• १२ मंसिर २०८१, बुधबार

सीमान्तकृत वर्गलाई सचेतना

blog

खलङ्गा समाचारदाता

जाजरकोट, असार २४ गते । जाजरकोटका लोपोन्मुख तथा सीमान्तकृत वर्गलाई अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गरिएको छ। नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिकाका विभिन्न स्थानमा रहेका सीमान्तकृत वर्गका लागि क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरिएको छ।

सीमान्तकृत वर्गका माझी, गन्धर्व, बादी, मुक्त हलिया समुदायका सर्वसाधारणले राज्यले दिने सेवा सुविधा पाउन नसकेकाले मूलधारमा ल्याउन सचेतना अभिवृद्धि तथा अभिमुखीकरण गरिएको जनाइएको छ।

कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालयको सहयोगमा सीमान्तकृत वर्गका नागरिकहरू पछाडि पर्नुका कारण पहिचान गरी आफैँबाट अधिकारको खोजी नीति गरिने बादी समाज विकास मञ्चका उपाध्यक्ष हजारी नेपालीले बताउनुभयो।

स्थानीय सरकारका प्रतिनिधिलाई सीमान्तकृत समुदायसँग सरकारले दिने वस्तु तथा सेवाका बारेमा जानकारी गराउने उद्देश्यले नलगाड नगरपालिकाको छेडागाड नगरपालिका र भेरी नगरपालिका १, ६, ७, १२ र १३ का रावतगाँउ, गङ्गटिया, स्याउलीबजार, वारेलामा सीमान्तकृत वर्गका नागरिकसँग नेपालको संविधानले व्यवस्था गरेका प्रावधानका विषयमा छलफल गरिएको छ। 

समाजमा पछाडि पारिएको समुदायलाई मूलधारमा ल्याउन कानुन निर्माण भए पनि लागु हुन नसकेकाले स्वयम् समुदायलाई जागरुक बनाउन कार्यक्रम गरिएको अधिकारकर्मी दीपक नेपालीले बताउनुभयो।

बाल अधिकार, सरसफाइ, लैङ्गिक हिंसा, जातीय छुवाछुतका विषयमा सो समुदायका व्यक्तिलाई जानकारी दिएको छ। नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले सीमान्तकृत वर्गका सवाल साझा भएकाले सम्बोधन गर्न स्थानीय सरकारले विशेष पहल गर्ने बताउनुभयो। 

नागरिकको घरआँगनमै आएको सिंहदरबारले सीमान्तकृत वर्गका नागरिकको तथ्याङ्क सङ्कलन गरी राज्यले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउँदै लैजाने जनाउनुभयो। 

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले सीमान्तकृत वर्गका नागरिकलाई अन्य वर्गका नागरिकसरह सम्मान ल्याउने जिम्मेवारी स्थानीय सरकारको भएकाले शिक्षा, स्वास्थ्य, कृषिका माध्यमबाट जीवनस्तरमा परिवर्तन ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

सीमान्तकृत वर्गको अधिकार, नीतिगत सुधार, पेसागत क्षमताको विस्तार, पहिचान र संरक्षणका विषयमा भेरी, छेडा, नलगाड, बारेकोट, कुशे गाउँपालिकामा सचेतना अभिवृद्धि कार्यव्रmम सञ्चालन गरिएको अधिकारकर्मी नेपालीले बताउनुभयो।