निकायका प्रमुख र केही सञ्चारमाध्यम ‘जनयुद्ध’ शब्द अझै सुन्नै चाहँदैनन्। जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड नै यो देशको प्रधानमन्त्री हुनुहुन्छ। जनयुद्धकी सङ्घर्षशील नेतृ रेखा शर्मा देशको सूचना तथा सञ्चार प्रविधि मन्त्री हुँदा पनि सरकारी सञ्चारमाध्यममा ‘जनयुद्ध’ शब्द उल्लेख गर्दा सेन्सर लगाइन्छ। जुन सङ्घर्षले हाल देशको राजनीतिक सफलता (सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, राजतन्त्रको अन्त्य, र समाजवादउन्मुख) हासिल गरेको छ, त्यो जनयुद्धकै देन हो। दही खाने तर दही जमाएको ठेकी भने लात्ताले हान्ने प्रवृत्ति कायम रहनु हुँदैन।
परिवर्तनको एउटा महìवपूर्ण संवाहक नै माओवादी पार्टी हो। माओवादी आन्दोलन २०५२ सालदेखि एउटा ठुलो प्रवाहको रूपमा अगाडि आयो। विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा अवतरित भयो तर शान्ति प्रक्रियापछि यो पार्टी विभिन्न भङ्गालातिर विभाजित जस्तो भयो। अब ती सबै भङ्गाला एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको छ। किनकि देशले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, बेथिति, विसङ्गतिको अन्त्य खोजेको छ। आर्थिक समृद्धि चाहेको छ।
भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्नेर लोकाचार मच्चाउने ललिता निवासको फाइल प्रचण्ड नेतृत्वको सरकारले खोल्न थालेपछि पहिचान खुल्ने डरले खुट्टा कमाउँदै बर्बराउन थालेका छन्। परिवर्तन नचाहने र देशलाई फेरि पनि पुरानै दिशामा फर्काउन चेष्टा गर्नेहरूले टाउको उठाउन थालेका छन्। अब सम्भव भए सबै कम्युनिस्ट पार्टी एक हुने, सम्भव नभए कम्तीमा पूर्वमाओवादी भने एक ठाउँमा आउने वा चाँडै समाजवादी मोर्चालाई मूर्त रूप दिने हो भने भ्रष्टाचारी दोहोलो काढिने छन्। पूर्वमाओवादी घटक मात्र नभई सम्पूर्ण वामपन्थी आफ्ना टुटफुटका तिता अनुभवलाई समीक्षा गर्दै एकजुट हुन अब पनि ढिला गर्नु हुँदैन। सरकारले गरिरहेको लोकप्रिय कामलाई अहिले विभिन्न आरोप प्रत्यारोप गर्दै शान्ति प्रक्रिया र विस्तृत शान्ति सम्झौताका विरुद्धसमेत अगाडि बढ्ने कुचेष्टा भइरहेका छन्, यसका लागि वामपन्थी एकता एक मात्र सर्त हो।
अहिले राजतन्त्रको पक्षमा केही व्यक्ति बाटोमा निस्किँदै छन्। इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान् सपुतहरू सिद्धिने छैनन्। आन्दोलनमा बगेको रगत र शहादत प्राप्त भएको वीरता खेर जाने छैन। राजतन्त्रको माग गर्दै सडकमा जम्मा हुने गरेका पश्चगामी परिवर्तन विरोधीलाई एक पटक वामपन्थीले एकजुट बनेर चुनौती दिन सक्नु पर्छ। यो तथ्य नेपालको इतिहासमा पटक–पटक स्थापित भइसकेको पनि छ।
लेखक पत्रकारिता एवं प्राध्यापन पेसामा संलग्न हुनुहुन्छ।