• १५ मंसिर २०८१, शनिबार

लिफ्ट सिँचाइ आयोजना सञ्चालन अभावमा रोपाइँ हुन सकेन

blog

चितवनको भरतपुर महानगरपालिका क्षेत्रको मुख्य सिंचाइँको आधार नारायणी लिफ्ट सिंचाइँ आयोजनाको नहर । तस्विर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, असार २४ गते । यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।  

पश्चिम चितवनको चार हजार सातसय हेक्टर जमिनमा सिँचाइ गर्न स्थापना भएको नारायणी लिफ्ट सिँचाइ प्रणाली यो क्षेत्रको सिँचाइका लागि महत्त्वपूर्ण आयोजना हो । तर किसानलाई आवश्यक परेको बखत यो आयोजना सञ्चालन हुनेगरेको छैन । 

२०४० सालमा निर्माण भएको यो आयोजना पछिल्लो समय आएर नारायणी लिफ्ट खडेरी सिँचाइ व्यवस्थापन कार्यालय अन्तर्गत सञ्चालनमा छ । खेतीयोग्य जमिन टुक्रँदै घर र घडेरीमा परिणत हुँदैगर्दा आयोजनाको सिँचाइ क्षेत्र पनि साँघुरिँदैआएको छ । 

व्यवस्थापन कार्यालयका डिभिजनल इन्जिनियर घनश्याम कार्कीका अनुसार अहिले पनि यो प्रणालीबाट झण्डै चार हजार हेक्टर जमिन सिँचाइ हुँदैआएको छ । सरकारका लागि सेतो हात्तीजस्तै देखिने नारायणी लिफ्ट सिँचाइ आयोजना पश्चिम चितवनको लागि बरदानजस्तै हो । 

यो आयोजना सञ्चालन नहुँदा यहाँका अधिकांश जमिन पानी अभावले रोपाइँ हुन नसक्ने मात्र होइन, यो क्षेत्रमा जमिनमा पानी रिचार्जमा समेत समस्या पर्ने गर्छ । कृषकहरूका लागि आशाको त्यान्द्रोको रूपमा रहेको यस आयोजना यतिवेला कृषकका लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ । 

निर्माणको बखत ५२ करोड रुपियाँ लगानी भएको यो आयोजनामा यस पटक सबै पम्पहरू नयाँ जडान गरिएका कारण समयमा पानी दिन नसकिएको इन्जिनियर कुलराज चालिसेले बताउनुभयो । चालिसेका अनुसार यस पटक ग्लोबल टेण्डरबाट चार वटा पम्प फेर्न २६ करोड ३२ लाख रुपियाँ खर्च गरिएको छ । 

भारतीय कम्पनी डब्लुपीआइएल लिमिटेड कलकत्ताले निर्माणको जिम्मेवारी लिएको सो काम केही विद्युतीय उपकरण समयमा आइनपुगेका कारण देखाउँदै सम्पन्न भएको छैन । मर्मत सम्भारको काम सम्पन्न नभएकाले कृषकलाई आवश्यक परेको बखत पानी चलाउन नसकिएको हो । आयोजना सञ्चालन सुरु भएपछि भने समस्या नहुनेगरी यस पटक मर्मत सम्भारको काम भएको दाबी इन्जिनियर चालिसेको छ । 

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटका अनुसार विगतमा असार १५ गतेबाट नै नहरमा पानी छाड्ने गरिएको भए पनि यो वर्ष त्यो भन्दा पनि अगाडि आवश्यकता थियो । 

तर त्यो हुन सकेन मात्र होइन, धान रोप्ने बेला पनि नहरमा पानी बग्ने लक्षण देखिएको छैन । यो नहरको सिँचाइ क्षेत्रमा पर्ने अधिकांश जमिनमा यस पटक धान रोप्न सकिएको छैन । डीप बोरिङको भरमा केही क्षेत्रमा धान रोप्ने काम भएको भए पनि नियमित सिँचाइ गर्न नसकिएको अवस्था छ । उहाँका अनुसार खडेरीका कारण बोरिङबाट समेत पर्याप्त पानी नआइरहेको अवस्था छ ।

भरतपुर –१ पोखरा बसपार्क नजिकैबाट नारायणी नदीबाट लिफ्ट गरी सुरु हुने यो सिँचाइ प्रणालीमा एउटा मूल र दुई शाखा नहर र अन्य १६ वटा उपशाखामार्फत सिँचाइ गरिँदैआएको छ । वर्षमा बर्खे सिजनमा मात्र एक सय देखि १२० दिन सञ्चालनमा आउँदै गरेको यो सिँचाइ प्रणालीमा प्रयोग गरिने विद्युतकै कारण बढी खर्च हुनेगरेको थियो । 

यस वर्ष लामो खडेरीका कारण चितवनका अधिकांश भूमिगत सिँचाइ प्रणालीहरू (डीप बोरिङ) मा रिचार्जमा समेत कमी आएको छ । नारायणी लिफ्ट प्रणाली सञ्चालनले यस क्षेत्रमा रहेका भूमिगत सिँचाइ (डीप बोरिङ) प्रणालीसँगै सिँचाइ प्रणालीमा समेत रिचार्जको काम गर्ने गरेको विज्ञहरूको भनाइ छ ।