बुलबुले समाचारदाता
सुर्खेत, असार २४ गते । हिउँदमा खानेपानीको सङ्कट भोग्दै आएका वीरेन्द्रनगरवासीले वर्षाको समयमा समेत पानी अभाव झेल्नुपरेको छ। पछिल्ला दिनमा नियमित बर्सात भइरहेको छ। तथापि वीरेन्द्रनगरवासीको धारामा पानी झरेको छैन।
वीरेन्द्रनगर नगरपालिका–१ की लीला खड्काले खानेपानीको अभाव थप चुलिएको बताउनुभयो। उहाँका अनुसार गर्मीयाममा छ दिनको एकपटक पानी आउने गरेको थियो। १० दिनदेखि धारामा खानेपानी आएको छैन। उहाँले भन्नुभयो, “अहिले त धारामा एक थोपा पानी आउँदैन। नजिकै खानेपानीका मुहान छैन। किनेर पानी खान परिरहेको छ।”
वीरेन्द्रनगर–४ का भीम थापाको धारामा पानी नआएको नौ दिन भयो। असार ११ गते उनको धारामा लेदोसहित पानी आएको थियो। त्यसपछि पानी आएको छैन। हिउँद, वर्षा र गर्मीयाममा खानेपानीका लागि निकै सास्ती भोग्नुपरिरहेको उहाँको भनाइ छ। थापाले भन्नुभयो, “हामीलाई बाह्रै महिना खानेपानीको समस्या हुने गरेको छ। बर्सातमा भल पसेर पानी खान नमिल्ने हुन्छ। अहिले त धारामा पानी नै आएको छैन।” पानीका अन्य स्रोत नहुँदा बजारबाट किनेर पानी खान परिरहेको उहाँको भनाइ छ।
वीरेन्दनगर–३ की लक्ष्मी रानाले बर्सात भएपछि थप खानेपानीको समस्या चुलिएको बताउनुभयो। उहाँले भन्नुभयो, “गर्मीयाममा कुवाको पानी खान मिल्थ्यो। भल पसेर कुवाको पानी खान मिल्दैन। झुप्रा खोलाको पानी धारामा नआएको १० दिन हुन थाल्यो।”
उहाँले किनेर पानी खान परिरहेको भन्दै स्थानीय सरकार नागरिकको आधारभूत आवश्यकतामा उदासीन बनेको बताउनुभयो। कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा पानीका स्रोत कम र माग अत्यधिक हुँदा खानेपानीको समस्या दिनानुदिन चुलिँदै गएको छ।
पहिरोले आपूर्ति अवरुद्ध
पहिरोले पाइप बगाउँदा नौ दिनदेखि वीरेन्द्रनगरका बासिन्दा खानेपानीबाट वञ्चित भएका छन्। वीरेन्दनगर–११ को भन्ज्याङमा पहिरोले खानेपानीको पाइप बगाउँदा मर्मतको काम भइरहेको सुुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बर गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार ठाउँ ठाउँमा गएको पहिरो पन्छाउने र पाइप मर्मतको काम भइरहेको छ। थप वर्षाले अवरोध नगरे अबको एक/दुई दिनमा पालो अनुसार पानी वितरण सुरु गरिने उहाँले जानकारी दिनुभएको छ।
कार्यालय प्रमुख गौतमका अनुसार ठाउँ ठाउँमा सडक खन्दा निर्माण समितिले जङ्गलमा ढुङ्गा माटो फालेका कारण पहिरो गएको हो। गत वर्ष पनि सडक खन्ने क्रममा फालेका ढुङ्गा, माटोसँगै पहिरो जाँदा पाइप बगाएको कारण बर्सातको समयमा पानीको हाहाकार भएको थियो। वर्षाको समय सुरु भएसँगै पानीका संरचनामा भल पसेर क्षति पुगिरहेको छ। उपत्यकाका मुख्य खानेपानीका स्रोत झुप्रा खोला, खरी खोला, बोरी खोला र इत्राम खोला हुन्। पानीको मुख्य स्रोत नै पहिरोले अवरुद्ध गरेको हो। सुक्खायाममा खानेपानी खपत बढी र स्रोत कम हँदा समस्या हुन्छ। वर्षायाममा बाढी पहिरो र भलले खानेपानी सेवा अवरुद्ध हुने गरेको हो।
वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार पाँच सय धारामार्फत खानेपानी सेवा दिइरहेको छ। सीमित स्रोतका कारण माग र आपूर्तिको सन्तुलन मिलाउन हम्मेहम्मे परिरहेको कार्यालयले जनाएको छ। वीरेन्द्रनगरमा दैनिक औसत प्रतिसेकेन्ड ३२० लिटर खानेपानी आवश्यक पर्छ। अहिले १६३ लिटर प्रतिसेकेन्ड पानीको अभाव हुने गरेको छ।