• १२ मंसिर २०८१, बुधबार

एसइईपछिको गन्तव्य

blog

प्राविधिक शिक्षा बारेका बहस सुन्दा लाग्न सक्छ प्राविधिक बेरोजगार बन्नु पर्दैन। अन्य विषयभन्दा प्राविधिक विषय पढ्ने विद्यार्थीले जीवनमा जागिरबाहेक पनि केही न केही गर्न सक्ने सिप सिकेको हुन्छ। प्राविधिक सिप भएका व्यक्तिले सानो ठुलो काम गर्न उनीहरूको सिपले नै सक्षम बनाएको हुन्छ। केही गर्न सक्ने र केही गर्नका लागि सिप र क्षमता प्रदान गर्ने प्राविधिक शिक्षाले मानिसलाई मेहनतका लागि प्रोत्साहित गर्नुका साथै आत्मविश्वास पनि प्रदान गर्छ। मेहनतमा विश्वास गर्ने प्राविधिक सिप भएको मानिस बेरोजगार बस्नु पर्दैन।

प्राविधिक शिक्षा भनेको मानव जीवनलाई आवश्यक पर्ने भौतिक सुविधा परिपूर्ति गर्ने विज्ञानका साथै प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर भौतिक सुविधा तथा सामाजिक आवश्यकता परिपूर्ति गर्ने शिक्षा हो।

हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोमा आर्थिक, विकास निर्माण, रोजगारी र अवसरका दृष्टिले निकै पछाडि परेको नकार्न सकिन्न। यसको एउटा पक्ष रोजगारीका अवसर कम हुनु हो। धेरै जसो मानिस बेरोजगार छन्, जतिले रोजगारी पाएका छन् ती पनि पूर्णकालिक नभई अर्धरोजगार छन्। जब व्यक्तिको आय नै कम छ भने जीवनस्तर राम्रो हुने कुरै भएन। मानिसले आफूलाई पूर्ण रोजगार बनाउन नसक्नुको एउटै कारण प्राविधिक शिक्षाको अभाव हो। व्यक्तिमा प्राविधिक ज्ञान छ भने उसले बिनाकाम समय खेर फाल्नु पर्दैन। प्राविधिक शिक्षा दिने विद्यालय एवं विश्वविद्यालयको सङ्ख्या बढाउनुपर्ने देखिन्छ। प्राविधिक धारका विद्यार्थीलाई केन्द्रित गरी प्राविधिक विश्वविद्यालय सञ्चालन, सैद्वान्तिक र प्राविधिक शिक्षाको अनुपात २०:८० पु-याउने नीतिलाई सार्थकता दिनु जरुरी छ।

प्राविधिक शिक्षाको महत्व 

प्राविधिक शिक्षाले विभिन्न कारणले महत्वपूर्ण भूमिका खेल्छ। नेपालमा प्राविधिक शिक्षाको महत्वलाई उजागर गर्ने केही मुख्य बुँदा यहाँ उल्लेख छन्। 

१. सिप विकास  प्राविधिक शिक्षा विभिन्न उद्योग र पेसामा प्रत्यक्ष रूपमा लागु हुने व्यावहारिक सिप र ज्ञान प्रदान गर्नमा केन्द्रित हुन्छ। नेपालमा इन्जिनियरिङ, सूचना प्रविधि, कृषि, पर्यटन र स्वास्थ्य सेवा जस्ता क्षेत्रमा दक्ष पेसाकर्मीको आवश्यकता बढ्दै गएको छ। त्यस खालको जनशक्ति उत्पादनको सङ्ख्या भने निकै कम छ। प्राविधिक शिक्षाले केही गर्न र केही बन्नका लागि सहयोगीको भूमिका खेल्ने छ।

२. रोजगारीका अवसर  प्राविधिक शिक्षाले व्यक्तिलाई रोजगार बनाउन अहम् भूमिका खेल्ने गर्छ। बजारको माग पूरा गर्न आवश्यक सिप र विशेषज्ञता प्रदान गर्छ। नेपालमा बेरोजगारी दर उच्च छ, प्राविधिक शिक्षाले व्यक्तिलाई विशेष सिप विकास गर्ने अवसर प्रदान गर्छ। केही गर्न प्रोत्साहित गराउँछ। विश्व बजारमा सहज टिक्ने र बिक्ने खालको जनशक्ति उत्पादनमा सहयोग पु-याउँछ।

३. आर्थिक वृद्धि  विश्व परिवेशलाई नियाल्दा जुन देशमा प्राविधिक शिक्षा प्रणाली सबल छ, त्यो देशको आर्थिक वृद्धिदर उत्साहजनक देखिन्छ। बलियो प्राविधिक शिक्षा प्रणालीले देशको समग्र आर्थिक वृद्धिमा योगदान पु-याउँछ। यसले नवप्रवर्तन, उत्पादकता र प्रतिस्पर्धात्मकतालाई चलाउन सक्ने दक्ष जनशक्ति उत्पादन गरेर उद्योग र क्षेत्रको विकासलाई सक्षम बनाउँछ। प्राविधिक शिक्षाको प्रवर्धनले आर्थिक वृद्धिलाई उत्प्रेरित गर्न र विभिन्न क्षेत्रमा विदेशी विशेषज्ञतामाथिको देशको निर्भरता घटाउन मद्दत गर्न सक्छ।

४. उद्यमशीलता र नवप्रवर्तन  प्राविधिक शिक्षाले समस्या समाधान, रचनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गरेर उद्यमशीलताको मानसिकतालाई पोषण गर्छ। यसले व्यक्तिलाई आफ्नो व्यवसाय सुरु गर्न वा अवस्थित उद्यमको विकासमा योगदान दिन आवश्यक ज्ञान र सिप प्रदान गर्छ। प्राविधिक शिक्षाको प्रवर्धन गरेर नेपालले उद्यमशीलता र नवप्रवर्तनको संस्कृतिलाई बढावा दिन सक्छ, जसले रोजगारी सिर्जना र आर्थिक विकास गर्न सक्छ।

