• १२ असार २०८१, बुधबार

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

blog

बालक डुबेर मृत्यु भएको खाल्डो । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार २४ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका-४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । बाँके खोलाको कटान नियन्त्रण गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपुको मृत्यु भएको हो । 

शनिबार दिउँसोदेखि बेपत्ता भएका दुई बालकलाई स्थानीयहरूले खोजी गर्ने क्रममा राति अबेर घरदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको खाल्डोमा अचेत भई डुबिरहेको अवस्थामा फेला पारेका थिए । उनीहरुलाई गाउँलेले नै तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुवै बालकको शव पोष्टमार्टमका लागि मलङ्गवा अस्पतालमै राखिएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो। 

उहाँले मृतक बालकको परिवारबाट जाहेरी लिएर घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताउनुभयो । एकै परिवारका दुई बालकको मृत्यु भएपछि जिङ्गडवा गाउँ शोकमा डुबेको छ । जिङ्गडवाका वडाध्यक्ष सुवोध राय यादवका अनुसार बाँके खोलामा नदी नियन्त्रणका लागि केही दिनअघि मात्रै खाल्डो खनेर तटबन्ध कस्ने काम भएको थियो । 

प्रदेश सरकारबाट प्राप्त ३५ लाख रुपियाँले तटबन्ध निर्माणको काम गरिएको वडाध्यक्ष यादवले बताउनुभयो । तराई क्षेत्रमा तटबन्ध कस्न तथा गिट्टी, बालुवा उत्खनन गर्न खोला क्षेत्रमा यसरी ठू–ठूला खाल्डो खनेर त्यसै छाड्दा यस प्रकारको दुःखद घटना वर्षेनि हुने गरेका छन् ।