रेखीराम राना
पाल्पा, असार २४ गते । दुर्गमका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सहज रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । पाल्पाको माथागढी गाउँपालिकाले दुर्गम वडाका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
गाउँपालिकाको पञ्जिकरण सेवा इकाईले नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कसँगको समन्वयमा माथागढीका पाँच वटा दुर्गम वडाका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सामाजिक सुरक्षा भत्ता अन्तर्गत विनियोजित चौथो त्रैमासिकको दुई करोड ९९ लाख १८ हजार ३२० मध्ये मेघा बैङ्कबाट एक करोड ५२ लाख ५७ हजार ३८९ रुपियाँ वितरण गरिएको पञ्जिकरण शाखाका कर्मचारी पशुपति पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गम मानिएका वडा नं. ८, ७, ६, ५ र ४ वडाका लाभग्राहीलाई घरमै पुगेर भत्ता वितरण गरिएको हो ।
सामाजिक सुरक्षा पाउने लाभग्राहीलाई वर्षात्को समयमा समस्या नहोस् भनेर घरदैलोमै पुगेर भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो। यस्तै ग्लोबल आइएमई बैङ्कसँग समेत समन्वय गरेर वडा नं. १ देखि ३ सम्मका नागरिकलाई भत्ता बैंकमार्फत् घरदैलोमै वितरण भइरहेको सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले बताउनुभयो।
पालिकाभित्र ज्येष्ठ नागरिक एक हजार ६६४, ज्येष्ठ नागरिक दलित १२९, ज्येष्ठ नागरिक एकल महिला २८४, एकल महिला ४४१, अपाङ्ग क वर्गको ६४, अपाङ्ग ख वर्ग १७०, दलित बालबालिका २२७ जना जना गरी जम्मा तीन हजार ७९ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पालिकाले जनाएको छ ।