• १ जेठ २०८२, बुधबार

पालिका कार्यालयको भवन निर्माण अलपत्र

blog

निर्माण अलपत्र परेको जानकी गाउँपालिकाको प्रशासनिक भवन । तस्विर : सिराज खान ।

सिराज खान 

नेपालगञ्ज, असार २४ गते । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बाँकेका तीन वटा स्थानीय तहको कार्यालय भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिएपनि निर्माण व्यवसायीको ढिलाइले गर्दा बाँकेको जानकी, नरैनापुर र खजुरा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य अलपत्र परेको हो । 

कार्यालय भवनको निर्माण कार्य पुरा नहुँदा ती तीन वटै पालिकाले अस्थायी संरचनाबाट सेवा प्रवाह गरिरहेका छन् । बाँकेका आठ स्थानीय तहमध्ये नेपालगञ्ज उपमहानगर, बैजनाथ र डुडुवा गाउँपालिकाले नयाँ आधुनिक भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह सुरु गरिसकेका छन् भने नरैनापुर, खजुरा र जानकीको प्रशासनिक भवन निर्माण अलपत्र छ। कोहलपुर नगरपालिकाको भवन निर्माण भइरहेको छ भने राप्तीसोनारी गाउँपालिकाले अझै निर्माण सुरु गरेको छैन । 

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाले १३ करोड २६ लाखको लागतमा वन कट्टीमा नयाँ आधुनिक भवन निर्माण सम्पन्न गरी सहजरूपमा सेवा प्रवाह सुरु गरिसकेको जानकारी दिनुभयो । नरैनापुर गाउँपालिकाको प्रशासनिक भवन तयार भएपनि फिनिसिङको काम बाँकी हुँदा अलपत्र परेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले आफ्नै भवन तयार नहुँदा गाउँपालिकाको काम साँघुरो भवनबाट हुँदै आएको बताउनुभयो । उहाँले पटक-पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले आफ्नै तरिकाले काम गरिरहेको जनाउनुभयो । 

जानकी गाउँपालिकाले साबिकको खजुराखुर्द गाविस हुँदै अहिले वडा नं. ३ मानपुरमा अस्थायी संरचनाबाट कार्यालय सञ्चालन गरिरहेको छ । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले नयाँ भवन समयमै निर्माण नभएका कारण नजिकै रहेको अस्थायी संरचनाबाट सेवा प्रवाह गर्नुपरेको जनाउँदै सेवा प्रवाहमा समस्या भइरहेको बताउनुभयो । 

यसैगरी, खजुरा गाउँपालिकाले पनि साबिकको बागेश्वरी गाविस कार्यालयमा थप केही संरचना बनाएर सेवा प्रवाह गर्दै आएको छ । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले नयाँ भवन निर्माण भइसकेपनि फिनिसिङको काममा निर्माण व्यवसायीले ढिलाइ गर्दा सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले भवन निर्माण पुरा नहुँदा पालिकाले दिने सेवा सुविधा समेत प्रभावित भएको बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाको पुरानो भवन सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त भएपछि केही वर्षअघि मात्रै अत्याधुनिक भवन निर्माण गरेर सेवा प्रवाह भइरहेको छ भने राप्तीसोनारी गाउँपालिकाको आफ्नै भवन नभएपनि सिक्टा सिँचाइ आयोजनाको लागि निर्माण गरिएको भवनबाट गाउँपालिकाको कार्य सञ्चालन गर्दै आएको छ ।