५. पूर्वाधार विकास  प्राविधिक शिक्षाले नेपालको पूर्वाधारको विकास र मर्मत सम्भारमा महत्वपूर्ण भूमिका खेल्छ। यसले दक्ष प्राविधिक, इन्जिनियर र निर्माण पेसेवर प्रदान गर्छ जो सडक, पुल, भवनहरू, र अन्य पूर्वाधार परियोजना निर्माण, मर्मत, र सुधारका लागि आवश्यक छ। यसले समग्र विकासलाई सहयोग गर्छ र नेपाली जनताको जीवनस्तरमा सुधार गर्छ।

६. विश्वव्यापी प्रतिस्पर्धात्मकता बढ्दो अन्तरसम्बन्धित विश्वमा, नेपाललाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी रहन प्राविधिक शिक्षा आवश्यक छ। उच्च दक्ष पेसेवर उत्पादन गरेर नेपालले अन्तर्राष्ट्रिय बजारमा भाग लिन, विदेशी लगानी आकर्षित गर्न र विश्व अर्थतन्त्रमा आफ्नो स्थान बढाउन सक्छ। नेपालमा प्राविधिक शिक्षाका फाइदालाई पूर्ण रूपमा प्राप्त गर्न पूर्वाधार, पाठ्यक्रम विकास, शिक्षक तालिम र उद्योग–प्राज्ञिक सहकार्यमा लगानी गर्नु महत्वपूर्ण छ।

एसइईपछि किन प्राविधिक शिक्षा ?

प्राविधिक र सैद्वान्तिक शिक्षाको बिचमा खासै भिन्नता नदेखिएकाले पनि प्राविधिक शिक्षाको सट्टा सैद्धान्तिक शिक्षामा नै अभिभावक र विद्यार्थीको रुचि भएको देख्न सकिन्छ। हाम्रो 

पाठ्यक्रम केन्द्रित शिक्षा प्रणालीले विद्यार्थीको सिप, क्षमता र दक्षताभन्दा पनि मार्कसिट हेरेर क्षमता मूल्याङ्कन गर्न सिकाएकाले गर्दा पनि हामी यथास्थितिबाट बाहिर निस्कन नै सकेका छैनौँ।

प्राविधिक शिक्षाको आवश्यकता छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामीमा हुर्किएको जागिरे मानसिकताले मेहनत गर्नुपर्ने विषयको रूपमा पछिल्लो समय प्राविधिक शिक्षालाई तुलना गरिदिएको छ। विद्यार्थीको रुचि प्राविधिक शिक्षामा खासै देखिँदैन। राज्यले पछिल्लो समय सबैको पहुँचमा प्राविधिक शिक्षा पुग्ने गरी शिक्षालय विस्तार गरेको भए पनि आशातित रूपमा प्राविधिक शिक्षा लिन चाहनेको सङ्ख्या कम देखिएको छ। विद्यार्थीलाई एसइर्ईपश्चात् प्राविधिक शिक्षा किन अध्ययन गर्ने भन्ने विषयमा प्रस्ट जानकारी प्रदान गर्नु आवश्यक छ। 

सहजै रोजगारी प्राप्तिका साथै सिप र दक्षताका आधारमा स्वरोजगार बन्न, सैद्धान्तिक ज्ञानसँगै प्राविधिक विद्यार्थीमा व्यावहारिक ज्ञान दिलाउन, देशले चाहेको जस्तो प्राविधिक जनशक्ति उत्पादन गर्न र देशको आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाहमा प्राविधिकि शिक्षाको उच्च महत्व छ। उत्पादनलाई दिगो र व्यावसायिक ढङ्गले अगाडि बढाउन प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ। 

आर्थिक वर्ष २०८०/२०८१ देखि नै सिटिइभिटी अन्तर्गतका आङ्गिक प्राविधिक शिक्षालय प्रदेश सरकार मातहत हस्तान्तरण हुँदै छन् भने प्राविधिक शिक्षाको विस्तारका लागि नेपाल सरकारले स्थानीय तहको साझेदारीमा आङ्गिक साझेदार शिक्षण संस्था, टेक्स विद्यालय तथा कक्षा ९–१२ को अवधारणामा शिक्षा विभागले प्राविधिक शिक्षा सामुदायिक विद्यालयमा दिने व्यवस्था गरेका छन्। यस कार्यले समेत प्राविधिक शिक्षाको विस्तारमा टेवा पु-याएको छ।

नेपालको परिप्रेक्ष्यमा स्वास्थ्यतर्फका प्राविधिक कार्यक्रमबाहेकको हकमा विद्यार्थीको रुचि खासै देखिँदैन। यसका लागि राज्यस्तरबाट आवश्यक जनशक्तिको विवरण र उत्पादन लक्ष्यसहितको योजना तयार गरी लागु गर्नु जरुरी छ।

सिटिइभिटीले यस शैक्षिक सत्रदेखि विद्यार्थीको निरन्तर मूल्याङ्कन गर्ने कार्यलाई प्रभावकारी बनाउन लागेको छ, जसले गर्दा प्राविधिक शिक्षाका विद्यार्थी सैद्धान्तिक पाटोलाई मध्यम नजर लगाउँदै प्रयोगात्मक कार्यमा उत्कृष्टता हासिल गर्न सक्ने छन्। 

लेखक गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक हुनुहुन्छ।

  

Author

लक्ष्मण तिमिल्सिना